काठमाडौं, २२ मंसिर । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणको बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोरोना संक्रमणको बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । उनले निर्देशन अवज्ञा गरेको पाएइमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिनेसमेत बताउनु भयो ।
‘कोभिड–१९ को सन्र्दभमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले सूचना जारी गर्दै भनेका छन्, ‘कोभिड–१९ को सङ्क्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न र नगराउन अनुरोध छ ।’