कञ्चनपुर, ७ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका र नेपाली सेनाको लगानी रहेको बाल उद्यान निर्माणमा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । भीमदत्त नगरपालिका–१६ सरस्वती मा.बि को जग्गा परखेडीमा ४५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको सरस्वती बाल उद्यानमा अनियमितता भएको भन्दै मगंलबार स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उपभोक्ता समितिले विदेशमा रहेका तथा काममा संलग्न नरहेका व्यक्तिहरुको नाममा भुक्तानी लिएको विवरण नगरपालिकामा पेश गरिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । स्थानीय कुशल सिहले बाल उद्यान निर्माणमा आफुले ७ दिन मात्र काम गरेको तर, नगरपालिकामा पेश गरेको विवरणमा ३१ दिन काम गरेर १५ हजार ५ सय भुक्तानी लिएको उल्लेख गरिएको कारण ब्यापक अनियमितता भएको खुलेको हो ।
बाल उद्यान निर्माण उपभोक्ता समितिले नगरपालिकामा पेश गरेको विवरणमा ६१ जनाले ३१ दिन काम गरि प्रत्येकले ५ हजार ५ सय रुपैयाँ भुक्तानी लिएको देखिन्छ । तर अधिकांशले आफूहरुले ३१ दिन काम नगरेको बताएका छन् ।
भीमदत्त नगरपालिका १६ का वडाध्यक्ष सुरेन्द्र विष्टले भ्रष्टाचार भएको आरोप निराधार भएको बताउनु भयो । बाल उद्यान निर्माण समितिका पदाधिकारीलाई कारबाहीको माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।उपभोक्ता समितिका पदाधिकारीलाई कारबाही नहुँदासम्म तालाबन्दी यथावत राखिने स्थानीयको भनाई छ ।