ओपिडी सेवा बन्द हुँदा चार लाख बिरामी स्वास्थ्य सेवाबाट वञ्चित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओपिडी सेवा बन्द हुँदा चार लाख बिरामी स्वास्थ्य सेवाबाट वञ्चित

काठमाडौँ, ७ असोज । उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानुन बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ।

ओपिडी सेवा बन्द हुँदा करिब चार लाख बिरामी सेवाबाट बन्चित भएका छन्। स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख दीपेन्द्ररमण सिंहले तीन लाख ८२ हजार तीन सय बिरामीले उपचार नपाएको बताए।

निर्णय फिर्ता नहुँदासम्म ओपिडी बन्द

नेपाल चिकित्सक संघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ।

कति छन् अस्पताल ?

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८३ जिल्ला अस्पताल, १८ अञ्चल अस्पताल, सात केन्द्रीय अस्पताल, १९९ हेल्थ पोस्ट र ३२ सय स्वास्थ्य चौकी छन्। निजी अस्पतालको संख्या ३१६ छ। उपसचिव लामिछानेले धेरै निजी नर्सिङहोम, क्लिनिकलाई यसमा समावेश नगरिएको बताए।

‘निर्णयबारे मलाई जानकारी छैन’

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले २ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसँग सम्बन्धित विषयमा गरेको निर्णयबारे आफू जानकार नभएको बताए।

आन्दोलनप्रति सरकारको ध्यानाकर्षण
सरकारले चिकित्सकको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा आएका समाचारलाई लिएर चिकित्सकहरू आन्दोलित भएको भन्दै सरकारको २ भदौको निर्णयबारे स्पष्ट पारेको छ।

‘चिकित्सकको चरम लापरबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बिमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने भनी निर्णय गरिएको छ,’ प्रधानमन्त्री कार्यालयले सरकारको निर्णय विज्ञप्तिमा उल्लेख छ । तर, मन्त्रिपरिषद् कार्यालयको विज्ञप्तिप्रति चिकित्सक संघले आपत्ति जनाएको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);