पोखरा, १२ असोज । पोखराका सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीड बढेको छ । कोरोनाको जोखिम रहेको बेला सरकारी अड्डामा स्वास्थ्य मापदण्डको पालना समेत भएका छैनन् । भौतिक दुरी कायमसँगै आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन भनिए पनि मापदण्डको बेवास्ता गर्दै पोखराका अधिकांश कार्यालयमा भीड लाग्ने गरेको छ ।
कोरोेना जोखिम उत्तिकै छ । सावधानी अपनाउनु पर्ने हो । तर, सरकारी अड्डाका कर्मचारीदेखि सर्वसाधारण सबैले मापदण्डको उल्लंघन गरेका छन् । सर्वसाधारणको हेलचेक्र्याई पनि उस्तै छ । उता सरकारी कार्यालयहरूले पनि स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । सरकारी कार्यालयहरूले समयमा छिटो छरितो सेवा दिन पनि सकेका छैनन् ।
सेवाग्राहीलाई झुलाउने, सेवा प्रवाह लम्ब्याउने गरेका छन् । जसका कारण कार्यालयमा भीड लागेको छ । कार्यालयहरूले समेत स्वास्थ्य मापदण्डका कुनै पनि नियम पालना गरेका छैनन् । गण्डकी प्रदेशमा पछिल्लो समय संक्रमण दर उच्च छ । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ । संक्रमण रोेक्नुपर्ने कार्यालय आफै पनि जोखिम न्युनिकरणमा नलागेको स्थानीयको गुनासो छ । तर सरकारी कार्यालयले भने आफुहरूले मापदण्ड बनाएरै काम गरिरहेको दाबी गरेका छन् ।
सर्वसाधारणले मापदण्ड नबुझेर भीड गरेको आन्तरिक राजस्व कार्यालय, पोखराका सूचना अधिकारी विश्वप्रसाद लामिछाने बताउँछन् । तर, अधिकांश सरकारी अड्डामा मापदण्ड नभएको स्थानीयले गुनासो गरेका छन् । बरू घण्टौ सेवाग्राहीलाई कुराउने र उनीहरू घण्टौ लाइनमा बस्नुपर्ने अवस्था छ । जसले कोरोना जोखिम झन् बढाएको छ ।