एजेन्सी, १६ फागुन । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओसुमाने डेम्बेलेले एक-एक गोल गरे । खेलको २९ औं मिनेटमा मेस्सीको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–० को सहज जित दिलाए ।
जितसँगै बार्सिलोना २५ खेलमा ५३ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।