चिकित्सकको लापरबाहीले सुत्केरीको ज्यान जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चिकित्सकको लापरबाहीले सुत्केरीको ज्यान जोखिममा

mahila

सिराहा, २४ साउन । सिरहा–७ की मनतोरिया मण्डललाई सुत्केरी व्यथाले च्यापेपछि परिवारजनले जिल्ला अस्पताल सिरहा लगे।
मनतोरिया पहिलोपटक आमा बन्दै थिइन् । त्यही भएर सिरहा अस्पतालका चिकित्सकले शल्यक्रिया सुविधा भएको अस्पताल लग्न सुझाव दिए। मण्डल परिवारले मनतोरियालाई असार ३१ गत्ते लहानस्थित सप्तऋषि अस्पताल ल्यायो।

अस्पतालमा भर्ना भएको झन्डै २४ घण्टापछि (असार ३२ गते) चिकित्सकले मनतोरियाको शल्यक्रिया गर्नुपर्ने जानकारी परिवारलाई गराए । ‘छिटै शल्यक्रिया गर्नुपर्छ, तुरुन्त सहमतिपत्रमा हस्ताक्षर गरी मन्जुरी जनाउन भनेपछि हामीले शल्यक्रियाका लागि मन्जुरी दियौं’, मनतोरियाका पति श्रवण मण्डलले भने। शल्यक्रिया गरेर सकुशल बच्चा जन्मियो। बच्चा जन्मेको सात दिनपछि (साउन ७ गते) मनतोरियालाई औषधि दिएर अस्पालले डिस्चार्ज गर्यो। घर फर्केको दुईचार दिनमै मनतोरियालाई पेट पोल्ने, ढाडिने समस्या भएपछि आफन्त उनलाई लिएर सप्तऋषि अस्पतालमै आए।
‘राम्रो उपचारको आस गरेर अस्पताल पुगेको थिएँ, ज्यानै लिने खोजे। सप्तऋषि उपचार केन्द्रभन्दा पनि ज्यानमारा केन्द्र रहेछ। चिकित्सकले औषधी थपेर ‘निको हुन्छ’ भन्दै घर फर्काए । उनको समस्या झन्झन् बल्झिँदै गयो। पेट पोल्ने, ढाडिने समस्या बढेर दिसापिसाबसमेत बन्द भएपछि मण्डल परिवार अत्तालियो। ‘फेरि साउन १९ गते बिरामीलाई सप्तऋषि अस्पताल पुर्यायौं। चिकित्सकले जाँच पडताल गर्दा पेटभित्रै समस्या हुन सक्ने भन्दै विराटनगरको सुविधासम्पन्न अस्पताल लग्न भने’, श्रवणले भने, ‘अनि हामी हतारहतार विराटनगरको नोवल अस्पताल पुर्यायौं।’

त्यहाँ मनतोरियाको पेटको शल्यक्रिया भयो तर समस्या पत्ता लागेन। सुत्केरी गराउन सप्तऋषि अस्पतालले शल्यक्रिया गरेको ठाउँमा शल्यक्रिया गर्दा बल्ल चिकित्सकले समस्याको कारण पत्ता लगाए। नोवल अस्पतालमा पत्नीको कुरुवा बसेका श्रवणले नागरिकसँग भने, ‘सप्तऋषिका चिकित्सकले शल्यक्रिया गर्दा गज (कपडा) पेटभित्रै छोडर सिलाई गरिदिएका रहेछन्। उनीहरुले शल्यक्रियामा गरेको लापरबाही मेरी पत्नीको मृत्युको कारण बन्न सक्थ्यो।’ नोवलमा शल्यक्रिया गर्दा दुईवटा गज पेटभित्र फेलापरेको श्रवणले बताए। ‘अझै उनी (मनतोरिया) जीवनमरणको दोसाँधमा छिन्’, फोनमा श्रवणले भने, ‘उनी चार दिनदेखि आइसियू (सघन उपचार कक्ष) मा छिन्। घरिघरि पिलिक्क आँखा खोल्छिन्, फेरि बन्द गर्छिन्। आवाज निकालेर पीडा बताउन नसके पनि आँखाबाट आँसु चुहाएर पीडा पोखिरहेकी छिन्।’

सप्तऋषि अस्पतालको लापरबाहीले आफूले झन्डै पत्नी गुमाउनुपरेको उनले बताए। ‘राम्रो उपचारको आस गरेर अस्पताल पुगेको थिएँ, ज्यानै लिन खोजे । सप्तऋषि उपचार केन्द्रभन्दा पनि ज्यानमारा केन्द्र रहेछ’, उनले भने ।

सप्तऋषि अस्पतालका संस्थापक डा. पशुपति चौधरीले आफू र डा. सुनिलकुमार विराजीको टिमबाट असार ३२ गते बिहान ५ः३५ मा शल्यक्रिया भएको बताए। ‘शल्यक्रिया सफल भएको थियो। बच्चा पनि सकुशल थियो । सात दिन अस्पतालमा राखेर घर पठायौं। त्यसपछि टाँका कटाउन पनि यहीं आए। अचानक पेट ढाडिने, पोल्ने समस्या भयो’, उनले भने, ‘पछि दिसापिसाब पनि बन्द भएर यहाँ आएपछि हामीले आन्द्रा अवरुद्ध भएको शंका गरेर विराटनगर रेफर गरेका हौं । त्यहाँ पुनः शल्यक्रिया भएको थाहा पाएँ।’

मनतोरियाको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पतालबाट स्वास्थ्यकर्मी पठाएको उनले बताए। ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ’, उनले भने। आफूहरुले जानाजान कुनै गल्ती नगरेको दाबी पनि उनले गरे। शल्यक्रियाका बेला पेटभित्रै गज छुटेको घटनालाई अस्वीकार गर्न भने उनले सकेनन्। ‘सिडिओ (प्रमुख जिल्ला अधिकारी) ले घटनाबारे अनुसन्धान गर्दैछन्। यथार्थ बाहिर आइहाल्छ’, उनले भने।

सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले घटनाबारे पीडितले मौखिक जानकारी गराएको बताए। ‘लिखित जाहेरी लिएर आउन भनेको छु’, उनले भने, ‘लिखित जाहेरी आएपछि कारबाही अघि बढाउँछु।’ मनतोरियाका भिनाजु रामहरि मण्डलले मेडिकल रिपोर्टलगायतका कागजात संलग्न गरी जाहेरी दिने तयारी गरेको बताए। ‘सिडिओ साबलाई मौखिक जाहेरी गराइसकेको छु’, उनले भने, ‘हामीलाई सप्तऋषि अस्पताल पक्षबाट विभिन्नखाले प्रलोभन दिइँदैछ तर हामी कानुनी कारबाहीको पक्षमा छौं।’ चिकित्सकको लापरबाहीले मनतोरियाको जीवन जोखिममा परेपछि उनका आफन्तले सामाजिक सञ्जालमार्फत सम्बन्धित निकायसमक्ष निसाफका लागि गुहार मागेका छन्। आजको नागरिक दैनिकमा खवर छापिएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);