कञ्चनपुर, २२ असोज । नेकपा एमाले कञ्चनपुरले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ५४ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको बताइएको छ ।
एमाले कञ्चनपुरका उपसचिव रणबहादुर महराले जिल्ला कमिटीबाट उम्मेदवारको नाम प्रदेश नं ७ को प्रदेश कमिटीमा पठाइएको जानकारी दिएका छन् । उनका अनुसार जिल्लाबाट सिफारिश भएका नाम प्रदेश कमिटी हँदै केन्द्रमा छनोटका लागि जानेछन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा प्रत्यक्षतर्फ तारालामा तामाङ, खेम सुवेदी र गीता जैशीको नाम प्रदेश कमिटीमा पठाइएको छ ।
त्यसैगरी, क्षेत्र नं १ बाट प्रदेशसभाका लागि प्रदेश ( क ) मा लाबहादुर विक, स्थिरप्रसाद घिमिरे र पार्वती हमाल तथा प्रदेशसभा ( ख )का लागि राजेन्द्रप्रसाद जोशी, अक्कल विष्ट र मर्यादा विष्टको नाम सिफारिसभएका छन्
।
यता कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ गोविन्दप्रसाद कलौनी, नरबहादुर धामी र जानकी पन्तलाई जिल्ला कमिटीले सिफारिस गरेको छ ।
यसै क्षेत्रको प्रदेशसभाका लागि ( क ) मा जयराज पाण्डेय, मोहनसिंह रावल र लक्ष्मी बुढा तथा ( ख ) मा लालबहादुर खड्का, वचनबहादुर सिंह र सीता बोहराको नाम सिफारिस गरिएको एमालेका उपसचिव रणबहादुर महराले जानकारी दिएका छन् ।
त्यस्तै, निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमा डा. दीपकप्रकाश भट्ट, लीलाध्वज बस्नेत र निरुदेवी पालको नाम जिल्लाले छनोट गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ । क्षेत्र नं ३ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ प्रदेश सभा ( क ) मा कृष्णदेव पन्त, प्रकाश रावल र विमला भट्ट तथा ( ख ) मा खेम भण्डारी, राजीव खड्का र पुनम चन्द सिंह को नाम सिफारिस गरिएको जानकारीमा आएको छ ।
उपसचिव महराले जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी २७/२७ जनाको नाम सिफारिश गरिएको जानकारी दिएका छन् । विसं २०७० को निर्वाचनमा एमालेले कञ्चनपुरमा रहेका चारवटै निर्वाचन क्षेत्रमा पराजय बेहोरेको थियो ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कञ्चनपृरका नौ स्थानीय तहमध्ये सात वटामा एमाले विजयी भएको थियो ।