फाइल तस्बिर –
काठमाडौँ, ५ असोज । दसैं नजिकिएसँगै काठमाडौंमा मरेका खसीबोका भित्रिन थालेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाले गाडीमा ल्याउँदै गरेको अवस्थामा बिहीबार २८ वटा मरेका खसी-बोका फेला पारेको छ ।
सवारी चेकजाँच गर्ने क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा २८ वटा मृत खसी-बोका बरामद भएको प्रहरीले जनाएको छ । ४१ वटा खसीबोका ल्याउँदै गरेकामा २८ वटा मरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
पशुपक्षी ऐन २०५५ र नियमावली २०५६ अनुसार मरेका खसी-बोका ओसारपसार तथा बिक्री वितरण गरेको पाइएमा प्रति खसी-बोका ५०० देखि ५००० जरिवाना गर्ने व्यवस्था छ ।
गाडीमा ल्याउँदै गर्दा उक्त परिणामका खसी-बोका च्यापिएर मरेका हुन् वा नियतबस मरेकै खसीबोका काठमाडौं ल्याइएको हो भन्ने सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।




