काठमाडौँ, ५ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन शुरु हुने नेपालीहरुको महान् पर्व वडा दशैं आजबाट सुरु भएको हो।
दशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । वडा दशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।
गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा नजिकको नदी वा चोखो स्थलबाट माटो ल्याई आज विधिपूर्वक त्यसमाथि जौ रोप्ने गरिन्छ। यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज जौ रोपी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाउने परम्परा छ।
आजैका दिन विधिपूर्वक घट (घडा) स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद लगाइन्छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर ४१ मिनेटमा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिले यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको जनाएको छ।




