काठमाडाैं,२४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः सरेको छ ।आजका लागि बोलाइएको बैठक कात्तिक २७ गतेसम्मका लागि सारिएको हो ।
आज दिउँसो १ बजेका लागि तय भएको बैठक सरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका जानकारी दिनुभयो । साथै उहाँले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरु सहभागी हुने बताउनुभयो ।
गत असोज १२ मा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उहाँ पक्षका २७ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १६ बुँदे विरोध पत्र दर्ता गराएपछि देखिएको आन्तरिक विवादमा रोमलिएको कांग्रेसले पटक–पटक केन्द्रीय कार्यसमिति बैठक आव्हान गरेपनि बस्न सकेको छैन । साथै उक्त १६ बुँदे पत्रबारे पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी बैठक जारी रहेपनि समस्याको गाँठो भने फुक्न सकेको छैन ।
आइतबार सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले विभाग यथावत् राख्दै क्रियशील सदस्यता तथा समायोजन लगायतका एजेन्डामा सहमतिको प्रस्ताव अब बस्ने केन्द्रीय समितिमा पेश गर्ने मौखिक सहमति भने गरेको छ ।