काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको आइतबारका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईँको निधनमा आइतबार पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक स्थगित गरिएको बताइएको छ ।
कांग्रेसमा पार्टीका पूर्वपदाधिकारीको निधन हुँदा एक दिन पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द र तीन दिन झण्डा झुकाउने चलन छ । प्रसाईँको निधन शुक्रबार भएपनि आइतबार केन्द्रीय कार्यालय र जिल्ला कार्यालय बन्द गरिने भएको हो । आगामी बैठक कहिले बस्ने भन्ने पनि अनिश्चित बनेको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको छलफलपछि आगामी बैठकको तय गरिने जनाइएको छ । तर घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेता पौडेल आइसोलेसनमा बसेकाले छलफल कहिले हुन्छ भन्ने टुंगो छैन । अर्को सूचना भएपछि बैठक बस्नेगरी भोलिको बैठक स्थगित गरिएको छ ।
यसअघि असोज १९ गतेलाई निर्धारित बैठक केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र गगन थापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएपछि स्थगित गरिएको थियो ।




