एजेन्सी, १ चैत। भारतमा प्रतिबन्धित खालिस्तान समर्थित संगठन सिख फर जस्टिस एसएफजेले संयुक्त राष्ट्र संघलाई चन्दा दिएको खुलेको छ । भारतको केन्द्रिय सरकारले ल्याएको कृषि कानुनका विरुद्धमा संघर्षमा उत्रिएका किसानहरुमाथि भएको ज्यादतीको छानविनका लागि आठ लाख भारतीय मुद्रा बराबरको रकम चन्दा स्वरुप दिएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
सो चन्दा जेनेवास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय यूएनएचसीआरलाई दिइएको बताइएको हो । एसजेएफले युएनएचसीआरसँग कृषि कानूनका विरुद्ध भएको किसान आन्दोलनमा संलग्न प्रदर्शनकारीमाथी भएको भनिएको कथित दुव्र्यवहारको छानविन गर्न उच्चायुक्तको कार्यालयले छानबिन आयोग गठन गर्न भन्दै लबिङ गर्दै आएको छ ।
आफ्नो प्रतिबन्धको सुचीमा रहेका मुलुक र संगठनलाई छाडेर अन्य सबै मुलुक र संगठनबाट चन्दा लिन संयुक्त राष्ट्र संघ स्वतन्त्र रहेको र एसजेएफ त्यस्तो कुनै प्रतिबन्धित सुचीमा नरहेकाले उसले प्रदान गरेको रकम स्वीकार गरेको बताइएको छ ।