काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय वदर गरेको छ ।
प्रधानन्याधीस चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णय वदर गरेको हो । इजलासले १३ दिन भित्र प्रतिनिधि सभाको बैठक बोलाउन समेत आदेश दिएको छ ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सो कदम असंवैधानिक भन्दै सर्वोच्चमा विभिन्न १३ वटा रिट दर्ता भएका थिए । रिटको सुनुवाईका लागि प्रधानन्याधीस राणाको संयोजकत्वमा विसम्वर श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज कुमार केसी रहेको संवैधानिक इजलास गठन गरेको थियो ।
यस विषयमा अदालतका सहयोगीका रुपमा एमिकस क्युरी गठन गरिएको थियो । एमिकस क्युरीमा बद्री बहादुर कार्की, पुर्णमान शाक्य, शतिस कृष्ण खरेल, गिता संग्रौला पाठक र विजयकान्त मैनाली रहेका छन् । यी मध्ये विजयकान्त मैनालीले मात्र विघटनको पक्षमा राय दिएका थिए ।