जनकपुरधाम, ७ साउन । असार मसान्त सम्पन्न भए पछि पनि सडक मर्मतको काम नहुँदा हिलोमा हिड्न बाध्य भएका धनुषा हंसपुर नगरपालिकाका युवाहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् । जिल्लाको हंसपुर नगरपालिका–८ स्थित भतहि सडकखण्ड वर्षातको मौसम शुरु भएसँगै हिलाम्य भई आवतजावतमा समस्या उत्पन्न भएपछि विरोध स्वरूप स्थानीयवासीले सडकमै धान रोपेका छन् ।
भतहिस्थित हिलाम्य सडकमा उनीहरूले धान रोपेर विरोध जनाएका हुन् । सडक हिलाम्य भएर आवागमनमा सास्ती हुँदा समेत जनप्रतिनिधिले बाटो मर्मतमा कुनै चासो नदेखाएपछि सांकेतिक विरोध स्वरूप हिलाम्य बाटोमै धान रोपेको स्थानीयले बताए ।
स्थानीय सोनु साहले भने, ‘सडक मर्मतका लागि मेयर रामज्ञान मण्डल र वडाध्यक्ष जिवछ मण्डललाई पटक पटक जानकारी गराउँदा समेत उनीहरुले कुनै सुनुवाइ गरेका छैनन् । सोही सडकखण्ड हुँदै गाउँका बासिन्दालाई आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।’
वर्षायाम सुरु भएकोले सडक हिलाम्य बनेको उनको भनाई छ । उनीहरुले नगरपालिकाका जनप्रतिनीधिहरुको ध्यानाकर्षण गराउनका लागि आफुहरुले बाटोमै धान रोपेको बताएका छन् ।
बाटो बनाइदिने प्रतिबद्धताका साथ चुनाव जितेका जनप्रतिनीधिहरुले अहिलेसम्म बाटो नबनाएकोमा त्यहाँका युवाहरुले बाटोमा धान रोपेर समस्यालाई सार्वजनिक गरेका छन् ।