एजेन्सी, २१ असार । जापानमा भारी बर्षापछी आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने ९ जना हराइरहेका छन् । जापानको क्युसु द्धीप र कुमामोटो प्रान्तमा आएको बाढी पहिरोका कारण लाखौं सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
कुमामोटो प्रान्तको कुमा नदीको बहाव बढेर बस्तीमा समेत प्रवेश गरेकोले त्यहाँका सर्वसाधारण थप मारमा परेका छन् । जापानको तकिनुई जिल्लाका आठ वटा घर बाढीले बगाएको छ । यसैबीच जापानका प्रधानमन्त्री सिन्जो आबेले देशमा आएको बिपत नियन्त्रण र उद्धारका लागि १० हजार सैनिक परिचालन गरिएको जानकारी दिंदै सबै नागरिकहरुलाई सचेत रहन आग्रह गर्नुभएको छ ।
बाढी पहिरोका कारण हजारौं घर डुबानमा परेका छन् भने सयौं सवारीसाधनहरु पुरिएका छन् । सेना र हेलिकप्टरको सहायताले बाढी पहिरोमा हराइरहेकाहरुको ब्यापक खोजी कार्य भइरहेको छ ।