क्लिनफिड लागू छिट्टै हुनुपर्छ : अध्यक्ष राजकर्णिकार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

क्लिनफिड लागू छिट्टै हुनुपर्छ : अध्यक्ष राजकर्णिकार

clean-feed_

काठमाडौं २२, असोज । विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) लागू भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले बताउनुभएको छ । क्लिनफिड लागू नहुँदा नेपाली टेलिभिजन, छापा माध्यम र रेडियोको विज्ञापन बजार संकुचन भएको उहाँले बताउनुभयो । अध्यक्ष राजकर्णिकारले कात्तिक ७ गते देखि क्लिन फिड लागू भए नेपालको विज्ञापन बजार छोटो समय भित्रै १० अर्ब रुपैयाँ बढीले वृद्धि हुने बताउनुभयो ।

क्लिनफिड लागू भएपछि विदेशी ब्राण्डले नेपाली मिडियामा विज्ञापन गर्ने भएकाले पनि १० अर्ब बढीको विज्ञापन बढ्ने आकलन गरिएको बताउनुभयो । जसबाट १२ अर्बमा रहेको नेपालको विज्ञापन बजार झण्डै २५ अर्ब पुग्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘नेपाली टेलिभिजन, नेपाली छापा माध्यम र नेपाली रेडियो माध्यमहरुको पनि जुन विज्ञापन बजार संकुचन भइरहेको छ र क्लिनफिड पछि विदेशी ब्राण्डहरुले नेपाली टेलिभिजनमा, नेपाली छापामा र नेपाली रेडियोमा जुन खालको विज्ञापन गर्छ यसले करिब एक हजार करोड भन्दा बढीको विज्ञापन केही समयको अन्तरालमा बढाउँछ ।

त्यसो हुँदाखेरी विदेशी उत्पादनहरुको विज्ञापन यहिं बनाउँछौं । यहिं उत्पादन गर्दाखेरी कलाकारहरु, प्राविधिज्ञहरु, विज्ञापन एजेन्सी, विज्ञापन सर्जकहरु सबैले काम पाउने भयो । टेलिभिजनले र सञ्चार माध्यमलाई पनि विज्ञापनको वृद्धि हुने भयो । त्यसो हुनाले अहिलेको जुन १२ सय करोडको विज्ञापन बजारलाई २५ अर्ब बनाउन सकिन्छ ।’

कत्तिक ७ गतेपछि क्लिनफिट हटाउँदा केही समस्या हुने भएपनि प्रविधिको प्रयोग गरी समस्या समाधान गर्न सकिने उहाँले बताउनुभयो । विदेशी च्यानलमा पैसा तिरेर विज्ञापन हेर्नुपर्ने स्थितिको अन्त्य नहुँदा सम्म नेपाली मिडियामा विदेशी विज्ञापन आउनै नसक्ने पनि उहाँको भनाई छ । प्राविधिक समस्याका नाउँमा फेरी समय थप गर्न नहुनेमा उहाँले जोड दिनुभयो । ऐन आएको एक वर्ष भइसकेकाले पनि तत्काल कार्यान्वयनमा जानुको विकल्प नरहेको पनि उहाँले बताउनुभयो ।

करिब ९० प्रतिशत विदेशी टेलिभिजनले विज्ञापन रहित प्रशारण गर्ने तय गरिसकेको र बाँकी १० प्रतिशतका लागि क्लिनफिड लागू गर्ने समय थप गर्न जरुरी नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘प्राविधिक समस्या जुन आउन सक्छ त्यसलाई सम्बोधन गर्न सकिन्छ । तर त्यो सम्बोधन गर्ने नाममा हामीले जुन ६ महिना बढाऔं, एक वर्ष बढाऔं भनेका छौं यो ऐन आएको एक वर्ष भइसकेको छ ।

एक वर्ष पछि कार्तिक ७ गतेलाई डेडलाइन मानेर हामी अगाडि बढेको हो । त्यसकारणले निर्वाधरुपमा जानुपर्छ । मैले प्राप्त गरेको जानकारी अनुसार करिब ९० प्रतिशत विदेशी टेलिभिजनहरुले विज्ञापन रहित प्रशारण गर्ने तय गरिसकेका छन् । बाँकी १० प्रतिशतका लागि हामीले अन्य कुराहरु सोचिराख्नुपर्ने जरुरी छैन् ।’

कुनैपनि विदेशी उत्पादनले नेपालका लागि बजार प्रवद्र्धन गरिरहेको छ भने आफ्नै देशको टेलिभिजनमा विज्ञापन गरी गरेकाले त्यस्तो अवस्थाको अन्त्यका लागि पनि क्लिनफिड आवस्यक रहेको उहाँको भनाई छ । क्लिनफिड लागू भएपनि नेपालकै टेलिभिजनमार्फत बजार प्रवद्र्धन गर्नुपर्ने अवस्था आउँदा नेपालको विज्ञापन बजार बढ्ने उहाँले बताउनुभयो ।

यसबाट नेपालको विज्ञापन बजार दोब्बरले बढ्ने अवस्था आउने र नेपालका सञ्चार माध्यमहरु प्नि आत्मनिर्भर बन्न सक्ने उहाँको भनाई छ । यसबाट नेपालको समग्र सामाजिक आर्थिक विकासमा पनि योगदान हुने उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);