करदातालाई सम्मानजनक व्यवहार गर्न अर्थमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

करदातालाई सम्मानजनक व्यवहार गर्न अर्थमन्त्रीको निर्देशन

arthamantri-kar diwas

काठमाडौं, १ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजश्व विभागले २० लाख भन्दा कम कारोबार गर्ने र २ लाख सम्मको आम्दानी गर्ने करदाताका लागि बिहीबार देखि सुरु गरेको नयाँ कर प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुभएको हो ।

अर्थमन्त्री खतिवडाले जबसम्म प्रविधि, कानून र सुशासनको कारणले करदाता मैत्री वातावरण निर्माण गर्न सकिदैन तबसम्म करदाताले अपमानित महसुस गर्ने भएकाले करदातालाई गरिने व्यवहारमा सुधार ल्याउन आग्रह गर्नुभयो । उहाँले आजदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अंक, ब्याज र जरिबाना सफ्टवेरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अंकहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । यस्तै करको रकम यकिन भइसकेपछि पनि कर बुझाउन निकै लामो झण्झटीले प्रक्रियामा जानुपर्ने अवस्थाको पनि अन्त्य भएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आज देखि लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने बताउनुभयो । नयाँ प्रणालीले करिब ५ लाख करदाता लाभांवित हुने उहाँले बताउनुभयो । यसबाट करदाताको सहभागिता बढाउन सहयोग पुग्ने विश्वा पुडासैनीले गर्नुभयो ।

आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले आन्तरिक राजश्व विभागका सबै कारोबारलाई प्रविधि मैत्री बनाउने धेयका साथ काम गरिएको बताउनुभयो । आज देखि लागू भएको प्रणालीले करिब ५ लाख करदातालाई कर कार्यालय नगईकन कर बुझाउन सक्ने व्यवस्था भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटले परिवर्तन गरेका आयकरका विषयहरुलाई समावेस गरी आयकर निर्देशिका आजैबाट लागू गरिएको पनि जानकारी गराउनुभयो ।

बायोमेट्रिक प्रणाली र विभिन्न जिल्लामा १० वटा नयाँ करदाता कार्यालयको सञ्चालन पनि आजैदेखि सुरु गरिएको कुँवरले बताउनुभयो । सबै व्यवसायीक कोडलाई व्यवस्थित गर्ने नेपाल स्टाण्डर्ड इन्ड्रष्ट्रीयल क्लासिफिकेसन (एनएसआईसी) लागू भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नागरिक एप सँग समन्वय गरी आजैका दिनदेखि विद्युतिय माध्यमबाट करदाता कार्यालयमा नगईकन व्यक्तिगत प्यान नम्बर लिन सकिने व्यवस्था मिलाईएको पनि कुँवरले बताउनुभयो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत २० लाख भन्दा कम कारोबार गर्ने र दुई लाख सम्म आय हुनेहरुका लागि कर चुक्ता गर्न नयाँ प्रणालीको विकास गरिने व्यवस्था गरिएको थियो । सोही व्यवस्था अनुसार आन्तरिक राजश्व विभागले आज देखि नै नयाँ कर प्रणालीलाई कार्यान्वयनमा ल्याएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);