काठमाडौं, ५ साउन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार दुबै सदनका समितिका सभापतिहरूसँग संयुक्त छलफल गर्नुभएको छ ।
समितिका काम कारबाही, समस्या, समाधानका उपाय, समन्वय र क्षेत्राधिकार लगायतका विषयमा छलफल सभामुख र अध्यक्षले छलफल गर्नु भएको हो ।
छलफलमा सभापतिहरूले समितिहरूबीच समन्वयको अभाव भएको, कोरोनाका कारण बैठक सञ्चालनका लागि समस्या भएको बताएका थिए ।
दुबै सदनका गरी १६ वटा समिति भएका कारण भौतिक दूरी कायम गरी बैठक सञ्चालन गर्न हलको अभाव भएको, उपकरण अभाव भएको लगायतका समस्या सभापतिहरूले सुनाएको सभामुख सापकोटाले बताउनुभयो ।
कार्यक्षेत्र जोडिएका समितिहरूबीच समन्वय अभावका कारण समस्या उत्पन्न हुने गरेको छ । त्यस्ता समितिहरूका सन्दर्भमा आवश्यक थप छलफल गरी निर्णय गर्ने समझदारी पनि बनेको पनि सभामुख सापकोटाले जानकारी दिनुभयो ।