औषधि उद्योग भवन अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

औषधि उद्योग भवन अलपत्र

उत्तम पोख्रेल
मोरङ, २६ असोज ।
मोरङको सुन्दरहरैँचा नगरपालिका– ११ स्थित कर्जुनामा २ दशकअघि सुवर्ण फर्मास्युटिकल्स नामक औषधि उद्योगको निर्माण कार्य सुरु भएको थियो । तर, अहिलेसम्म पनि उद्योग सञ्चालनमा आएको छैन । उद्योगका लागि आवस्यक पूर्वाधार निर्माण काम शुरु भएपनि लगानीकर्ताले निर्माण कम्पनीलाई भुक्तानी नगरेपछि काम रोकिदा उद्योग भवन अलपत्र परेको हो ।

विसं २०५५ मा मोरङको सुन्दरहरैँचामा सुवर्ण फर्मास्युटिकल्स नामक औषधि उद्योगको स्थापन गर्न भन्दै शिलन्यास भएको थियो । उद्योग भवनको लागि प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिलान्यास गर्नु भएको थियो ।

। तर, त्यसपछि उनी उद्योग निर्माण स्थल परिसरमा कहिल्यै पनि पुगेका छैनन् । पाँच विगाह क्षेत्रफलमा २ सय ५० भन्दा बढी कोठा रहेको भवन निर्माण भएको छ। तर, ती भवन सबै जीर्ण बन्दै गएका छन् ।औषधि उद्योगको भवनको विषयमा धेरैले आश्वासन बाँड्दै आएका छन् ।

चुनाव अघि खुबै चर्चामा आउने उद्योग भवन चुनाव सकिएसंगै सेलाउदै जान्छ । उद्योग भवनको विषयमा कसैलाई चासो दिने पटक्कै फूर्सद मिल्दैन । उद्योग स्थलको रेखदेखकालागि चारजना सुरक्षागार्ड नियुक्त गरिएको थियो । तर, उद्योग सञ्चालनमा नआएपछि सुरक्षा गार्ड समेत घर फर्केका छन् । जेनतेन एक जना सुरक्षा गार्डको भरमा उद्योग परिसरको सुरक्षा गरिदै आएको छ ।

भारतीय सरकारी औषधि कम्पनी एनटिसीको ३४ करोड तथा सुवर्ण फर्मास्युटिकल्स, साल्ट ट्रेडिङ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ११ करोड गरी कुल ४५ करोडको लागतमा उद्योग निर्माण सुरु गरिएको हो । तर, उद्योगका संरचनाहरू करिब सबै निर्माण भएपनि निर्माणको ठेक्का पाएको निर्माण कम्पनी तुण्डी कन्स्ट्रक्सनलले भुक्तानी पाउन अदालत धाउनु परेको थियो ।

तर, सुवर्ण फर्मास्युटिकल्स, साल्ट ट्रेडिङ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच लगानी हिस्साको विषयमा विवाद बढ्दै गएपछि उद्योग सञ्चालनमा नआएकोे हो । लगानीकर्ताले केही समयअघि उद्योग सञ्चालनका लागि बजेटको व्यवस्थापन गरिदिन प्रदेशलाई अनुरोध गरेपनि कोरोना बाहनामा ढिलाई भइरहेको छ ।

तीनै तहको चुनावमा उठ्ने उमेदवारहरुले यो औषधि कम्पनी संचालन गर्ने आश्वाशन बाँड्न छुटाएका छैनन् । तर, २ दशक बितिसक्दा पनि संचालन हुन सकेको छैन । यसै क्षेत्रबाट चुनाव जितेका भानुभक्त ढकाल अहिले स्वास्थ्य मन्त्री बनेका छन् । तर, औषधि बनाउने कम्पनी अलपत्र हुदाँ समेत मन्त्री ढकाललाई औषधि उद्योगको भवनको विषयमा चासो गर्दैनन् ।

यतिमात्रै होइन, संचालन गर्ने कुरा त परै जाओस घर छेउमै रहेको भवनको अवस्था बुझ्न प्रदेश सांसद राजकुमार ओझा तथा सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल समेत अहिलेसम्म जीर्ण बन्दै गएको भवनको निरीक्षण समेत गरेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);