सत्तारुढ दल नेकपा एमालेमा देखिएको द्वन्द्व निरुपणका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफैं अग्रसर देखिनु भएको छ । प्रधानमन्त्री ओली आफैंले असन्तुष्ट समूहका नेता माधवकुमार नेपालसँग सम्पर्क राखेर आपसी तितो मेटाउन गर्नुभएको प्रयासलाई पार्टीमा एकता कायम गरेर जाने दिशामा सकारात्मक पहल भएको ठानिएको थियो ।
सोमबार एमाले मुख्यालय धुम्बाराहीमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र असन्तुष्ट समूहका नेता माधवकुमार नेपाल लगायतको टोलीसँग तीन महिनासम्मको संवादहिनतालाई तोड्दै प्रधानमन्त्री ओलीले वार्ता गर्नुभएको थियो । वार्ताले कुनै निष्कर्ष ननिकाले पनि बोलचाल नै बन्द गरेर बसेका नेताहरु बीच कम्तिमा संवादको स्थिति बनेकोमा यसले कार्यकर्ता पंक्तिमा उत्साह नै ल्याएको थियो ।
नेतृत्वतहका नेताहरु बीच बढेको तिक्ततासँगै दूरीका कारण पार्टी नै विभाजनको संघारमा उभिएका बेला सुरु भएको संवादको स्थितिले पार्टीलाई एकताबद्ध बनाएर लैजानेमा पार्टी पंक्ति आशान्वित भैरहेका बेला असन्तुष्ट पक्षका नाममा देखाइएको दम्भले पार्टी एकताका लागि अध्यक्षले बढाएको हातहरु नै रित्ता भए । २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँगको एकताबाट नेकपा नामको पार्टी घोषणा लगत्तै पार्टीभित्र नजानिँदो असन्तुष्टि देखिएको थियो ।
एकताका नाममा एमाले नेतृत्वले आफैंले बोक्दै आएको वैचारिक लाईनलाई नै तिलाञ्जली दिएको भन्दै एमालेकै एक थरी असन्तुष्ट बनेका थिए भने उता माओवादी केन्द्रको स्थिति पनि समान प्रकृतिको थियो । पार्टी एक भएपनि भावना र विचारका हिसाबले एकीकृत पार्टी विभाजित नै थिए । जसका कारण पार्टी भित्र झिल्कोका रुपमा रहेको असन्तुष्टि समयकालसँगै दावानलमा परिणत भएको थियो । संयोग नै भन्नु पर्दछ, नेकपाले विभाजनको स्वरुप गर्नु अगावै सर्वोच्च अदालतको एउटा आदेशले एमाले र माओवादी केन्द्रकै रुपमा एकीकृत पार्टीलाई परिणत गरिदिएको थियो ।
सो निर्णयसँगै पूर्ववत रुपमा अस्तित्वमा देखिएका यी दुबै पार्टीमध्ये पनि एमालेभित्र अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल समूह बीचको अन्तरकलहले झनै उग्ररुप धारण गर्न पुगेको थियो । अन्तरकलहको यो अवस्थाले दुबै समूह एकै ठाउँमा बस्नै नसक्ने वातावरण बनाई रहेकै बेला प्रधानमन्त्री तथा अध्यक्ष ओलीले असन्तुष्ट पक्षसँग सुरु गरेको यो वार्ता पहलले केही सकारात्मक सन्देश प्रवाह गर्न खोजेकै हो । तर, यस अवस्थामा नेतृत्वले विचार नमिल्ने नेताहरुलाई फकाएर सत्ता लम्ब्याउन खोज्नु भन्दा गन्तब्यको खाका कोर्दै सत्ता छोडेर भएपनि जनतालाई संगठित गर्दै अघि बढ्न ढिला गर्नु हुँदैन ।
सधैंको किचकिच भन्दा नीति र नेतृत्व स्थापित गर्दै पार्टीलाई हाँक्न सके अहिलेसम्मको उपलब्धिलाई स्थापित गर्दै थप उपलब्धि को आशा जगाउन सके जनता को विश्वास जित्न गाह्रो छैन । महाधिवेशनले चार वर्षका लागि पार्टी सञ्चालनको अभिभारा सुम्पेको व्यक्ति नै पार्टीको सर्वेसर्वा हो । महाधिवेशनले उसको कार्यक्रम स्वीकार गरेका कारण त्यहाँबाट स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि नेतृत्वमा पुगेको व्यक्तिलाई पार्टीमा आफू अनुकूलको टिम बनाउने स्वतन्त्रता प्राप्त हुनैपर्दछ ।
यो पार्टी पद्दतीको अनिवार्य सर्त पनि हो । तर, अहिले नेकपा एमालेमा भागबण्डा र मोलाहिजाको जुन संस्कारलाई मलजल गरिंदैछ, त्यस्तो प्रवृतिले पार्टीलाई कमजोर नै बनाउने छ । कमसेकम पार्टी नेतृत्वले यो यथार्थलाई आत्मसाथ गरेर मात्रै सहमतिका लागि प्रयासको थालनी गर्नु संगठनका लागि उपयुक्त हुन्छ । पछिल्लो समय नेपाल समूहले अध्यक्ष ओलीको नेतृत्वका विरुद्धमा मोर्चा बनाएरै पार्टी भित्र संघर्ष चर्काउने सार्वजनिक अभिब्यक्ति नै दिइरहेको छ ।
यस्तो बेला खुलेरै पार्टी भित्र गुटबन्दी गर्ने घोषणा गर्नेहरुसँग अध्यक्ष ओलीले सुरु गर्नु भएको वार्ताको यो पहल कतै विषपानको अवस्थामा परिणत नहोस्, यस तर्फपनि विचार पुग्नु जरुरी छ । पार्टी फुटाउनकै लागि दुई दिनका लागि पार्टीमा आउनेहरुसँग वार्ता गरेर समय खेर फाल्नु कति सान्दर्भिक होला ? पार्टी त विचार र नीतिले चल्ने हो, विचार नै नमिल्ने स्वघोषित नेताहरुको झुण्ड ले होइन । वार्ताको वातावरण बनाउन खोज्दाखोज्दै अरुसँगको गुटबन्दको कारण निमोठीएर जान्छन भने, त्यस्तो झुण्ड पार्टीमा बसेपनि बाधा नै पु¥याउँदछ ।
नेकपा एमालेभित्र अहिले देखिएको कलह विचार र सिद्धान्तका विषयमा हैन, पार्टी र सत्ताभित्रको भागबण्डा नमिलेकै कारण जन्मिएको हो । र महाधिवेशनले दिएको जनादेश विपरीतको जिरह मात्रै हो यो । यसैले पनि भागबण्डा नमिलेकै कारण कोही अलग चुलोचौकाको जोहो गर्दछ भने पार्टीकै दीर्घकालिन लाभका लागि नेतृत्वले त्यस्तालाई खुला दिलले बिदाई दिनुपर्दछ, भिरबाट लड्ने गोरुलाई राम राम भन्ने हो, काँध हाल्न सकिन्न ।
तत्काललाई यसले पार्टीमा केही अप्ठेरो स्थितिको सिर्जना गर्ला तर, पार्टीलाई आफ्नो दीर्घकालिन मार्ग तय गर्न यसले नयाँ उर्जा नै थपिदिन्छ भन्ने असल सोचका साथ नेतृत्वले निर्णय लिन सक्नु पर्दछ । यसैमा पार्टी र पार्टीका नाममा आफ्नो वय खर्चेका लाखौं कार्यकर्ताको समेत हित छ ।