'कोरोना संक्रमण नियन्त्रण गर्न सरकारसँग ठोस योजना नभएको प्रष्ट देखियो' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘कोरोना संक्रमण नियन्त्रण गर्न सरकारसँग ठोस योजना नभएको प्रष्ट देखियो’

pradesh 5

बुटवल,६ असोज । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नेतर्फ सरकारले ठोस योजना नल्याएको प्रदेश सभा सदस्यहरुले बताएका छन् ।

मंगलबार बसेको प्रदेश ५ प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्यहरुले मुलुकमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला समेत कोरोना परिक्षणको दायरा नबढाउनुले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारसँग ठोस योजना नभएको प्रष्ट भएको बताए ।

प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले कोरोना नियन्त्रण गर्ने तर्फ सरकारले कुनै योजना ल्याउन नसकेको भन्दै भएका प्रयोगशालाहरुबाट समेत कोरोना परिक्षण नगरेर सरकारले जनता मार्न लागेको त होइन ? भनि प्रश्न गरे ।

विदेशमा रोजगारी गुमाएर स्वदेश आएका युवाहरु रोजगारीको अभावमा कोरोनाको महामारीकाबीच रोजगारीका लागि पुन: भारत लगायतका देशमा जान बाध्य भएको बताउदै उनले भाषणमा युवाहरुलाई स्वरोजगार बनाउने ठूला कुरा गर्ने सरकारले युवाहरुकालागि कुनै योजना ल्याउन नसकेको दाबी गरे ।

युवाहरुलाई कृषि पेशामा आकर्षित गर्ने योजना ल्याउनुपर्नेमा सरकारले कृषिका नाउमा ल्याइएका केही कार्यक्रम पनि कार्यकर्ता पोष्नमै सिमित भएको उनको आरोप थियो ।

कोरोना भाइरस संक्रमण उपचार तथा नियन्त्रणमा वजेट अभाव देखाउने सरकारले कार्यकर्ता पोष्नकै लागि नयाँ संरचना थप्न लागेको आरोप लगाउदै उनले प्रदेश सरकारले ल्याएको प्रदेश पूर्वाधार विकास प्राधिकरणको औचित्यमाथि प्रश्न उठाए ।

प्रदेशसभा बैठकको बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले सरकारले समवेदना सहितको भ्रष्टाचार गरेको आरोप लगाउनुभयो । जनतामा कोरोना भाइरसको त्रास फैलाएर सरकारले कोरोना नियन्त्रणका नाउमा भ्रष्टाचार गरेको भन्दै उनले ‘सरकारले एकातिर कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएकाहरुप्रति समवेदना दिन्छ अर्कोतिर भ्रष्टाचार पनि गर्छ’ उहाँले भन्नुभयो ।

अर्का प्रदेश सभा सदस्य तारा जिसीले पनि सरकारले कोरोना नियन्त्रणमा सरकार असफल भएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको रोष्ट्रममै उभिएर साउन महिना भित्रमा कोरोना भाइरस संक्रमण स्थिर हुने र साउनपछि नियन्त्रण हुने प्रक्षेपण गरेको स्मरण गराउदै उहाँले मुख्यमन्त्रीको प्रक्षेपण फेल खाएको बताउनुभयो । उहाँले एमसिसि परियोजना र संघीयताको समेत विरोध गर्नुभएको थियो ।

नेकपाका प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले भने प्रतिकूल परिस्थितीका बाबजुद प्रदेश सरकारले ७९ प्रतिसत वजेट खर्च गर्न सफल भएको भन्दै प्रदेश र स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाए मात्रै संघीयता बलियो हुने बिचार व्यक्त गर्नुभयो ।

मंगलबार बसेको प्रदेश सभाको छैठौं अधिबेशनको २५ औं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलको तफैबाट आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको थियो ।

आजै बसेको प्रदेश सभाको बैठकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले यसअघि प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै गलत कामको बिरोध र राम्रा कामको प्रसंसा गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रदेश सभाको अर्को बैठक यही असोज ७ गते बुधबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);