काठमाडाैं,२३ असार । नेपालका कुल लागु औषध प्रयोगकर्ता मध्ये ४० प्रतिशतले बेरोजगारीका कारण लागू औषध प्रयोग गरेको एक अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागको सहयोगमा गुहमन्त्रालयले गरेको अध्ययन अनुसार रोजगारीको सिर्जना गर्न सके लागू औषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने उल्लेख छ ।
सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न सके लागू औषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा गृहमन्त्रालयले गरेको अध्ययनले देखाएको छ । मंगलबार सार्वजनिक गरिएको अध्ययन प्रतिबेदनले लागू औषध प्रयोग गर्ने मध्य झण्डै ४० प्रतिशत व्यक्तिले बेरोगजारीका कारण प्रयोग गर्ने गरेकोले सरकारले रोजगारी सिर्जनाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने देखाएको हो ।
सीमानाकामा चेकजाँच बढाउने, सचेतना कार्यक्रम गर्ने, निःशूल्क उपचारको व्यवस्था गर्ने र सीप विकासका कार्यक्रम गर्न सके लागू औषधको प्रयोग घटनाउन सकिने अध्ययनले देखाएको छ । कुल प्रयोगगकर्ता मध्ये ३९ दशमलव ७ प्रतिशत बेरोजगारी, १५ दशमलव ९ प्रतिशत व्यापार र १५ दशमलव ६ प्रतिशत दैनिक ज्यालादारी गर्ने व्यक्ति रहेका छन् । यसैगरी नोकरी गर्ने, ११ दशमलव ७, अध्ययन ८ दशमलव ७, वैदेशिक रोजगारीमा रहेका ४ दशमलव १, कृषि क्षेत्रमा ३ र अन्य क्षेत्रमा कार्यरत शून्य दशमलव ६ प्रतिशत लागू औषध प्रयोगकर्ता रहेका छन् ।
गृहमन्त्रालय लागू औषध विभागका प्रमुख एवं उपसचिव झंकनाथ ढकालका अनुसार लागू औषध प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको छ।अध्ययन अनुसार विक्रम सम्बत. २०६९ को तुलनामा २०७६ सालमा ५ दशमलव ६ प्रतिशतले प्रयोगकर्ताको संख्या बढेको छ । २०६९ मा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता रहेकोमा २०७६ सालमा गरिएको अध्ययनले त्यो संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको देखाएको छ।
उक्त अध्ययन प्रतिबेदन सार्वजनिक गर्दै गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको बताउनुभयो । गृहमन्त्री थापाले युवाशक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो । लागू औषध नियन्त्रणका लागि एकताबद्ध भएर योजनावद्ध रुपमा लगाडी बढ्न संकल्प लिनुपर्ने गृहमन्त्री थापाको भनाई छ ।