काठमाडौं, ८ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा नाबी कोइटा, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, जर्जिनियो विजनाल्डम, रोबर्टो फिर्मिन्हो र एलेक्स चेम्बरलेनले गोल गरे । यता, चेल्सीका लागि ओलिभर जिराउड, टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल फर्काएका थिए। खेलको २३ औं मिनेटमा कोइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यस्तै ३८ औं मिनेटमा एलेक्सजेन्डर र ४३ औं मिनेटमा विजनाल्डमले गोल गर्दा लिभरपुल ३–० गोलले अघि रहेको थियो। तर पहिलो हाफको अन्तिम समयमा जिराउडले गोल गर्दै चेल्सीलाई ३–१ गोलको स्थितिमा ल्याए । खेलको ५४ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ४–१ गोलको अग्रता दिलाए।
यता चेल्सीका लागि भने खेलको ६१ औं मिनेटमा अब्राहम र ७३ औं मिनेटमा पुलिसिकले गोल गर्दै ४–३ को स्थितिमा ल्याए। तर खेलको ८४ औं मिनेटमा चेम्बरलेनले गोल गर्दै लिभरपुललाई ५–३ गोलको जित दिलाए ।
यसअघि नै उपाधि जितिसकेको लिभरपुलले ३७ खेलबाट ९६ अंक बनाएको छ भने चेल्सीको ३७ खेलबाट ६३ अंक छ ।