सिन्धुली, ६ असोज । सिन्धुलीमा शुक्रबारबाट पहिलो पटक सामाजिक स्वास्थ्य सुरक्षा बिमा सुरु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा जिल्लाका नौवटै स्थानीय तहमा स्वास्थ्य विमा कार्यक्रम सुरु गरिएको हो । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यक्रमअनुसार पाँच जनासम्म सदस्य रहेका परिवारका लागि वापर्षक २५ सय रुपैयाँमा स्वास्थ्य सुरक्षा बिमा गरिनेछ ।
पाँच जनाभन्दा बढी परिवारका सदस्यका लागि प्रतिव्यक्ति चार सय २५ थप वार्षिक बिमा शुल्क लाग्नेछ । बिमाका लागि कार्यक्रमले ९३ जना दर्ता सहयोगी परिचालन गर्दै छ । नौ वटै स्थानीय तहका ७९ वटा वडामा पुगेर ती सहयोगीले स्वास्थ्य बिमा गराउनेछन् ।
बिमापश्चात् पाँच जनासम्मको परिवारलाई वार्षिक ५० हजारसम्म उपचार खर्च उपलब्ध गराउने र त्यसभन्दा बढी सदस्यसहितका परिवारलाई थप १० हजार उपचार खर्च सामाजिक स्वस्थ्य सुरक्षा विकास समितिले उपलब्ध गराउने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका जिल्ला प्रवन्धक प्रकाश थपलियाले जानकारी दिनुभयो ।