काठमाडौं, २३ भदौ । सरोकारवालाहरुले सरकारको व्यवस्थापकिय कमजोरीका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको बताएका छन । प्रयोगशालाको व्यवस्थापन, अतिआवश्यक स्वास्थ्य सामग्रीको गुणस्तर मापन र सरकारी विधि विधानका कारण संक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरुको भनाई छ ।
मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमा भएको छलफलमा नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालले प्रयोगशाला स्थापना भएपछि ल्याबको गुणस्तर जाँचमा सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो ।
छलफलमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले कोरोना महामारी सुरु भएको लामो समय वितिसक्दा पनि सरकारले आवश्यक स्वास्थ्य सामग्रीको गुणस्तर मापनका लागि कुनै संयन्त्र बनाउन नसकेको बताउनुभयो ।
त्यसैगरी नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा देवी निरौलाले दैनिक १२ घण्टासम्म विरामीको हेरचाहमा खटिने नर्सहरुको सुरक्षाको विषयमा राज्यले ध्यान दिन नसकेको गुनासो गर्नुभयो ।
उपसमितिको छलफलमा सरोकारवालहरुले पीपीइको उचित व्यवस्थापन, गुणस्तरिय स्वास्थ्य सामग्रीको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरणा जगाउनु पर्नेमा जोड दिएका थिए ।