दाङ, १७ असार । दाङमा आइतबारबाट थोरै मात्रामा देखिएको सलह किरा मंगलबारदेखि विभिन्न ठाउँमा ठूलो झुण्डमा देखा परेको छ । केही दिन अघि नेपाल प्रवेश गरेको सलह किरा जिल्लाको तुलसीपुर, घोराही, लमही, बंगलाचुली, शान्तिनगर लगाएतका विभिन्न क्षेत्रमा देखा परेको किसानहरुले बताएका छन् ।
कोरोना महामारीको संकटको समयमा सलह किराले विशेष गरी मकै तथा तरकारी बालीमा पनि क्षति पुर्याउन थालेपछि किसान थप चिन्तित बनेका छन् । दाङको तुलसीपुर १२ कचिलाका खुशीराम चौधरीले मंगलबार बेलुकादेखि उक्त क्षेत्रमो सलह देखिएको बताउनुभयो । उक्त क्षेत्रका करिब ६ सय विगाह जमिनमा रोपिएको मकैमा सलह देखा परेको छ ।
त्यसैगरी सोही ठाउँका लक्ष्मण चौधरीले सलह किराले मकै नष्ट गर्दै जादाँ आफू चिन्तित भएको बताउनुभयो । उहाँले पहिलो पटक यो किरा देखेको र यो किराले मकैलाई नष्ट गरिदिए आफुहरुले के खाने भन्दै दुखेसो ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले मकैलाई खादैछ, त्यसपछि धान खान्छ होला । ‘
दाङमा मंगलबार दिउँसो देखि ठूलो संख्यामा सलह किरा प्रवेश गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । दाङका १० वटै स्थानीय तहमा सलह किरा देखा परेको केन्द्रका कृषि प्रसार अधिकृत भरतमणि पोखरेले बताउनुभयो । हालसम्म जिल्लाका २५ प्रतिशत भन्दा बढी मकै बालीमा किराले क्षति पुर्याएको उहाँले बताउनुभयो ।