चितवन, ५ साउन । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । सोमबार पानीको सतहले खतराको तह पार गरेपछि चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ ।
निरन्तर वर्षा भइरहेका कारण सबैलाई सजग रहन चितवन प्रशासनले आग्रह गरेको हो । जल मापन केन्द्र देवघाटका अनुसार देवघाट नजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ ।
सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ । नारायणगढ पुल नजिक भने पानीको सतह चेतावनी विन्दुमा रहेको जनाइएको छ ।
नारायणी पुल नजिक नदीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ । पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ । नारायणी नदीमा बाढी आउँदा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा रहने बताइएको छ ।