काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ फोहोरी खेलबाट राजनीतिलाई जोगाउन आफुले प्रतिनिधिसभा विघटनको बाटो रोजेको बताएका छन् । सरकार बनेको तीन बर्ष पुगेको अवसरमा सरकारका उपलब्धीहरुलाई सार्बजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘बैकल्पिक सरकार बन्ने अवस्था थिएन, जति गरेपनि नेकपा बाहिरको ३६ प्रतिशतले अर्को सरकार बन्ने अवस्था थिएन, नेकपा एउटै रहने अवस्था पनि थिएन, त्यसबाट स्थायीत्व रहने अवस्था हुदेनथ्यो, त्यसलाई जोगाउन निर्वाचनको बाटो रोजेको हुँ’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले पुस ५ गते आफुसंग दुईवटा बिकल्प मात्र बाँकी रहेकोले उत्तम विकल्प प्रयोग गरेको बताए । ‘ मसँग दुई विकल्प थिए एउटा फोहोरी खेलमा राजनीतिलाई जान दिने , अर्को प्राप्त गरेको उपलब्धीहरुलाई जोगाउन जनतामा जाने, मैले जनतामा जाने विकल्प रोजेको हुँ’ प्रधानमन्त्रीले भने ।
जनतामा जाने कुरालाई प्रतिगमन र संविधान विपरित भयो भनेर आफु माथि लगाएको आरोप सुनेर उदेका लागेको बताए। ‘ के हो प्रतिगमन भनेको ? जनतामा गएर ताजा जनादेश लिने प्रतिगमन हो ? प्रधानमन्त्रीको प्रश्न थियो । आफूलाई एउटा सानो संख्यामा पार्टी भित्र आफूविरुद्ध गाई गुई गर्नु र बैठकमा एकजना नेताले फौजदारी आभियोग जस्तो झुटो लान्छना बाहेक कर्तैबाट विरोध नआएको प्रधानमन्त्रीले दावी गरे ।
प्रतिनिधिसभा बिघटन गर्नु अघि सम्म आफू छलफलमा जुटेको भएपनि काम गर्न दिने अवस्था उत्पन्न नहुने भएकोले नयाँं निर्वाचनमा जाने निर्णय भएको बताए । आफूले सरकारको नेतृत्व गरेपछि एकातिर जनता उत्साही भएको तर अर्को तिरबाट आफ्नै पार्टीबाट खुट्टमा अल्झन लगाउने प्रयास भएको प्रधानमन्त्रीको गुनासो थियो ।