काठमाडौं, १४ पुष । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज देशैभर प्रदर्शन, जुलुसको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै स्पष्ट दुई धारमा देखिएको नेकपाका दाहाल–नेपाल समूहले विघटनविरुद्ध सडक प्रदर्शन गर्न लागेको हो ।
प्रदर्शन आज बिहान ११ बजेदेखि देशैभर हुने जनाइएको छ । यसैबीच काठमाडौं उपत्यकामा विभिन्न ८ स्थानबाट जुलुस निस्कने बताइएको छ । उपत्यकाको बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट जुलुस निस्कने समेत नेकपाले जनाएको छ ।
आजको प्रदर्शनका लागि उपत्यकाका आसपासका जिल्लाहरूमा गरिने प्रदर्शन पनि काठमाडौं नै केन्द्रित गरिएको बताइएको छ । विरोध सभालाई भृकुटीमण्डपमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।