इमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्छ : राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

इमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, १८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरु राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तिनका इमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताएकी छिन्।

राष्ट्रपति भण्डारीले सोमबार स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु स्रष्टा सर्जकहरुको कर्तव्य भएको समेत उल्लेख गरेकी छिन् । उहाँले स्रष्टाहरुलाई सम्मानित र पुरस्कृत गर्ने कार्य प्रसंसनीय र प्रेरणादायी समेत हुने बताएकी छिन् ।

कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली शैलीको सङ्गीत सिर्जनामा सिद्धहस्त नातिकाजीले नेपाली आधुनिक सङ्गीतको जग निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा गरे । उनले नातिकाजीको योगदानलाई स्मरणीय बनाउन सडकको नामाकरणको माग राख्नुहुँदै काठमाडौँ महानगरपालिकाले नातिकाजीको नाममा कोष स्थापना गर्ने वचन दिएको समेत जानकारी गराए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको समेत उपस्थिति रहेको कार्यक्रममा राष्ट्रपति भण्डारीले बरिष्ठ वाद्यवादक नोर्बु छिरिङ्ग लामालाई नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७६ प्रदान गरिन् । यस्तै, बालकृष्ण सजीव, सुरेन्द्र राना, राजु अग्रवाल, राजु सिंह, मदन सिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, चुणमणि देवकोटा, महेश खड्कालाई नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान २०७६ प्रदान गरिएको छ ।

यसैगरी, प्राश्ना शाक्य, चेतन सापकोटा, दयाराम पाण्डे र सुगम पोख्रेललाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार २०७६ प्रदान गरिएको छ । त्यस्तै, मेलिना राई, वसन्त सापकोटा, सुरजकुमार थापा र हर्क साउदलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७६, जीवित जल्मीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार २०७६, सञ्चारकर्मीद्वय विदुर गिरी र श्याम स्मृतलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७६ प्रदान गरिएको छ ।

यस्तै, विकासनाथ योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७६ र बद्री पंगेनीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार २०७६ प्रदान गरिएको छ । कार्यक्रममा जारा रित प्रसाई, सुगम पोख्रेल, प्राश्ना शाक्य, मेलिना राई र सुरजकुमार थापाले नातिकाजीका लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);