काठमाडाैं, २ चैत । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताउनुभएको छ ।
आइतबार सो दल सम्बद्ध जन वर्गीय संगठन तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताउनुभएको हो ।
क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उहाँले नेपालमा फेरि बन्दुक उठ्ने दाबी समेत गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मुलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मुलधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताउनुभयो ।
महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुुपर्ने बताउनुभयो ।