काठमाडौं, २ साउन ।इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति वेष्टह्याम युनाइटेड र वाट्फोर्डबीच प्रतिस्पर्धा हुँदैछ।
दुबै टिमबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । रेलिगेसनको खतरामा रहेका यी दुई टिममध्ये एउटाले जितेको खण्डमा रेलिगेसनबाट जोगिनेछ ।
वेष्टह्याम र वाट्फोर्ड समान ३४ अंकसहित क्रमशः १६ र १७ औं स्थानमा छन् । अहिले रेलिगेसन जोनमा रहेका एएफसी बर्नमाउथ र एस्टन भिल्लाको समान ३१–३१ अंक छ ।
दुबै टिमले ३६ खेल खेलिसकेका छन् । आजको खेल जित्ने टोलीले ३७ अंक बनाउनेछ, जसका कारण उसको प्रिमियर लिगको अर्को सिजन पक्का हुनेछ ।
खेल बराबरीमा सकिएमा भने रेलिगेसन जोनका टिमको पनि सम्भावना जीवित रहनेछ । लिगमा ३५ खेल सकिँदा वेष्टह्यामको माइनस १५ गोल छ भने वाट्फोर्ड माइनस २१ गोलसँगै पछि छ ।