यज्ञ अधिकारी र दिनेश खड्का,विराटनगर, ७ असोज । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा सुत्केरी गराउन पुगेकी महिला अस्पतालको लापर्बाहीका कारण जीवन–मरणको दोसाँधमा पुगेकी छन् । प्रसूति पश्चात स्वास्थकर्मीले दिएको हाइडोज मेडिसिनका कारण उनको आधा शरीर चल्न नसक्ने भएको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ७ निवासी सञ्जु साह नोबेल अस्पतालका चिकित्सकको लापर्बाहीको सिकार बनेकी छिन् । डेढ महिनाअघि प्रसूतिका लागि सामान्य अवस्थामा भर्ना भएकी साहको हाइडोज मेडिसिनका कारण अहिले कम्मरमुनि नचल्ने भएको छ । कम्मरभन्दा माथि पनि हात र टाउको लगायतका अंग चलाउन उनलाई निकै गाह्रो हुन थालेको छ । बिरामीका आफन्तसँगको गोप्य कुराकानीमा चिकित्सकले पनि गल्ती भएको स्वीकारेका छन् ।
अपरेसनमा संलग्न चिकित्सकले यसरी त्रुटी भएको स्वीकारिरहँदा अस्पताल प्रशासनले भने थाहा नपाएझैं गरिरहेको छ ।
चिकित्सकको लापर्बाहीले सञ्जु पूर्ण अपांग बनेकी छिन् भने उनको दूध सुकेका कारण नवजात शिशुको पनि केही दिनअघि निधन भइसकेको छ ।
कमजोर आर्थिक अवस्था भएको साह परिवार अब थप उपचार गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । कमजोर अवस्थाको फाइदा उठाउँदै अस्पतालले पनि उपचार खर्चमा १०–२० हजार घटाइदिने आश्वासन दिएर गल्ती लुकाउने प्रयास गरिरहेको परिवारजनले बताएका छन् । अस्पतालका यस्ता गैरजिम्मेवार क्रियाकलापमा सरकारको तत्काल ध्यान जाओस् ।