ओलीकै काँधमा नेपाल भारत सम्बन्ध सुधार (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

ओलीकै काँधमा नेपाल भारत सम्बन्ध सुधार (भिडियोसहित)


नेपाल भारत सम्बन्ध बिग्रनुमा कारण प्रधानमन्त्री केपी शर्मा ओलीकै हो भन्ने आरोप सत्तापक्ष भित्र तथा बाहिरबाट लाग्दै आएको छ । आरोपको आधार लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारत रिसाउने गरी नेपाली नक्सामा समावेश गरेको, भारतीय नाकाबन्दी विरुद्ध डटेर सामना गरेको तथा भारतलाई चित्त दुख्ने गरी संसद र संसद बाहिर तिखो अभिव्यक्ति दिएको भन्ने देखाइएको छ । भारत रिसाउला र भारत रिसाए सत्ताको कुर्सीमा पुग्न सकिंदैन भन्नेहरुको लागि यो तर्क ठिकै लाग्दा तर स्वाभिमानी नेपालीहरुलाई यिनै कारण भारत रिसाउँछ भने पनि प्रधानमन्त्रीको कदम र अभिव्यक्ति ठिक छ भन्नेहरु कम छैनन । यिनै आरोप प्रत्यारोपका बीच भारतसँग बिग्रिएको भनिएको सम्बन्धलाई सुधार्न अहिले प्रधानमन्त्रीको सक्रियता बढ्दो छ । सम्बन्ध सुधारको जिम्मेवारी ओलीकै काँधमा देखिन्छ ।

अहिले मुलुकमा छिमेकी मुलुक भारतसँगको सम्बन्धलाई लिएर निकै टिकाटिप्पणी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा निकै चिसो बनिरहेको भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन प्रयत्न सुरु गरेसँगै यो विषयको पक्ष र विपक्षमा बहसको श्रृंखला र विवाद भइरहेका छन् । भारतीय गुप्चतर संस्था रअका प्रमुख सामन्त कुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतका रुपमा नेपाल भ्रमण गरेसँगै सतहमा आएको बहस भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमण सम्पन्न गरी नयाँ दिल्ली फर्किसक्दा पनि जारी छ । छिमेकी मुलुकका उच्च पदस्थ प्रतिनिधिले गरेको दुई भ्रमणसँगै नेपाल र भारतबीचको सम्बन्ध नयाँ शिराबाट अघि बढ्न सक्ने सुश्म विश्लेषण समेत हुन थालेको छ ।

पछिल्ला दिनमा नेपाल भारत सम्बन्ध शरद ऋुतुसँगै बढेको चिसो जस्तै भएको थियो । विशेषत् लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेसँगै चिसो बनेको सम्बन्ध सुधारका लागि पछिल्ला दिनमा दुबै देशबाट भएका प्रयासलाई सकारात्मक नै मान्नुपर्छ । भनिन्छ, सबै चिज फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिन्न । यो कथनलाई मान्ने हो भने, नेपाल र भारतबीच असल, सौहार्दपूर्ण र सन्तुलित सम्बन्ध सदैव कायम हुनुको विकल्प नै छैन । किनभने यी दुई मुलुक छिमेकी मात्र होइनन् ऐतिहासिक, धार्मिक, सांस्कृतिक विविध रुप र सारले एक अर्काका अत्यन्तै घनिष्ट मित्र पनि हुन । हालै सम्पन्न दुई उच्च पदस्थ भारतीय अधिकारीको नेपाल भ्रमणलाई गम्भीरतापूर्वक नियाल्ने हो भने पनि नेपाल भारतको उच्च प्राथमिकतामा परेको मित्र नै भएको देखाउँछ ।

यो पृष्ठभूमिमा छिमेकी भारतसँग सम्बन्ध न्यानो बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट जुन ढंगको पहल कदमी भइरहेको छ त्यसमा राष्ट्रिय सहमति नजुट्नु भने दुर्भाग्यको विषय हो । स्वयंम प्रधानमन्त्री कै दल नेकपा भित्र भारतीय प्रतिनिधि मण्डलको नेपाल भ्रमणलाई लिएर विभाजित मनस्थितिमा देखिन्छ । आफ्ना प्रधानमन्त्रीले सम्बन्ध सुधारका लागि लिनु भएको पहलकदमीलाई पार्टीले होस्टेमा हैसे गरिदिनु पर्नेमा उल्दै विभिन्न नकारात्मक टिकाटिप्पणी गरेर जग हसाउने काम भइरहेको छ । यसले राष्ट्रिय विषयमा नेपालका दलहरु स्पष्ट दृष्टिकोण बनाउँदैनन र आफ्नो राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाइरहेका छन भन्ने पुष्टि हुन्छ ।

प्रधानमन्त्री ओलीले भारतीय अधिकारीसँगको भेटमा नेपाल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, दुई देशबीच रहेका समस्याहरुको वार्ताद्वारा समाधान गर्ने र एक अर्काबीचको पारस्परिक सहयोगलाई निरन्तर अघि बढाउने विषयकै सेरोफेरोमा रहेर कुराकानी गर्नु भएको प्रष्ट भइसकेको छ । त्यसमाथि यो भ्रमणपछि नेपाल भारतबीच अनौपचारक रुपमा उच्चस्तरीय भ्रमणको ढोका खुल्ने वातावरण बन्दै गएको स्पष्ट बुझ्न सकिन्छ । बिग्रिएको नेपाल भारत सम्बन्ध नाकाबन्दीकै तहमा पो पुग्ने हो कि भन्ने आशंका भइरहेको अवस्थामा भारतबाट दुई उच्चस्तरीय भ्रमण हुनु स्वागतकै विषय हो ।

यसले नेपाल र भारतको सम्बन्धलाई गतिशील मात्र होइन आगामी दिनमा परिणाममुखी बनाउन पनि ढोका खुल्ने विश्वास गर्न सकिन्छ । त्यति मात्र होइन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी सन्देश लिएर स्वदेश फर्किएका दुई भारतीय अधिकारीले भारतीय प्रधानमन्त्री नरन्द्र मोदीसँग नेपाल भ्रमणबारे बिफ्रिङ गरेपछि अब छिटृै नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण हुने संकेत पनि मिलेको छ । नेपाल र भारतबीच सम्बन्ध सुमधुर रहेको अवस्थामा मात्रै दुई देशबीच मित्रताको थप आयामहरु कोरिने भएकाले दलहरुले नेपाल भारत सम्बन्धमा राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक भएको पनि देखिएको छ ।

सत्तारुढ दलकै नेताहरुले भारतीय अधिकारीसँग प्रधानमन्त्रीले भेटेको विषयलाई उछालपछाल गरिरहने हो भने, यसले उनीहरु धमिलो पानीमा माछा मार्न खोजिरहेका होइन भन्ने कोण अथ्र्याउन पनि सकिन्छ । नेपाल भारतबीच सुमधुर सम्बन्ध नरुचाउनेहरु नेपाललाई आर्थिक रुपमा जर्जर र राजनीतिक रुपमा अस्थिर देख्न चाहिरहेका छन् । त्यसैले नेपाल भारत सम्बन्धलाई सधैं बहस र विवादको विषय होइन, अन्तर्राष्ट्रिय मूल्य मान्यता, नेपालले अंगालेको पंचशीलको सिद्धान्त र राष्ट्रिय हित अनुकूल स्थिर र चिर स्थायी बनाउन जरुरी छ । स्थिर सरकारको नेतृत्व गरेका कारण यो काम केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने दायित्वबाट पन्छिन मिल्दैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);