काठमाडौं, २५ पुष । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री कप माघ २ गतेबाट सुरु हुने जनाएको हो ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् जसमा प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश रहेका छन् । त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
यसैबीच २ गते हुने उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो दिन एपीएफ र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ भने तेस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ ।




