काठमाडौं, ११ माघ । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो ।
विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो । विभागले करिब करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लन लागेको जानकारी समेत गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाई छ ।
२०७७ माघ ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो । जनगणना विभिन्न प्रविधि अपनाई गरिने उहाँको भनाई छ । मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उहाँले बताउनुभयो ।
अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट अन्र्तगतको सवडोमेन तथा केन्द्रीय तथ्याङ्क विभागको वेवसाइटमा गएर भर्न सकिनेछ । राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताउनुभयो । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभुत प्रश्नहरु राखिएको उहाँको भनाई छ ।
राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा वि.सं. १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । बाह्रौ जनगणना २०७८ जेठ देखि असार सम्म सञ्चालन हुने पनि विभागले बताएको ।