मादल बिक्रीबाट वार्षिक २ लाख रुपैयाँ कमाई | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गोपाल पोखरेल, उदयपुर, ७ असोज ।  उदयपुरको त्रियुगा नगरपालिका– ३, खैजनपुरका भेषबहादुर विसंखेलाई मादल बनाउन भ्याइनभ्याई छ । मादल बिक्रीको सिजन सुरु भइसकेकाले बिहान झिसमिसेदेखि बेलुकी साँझसम्म उनी मादल बनाउँनै व्यस्त हुन्छन् । आफूले मात्रै बजार मागअनुसार मादल तयार गर्न नसकेपछि भेषबहादुरले आफ्नै मामालाई मासिक १७ हजार रुपैयाँ तलब दिएर मादल बनाउने काममा लगाएका छन् ।

सानै उमेरमा घरबाट भागेर भारतको पटना पुगेका भेषबहादुरले त्यहाँका एक जना चमार थरका मादल व्यावसायीसँग काम गर्न थाले । पटनामा करीब १० बर्ष बस्दा उनले ६४ प्रकारका बाजा बनाउन सिके । त्यसपछि काठमाडौंको एक मादल पसलमा करीब ३ बर्ष बसेर तलवमा काम गरेका उनी ५ बर्ष अघि आफ्नै घर आए र व्यावसायिकरुपमा मादल तथा अन्य बाद्यवादनका सामग्री तयार गर्न थाले ।

बार्षिक करीव २ सय थान मादल र ५ दर्जनको हाराहारीमा ढोल, ढ्याङग्रो, नाल, ड्रमसेट, ट्याम्को, डम्फुलगायतका बाजा बिक्री गर्दै आएका बिसंखेलाई सामान बिक्रीका लागि बजार अभाव छैन । सामग्री तयार हुनुभन्दा अगाडि नै गाईघाट, फत्तेपुर, बेल्टारलगायतका बजारका व्यापारी घरमै आएर बैना छाडेर जाने गर्छन् । विशेषगरी हिजोआज गाउँघरमा हुने हरेका उत्सव तथा पर्वका प्रयोग हुने अनिबार्य बाजा नै बनिसकेकाले मादलको बिक्री बाह्रै महिना हुने गरेको उनले बताए ।

काठ र छाला ठिक रहेको अबस्थामा एक दिनमा ६ वटा मादल कस्न सकिने भेषबहादुरका मामा बिर्खबहादुर मोदेल बताउँछन् । दुई वर्षदेखि मादल कस्ने काम गर्दै आएका उनी मासिक १७ हजार रुपैयाँ कमाइ गर्छन् ।

प्रतिगोटा २ हजारदेखि ५ हजार रुपैयाँसम्ममा मादल बिक्री गर्ने भेषबहादुर यही पेसाबाट वार्षिक २ लाख रुपैयाँ कमाइ गरिरहेका छन् । सात छोरी, एक छोरा र आमासहित ११ जनाको परिवार धानेर बचेको पैसाले उनले पक्की घरसमेत बनाउन थालेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);