लमजुङ पहिरो : प्रभावितलाई विधालयमा राखिने, राहत लिएर जाँदै प्रजिअ शर्मा | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

लमजुङ पहिरो : प्रभावितलाई विधालयमा राखिने, राहत लिएर जाँदै प्रजिअ शर्मा

काठमाडौं, ७ साउन । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर–३ को पल्लोटारीमा गएको भीषण पहिरोबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा राखिने भएको छ।

पहिरोग्रस्त क्षेत्रदेखि नजिकको अमर मा.वि.मा पहिरो प्रभावितहरूलाई राखिने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो। पहिरोग्रस्त क्षेत्र नजिक पनि करिब २५ वटा घर पहिरोको उच्च जोखिममा रहेको छन्।

अध्यक्ष गुरुङले हाल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरूले पहिरोका कारणा क्षतिग्रस्त भएका घरहरूबाट सामग्रीहरू निकाल्ने काम भइरहेको इमाउन्टेन टिभी डटकमलाई बताउनुभयो।

बिहान साढे १० बजेतिर पहिरो गएको हो। पहिरो सोमबार बेलुकीदेखि नै अलिअलि झरिरहेको भएपनि बिहान भने भीषण पहिरो गएको हो।
पहिरोग्रस्त क्षेत्रबाट मानिसहरूलाई बुधबार बिहानै अन्यन्त्र सारिएकोले मानवीय क्षति कम भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो।

‘प्रभावितहरूलाई सुरक्षित स्थानमा राखेर खाने र बस्ने व्यवस्था मिलाउँछौं, आजदेखि नै राख्छौं र म खाधन्न सामग्रीसहित भाँडाकुँडा, त्रिपाल र पाललगायत लिएर जाँदैछु’, प्रजिअ शर्माले भन्नुभयो, ‘बिहानै स–सानो पहिरो झर्न थालेपछि हामीले अन्त्यत्रै सार्न लगायौं र त्यसले गर्दा मानवीय क्षति हुन पाएन।’

बिहान भने पहिरोग्रस्त क्षेत्रमा वर्षा भएको थियो। अहिले वर्षा रोकिएकाले राहत तथा उद्दारका काम भइरहेको प्रजिअ शर्माले बताउनुभयो।
पहिरोमा परी १८ घर पुरिँदा ८ जना घाइते भएका छन्।

घाइतेमध्ये १८ वर्षीय सुजन अछामी र २५ वर्षीया सिर्जना गोतामेको सामुदायिक अस्पताल बेंशीशहरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेको छ।