काठमाडौं, ११ पुष । काठमाडौं । नेकपा नेता प्रदीप नेपालले जनताको बहुदलीय जनवाद नै नेपालको माक्र्सवाद भएको बताउनुभएको छ ।
पछिल्लो समय विभाजनको संघारमा रहेको सत्तारुढ नेकपामा सिद्धान्तको बहस पनि चर्किइरहेको छ । पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद जबजलाई मान्ने कि एक्काइसौं शताब्दीको जनवादलाई मान्ने भन्नेमा समेत पार्टीभित्र मतभेद देखिन्छ ।
यहीबीच नेकपामा बौद्धिक नेताको छवि बनाउनुभएका नेता प्रदीप नेपालले खुलेर जबजको पक्षमा आफ्नो मत राख्नुभएको छ । पछिल्लो समय मुलधारको राजनीतिबाट टाढा रहनुभएका नेता नेपालले सामाजिक सञ्जालमार्फत नेपालको माक्र्सवाद नै जनताको बहुदलीय जनवाद रहेको बताउनुभएको हो ।
जननेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त जबज अनुसार अगाडि बढनु नै नेपालका सबै वामपन्थीहरुका लागि हितकर रहेको उहाँको भनाई छ । यस्तै उहाँले अन्ततः सबै कम्युनिष्टहरुले जनताको बहुदलीय जनवादलाई नै स्वीकार्नु पर्ने भएकाले अहिले विवाद र गालीगलौज गर्नु निरर्थक रहेको विचार राख्नुभएको हो ।