एजेन्सी, ९ भदौ । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलार्ई विषाक्त पदार्थ खुवाएको खुलासा भएको छ । जर्मनीको बर्लिनस्थित च्यारिते अस्पतालले नाभाल्नीलाई विषाक्त पदार्थ खुवाइएको पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
रूसमा भने नाभाल्नीको उपचारमा संलग्न चिकित्सकहरुले विषाक्त पदार्थ नदेखिएको बताएका थिए । रूसको आन्तरिक उडानमा रहेका बेला गत बिहीबार अकस्मात बिरामी हुनुभएका नाभाल्नीलाई साइवेरियास्थित अस्पताल भर्ना गरिएको थियो । उहाँँको स्वास्थ्य अवस्था गम्भीर बनेपछि कोमामा राखेर उपचार गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएको तथा जोखिम बढेको भन्दै उहाँलाइ गत शनिबार जर्मनी लगिएको थियो ।
नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन् । ४४ वर्षीय नाभाल्नी रुसी सत्ताको कट्टर आलोचक हुनुहन्छ ।




