काठमाडौं, २५ असोज । चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि सत्याग्रहमा रहनु भएका डाक्टर गोविन्द केसीले अनशन तोड्नु भएको छ ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोड्नु भएको हो । जुस पिलाउने ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका व्यक्ति समेत हुनुहुन्छ ।
शनिबार मध्यराति डाक्टर गोविन्द र सरकारी वार्ता टोलीबीच ८ बुँदे सहमति भएको हो ।
सहमतिमा अनशनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले हस्ताक्षर गर्नुभएको छ । शनिबार नै अनसन तोड्ने सहमति भएको भए पनि डा. केसीले आज बिहान २८ औं दिनमा अनशन तोड्नु भएको छ ।
८ बुँदे सहमतिमा सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम संचालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई शुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै, चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० मा गरिएको सम्झौतालाई पनि राखिने उल्लेख छ ।
डा. केसीले उठाउनु भएको देशमा भएका ठूला भ्रष्टाचारका काण्डमा संलग्नमाथि कार्वाही गर्नुपर्ने विषयमा भने ८ बुँदे सहमतिका कुनै बुँदामा उल्लेख छैन ।