यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै, कुकुर तिहार पनि आजै | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै, कुकुर तिहार पनि आजै

काठमाडौं, २९ कार्तिक । यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ ।

लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत सरसफाइ गरिन्छ । सुख सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा गरिन्छ ।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिएर पठाउने चलन छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले दिएमा अत्यन्तै पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा गाउँ तथा शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ ।

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावण आदि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको बिशेष महत्व रहेको तथ्य स्पष्ट हुन्छ ।

यसैबीच आजै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीको बिहान आज नदी, तलाउ वा धारामा गएर स्नान गरेर नरक स्नान समेत गर्ने गरिन्छ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो ।

Leave a Reply