काठमाडौं, १८ कार्तिक । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि सही नभएको बताउनु भएको छ ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि सही नभएको बताउनु भएको हो । उहाँले पार्टी अलग गरौं भन्ने कुरामा लुकेको अन्तर्निहीत एउटा पक्ष,अर्थात् व्यक्तिगत कटुता सहितको व्यक्तिगत विषय नबनाऔँ भन्ने कुरा सही भएको र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गर्न सकिने उल्लेख गर्नु भएको छ ।
पार्टी भित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप लिन नहुने नेता श्रेष्ठको भनाइ छ । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भइ स्वस्थ एवम् रुपान्तरणमुखी छलफल गरेर मतभेद अन्त्य गर्न सकिने नेता श्रेष्ठको विश्वास छ ।