११ जना राष्ट्रसेवक कर्मचारीसहित ६ सय २१ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, १२ असोज । राजस्व अनुसन्धान विभागले २ वर्षको अवधिमा ११ जना राष्ट्रसेवक कर्मचारीसहित ६ सय २१ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेका छन् । राजस्व छली तथा आर्थिक अपराधका जोखिमयुक्त क्षेत्रमा अनुसन्धानलाइ केन्द्रित गरिएको र राजस्व प्रशासनमा सदाचार प्रवद्र्धन गर्दा राजस्व संकलनमा सकारात्मक सुधार हुँदै आएको महानिर्देशक दिर्घराज मैनालीले बताउनु भयो ।
प्रधानमन्त्री मातहत आइसकेपछि विभागले २ वर्षको अवधिमा राजस्व चुहावट गर्ने विरुद्ध १ सय ९० ओटा मुद्दा चलाएको जनाएको छ । १ सय ९० मुद्दाबाट २५ अर्ब ११ करोड १० लाख रुपैयाँ बिगो असुल हुनुपर्ने विभागले जनाएको छ । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहत आएपछि विभागको प्रभावकारिता बढेको समेत विभागको दावी छ । महानिर्देशक मैनालीका अनुसार राजश्व चुहावट घटनामा ११ जना आफ्ना कर्मचारी मुछिएका छन् । उनीहरूविरुद्ध मुद्दा दायरसमेत गरिएको छ ।
विभाग प्रधानमन्त्री कार्यालय मातहत आएपछि अनुसन्धानमा कुनै समूहको दबाब नपरेको विभागको दावी छ । चुहावटका घटनामा राष्ट्रसेवक कर्मचारीलाई पनि नछोडेको मैनालीले बताउनु भयो । पछिल्लो समय राजस्व चुहावट अन्तर्गत नै विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबार बढिरहेको छ । बन्दाबन्दीपछि विभागले गरेको अनुसन्धानमा सागर प्लास्टिक कन्सर्न र सुप्रिम प्लास्टिक कन्सर्नले नक्कली बिलबीजक बनाएर ३२ करोड ६० लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको थियो । उनीहरूविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ ।
काठमाडौंकै बिकोइ स्काइ बंगलामुखी जेभीविरुद्ध पनि उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको मैनालीको भनाई छ । त्यस्तै अपराधका शैलीमा समेत विभागले अनुसन्धान गरेको छ । २ वर्षको अवधिमा कारोबारमा संलग्न ४ सय १६ जनालाई प्रतिवादी बनाई ५ अर्ब ९१ करोड ६९ लाख बिगो कायम गरी बिगोको तीनगुणासम्म जरीवाना एवम् ३ वर्षसम्म कैद मागदावी सहित मुद्दा अघि बढाइएको राजस्व अनुसन्धान विभागले बताएको छ ।
यसबाट राजस्व परिचालन र विप्रेषण आय प्राप्तिमा समेत सकारात्मक प्रभाव परेको विभागको ठम्याइ छ । २०७५ सालअघि विभाग अर्थ मन्त्रालय मातहत रहँदा कतिपय व्यापारिक समूह र मन्त्रालयका अधिकारीहरूबाट अनुसन्धान प्रभावित पार्ने कार्य हुने गरेकोमा अहिले त्यस्तो भने नरहेको विभागका अधिकारीहरूको दाबी छ ।