समाचार | Page 2033 of 5934 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

समाचार

एआईजी बढुवा प्रकरण : सर्वाेच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलायो 

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिटमा कारण देखाउ आदेशसहित छलफलमा बोलाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले प्रतिवादीहरूलाई अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई २८ चैतमा बोलाएको छ ।

अन्तरिम आदेशबारे छलफल गर्न २८ चैतमा दुवै पक्षलाई बोलाइएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उनका अनुसार वरीयताअनुसार किन बढुवा भएन भन्ने प्रश्नमा आधारित रहेर छलफल हुनेछ ।

यही १७ चैतमा डीआईजी ईश्वरबाबु कार्की, २० चैतमा घनश्याम अर्याल र प्रकाशजंग कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । उनीहरूले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले सोही दिन डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे संयोजक रहेको बढुवा समितिले १ चैतमा बढुवा सिफारिस गरेको थियो ।

तर, उनीहरूभन्द वरीयतामा डीआईजी कार्कीसँगै अन्य डीआईजीहरू घनश्याम अर्याल र प्रकाश कार्कीअघि थिए ।  पाण्डे नेतृत्वको समितिले वरियता मिचेर बढुवा सिफारिस गरेको भन्दै डीआईजी कार्कीलगायत सर्वोच्च पुगेका हुन् ।

वडा कार्यालय तोडफोड, चार पक्राउ

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार वडा कार्यालय तोडफोड भएको छ । वडा कार्यालयको दुई तले भवनको सभाहलका रूपमा प्रयोग भइरहेको भुइँतलाको कोठामा तोडफोड भएको हो । सोमबार राती स्थानीय युवाले वडा कार्यालयको ताला तोडेर तोडफोड गरेका हुन् ।

तोडफोडबाट प्लास्टिकका १७ वटा कुर्सी, काठका तीन वटा बेन्च, प्लास्टिकका एक वटा टेबल, एक थान ह्वाइटबोर्ड, भइपरी आउँदा प्रयोग गर्न राखिएको दुई वटा हेलमेट, दुई थान पावर सकेट लगायत सामानमा क्षति पुगेको वडाध्यक्ष भलाराज राईले बताए ।

यस्तै, हरेक महिनाको २७ गते वितरण गर्नेगरी राखिएको आयुर्वेदको औषधि छरपस्ट अवस्थामा भेटिएको छ । पानी भरेर राख्ने गरिएको एक थान सिलभरको गाग्रो कच्याककुचुक भएको पाइएको छ ।

वडा कार्यालयको दुई तले भवनको माथिल्लो तलाबाट भने वडाको कामकाज सञ्चालन हुँदैआएको छ । तोडफोडमा संलग्न भएको अभियोगमा चार युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए । घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिरासतभित्रै युवकको आत्महत्या प्रयास, परिवारद्वारा छानबिनको माग

बुटवल । बुटवलमा प्रहरी हिरासतमा रहेका एक युवकले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । वडा प्रहरी कार्यालय रामनगर बुटवलको हिरासतमा रहेका बुटवल–११ देवीनगरका रुद्रबहादुर नेपालीले सोमबार आत्महत्याको प्रयास गरेका हुन् ।

तामाको तार चोरी गरेको अभियोगमा पक्राउ परेका उनी सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

उनलाई शनिबार साँझ प्रहरीले तामाको तार चोरी गरेको अभियोगमा पक्राउ गरेको थियो । बुटवल औद्योगिक क्षेत्र तथा विभिन्न स्थानबाट तामाको तार चोरी भएको गुनासो बढेपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले नेपालीलाई तीन किलो तामाको तार कवाडीलाई बिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरी नायव उपरीक्षक केसीका अनुसार सोही घटनाको अनुसन्धानका क्रममा नेपालीलाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । तीनदेखि हिरासतमा रहेका नेपाली एक्कासि घाँटी रेटिएको अवस्थामा फेला परेको डीएसपी केसीले बताए ।

हिरासतमा एक्लै रहेका नेपालीले आत्महत्या गर्ने उद्देश्यले शौचालयको साइफन फुटालेर घाँटी रेटेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शौचालयको साइफन फुटेको र त्यसको टुक्रा नभेटिएको केसीले जानकारी दिए ।

घाँटीमा गहिरो चोट लागेका नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ । उनको परिवारले भने हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला पर्नु गम्भीर विषय भएको बताएको छ । नेपालीकी दिदी मनकुमारीले हिरासतभित्र जिउ ज्यानको सुरक्षाको जिम्मा प्रहरीको रहेको भन्दै घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरिन् । घाइते नेपालीले लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइकर्मीको रूपमा कार्यरत थिए ।

सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन गर्न भारतले ४.११ करोड दिने 

काठमाडौं । सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारतले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि मंगलबार काठमाडौंस्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

‘यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाईको व्यवस्था गर्नेछ,’ काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २००३ यता भारतले नेपाला ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । तीमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

‘यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नितका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ,’ दूतावासले भनेको छ ।

बाँकेमा बसबाट खसेर परिचालकको मृत्यु 

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मा मंगलबार बसको ढोकाबाट खसेर परिचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय विनोद आचार्य रहेका छन् । बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका अचार्यको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काकरभिट्टाबाट सुर्खेततर्फ आउँदै गरेको ना ५ ख ३८३६ नम्बरको बसको ढोकाबाट आज बिहान साढे ११ बजे परिचालक आचार्य अचानक खसेका थिए । बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरले नियन्त्रणमा लिएको छ ।

चाेभार सुख्खा बन्दरगाहले आयात निर्यातलाई थप सहज बनाउँछः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारबाट सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहले देशको आयात निर्यातलाई थप सहज बनाउने बताएका छन् ।

‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ बन्दरगाएको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले भने, ‘बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यातलाई थप सहज बनाउने छ ।’

चोभार सुख्खा बन्दरगाहको विशेष महत्व रहेको उनले जनाए । बन्दरगाहले व्यापारलाई सहजीकरण गर्नुकासाथै पारदर्शी पनि बनाउने उनले बताए ।

२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो ।

विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो ।

निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।

होहल्लापछि निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै भएन : एमाले 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै नपाएको बताएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको आचारसंहिताप्रति प्रतिबद्धता जनाउने विषयमा मंगलबार निर्वाचन आयोगले दलहरूलाई डाकेको थियो ।

तर, त्यहाँ निर्वाचन आचारसंहिताको विषयलाई लिएर होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नभएपछि एमालेका प्रतिनिधि आयोग कार्यालयबाट बाहिरिएका थिए । ‘होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नै भएन । त्यसपछि हामी हस्ताक्षर नगरी बाहिरियौँ,’ एमाले कानुन विभाग प्रमुख रमेश बडालले भने ।

आयोगले बोलाएको आचारसंहितासम्बन्धी छलफलमा सहभागी हुन बडाल र एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोगको कार्यालय पुगेका थिए । तर, आचारसंहिताको विषयमा विवाद भएपछि हस्ताक्षर नगरी फर्किएको बडालले बताए ।

‘छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकाले एमालेले आज कुनै हस्ताक्षर गरेन,’ उनले भने, ‘शान्त र उचित वातावरण बनाउँदै छलफल गर्ने र सबै दलको विचार सुनुवाइ गरेर अगाडि बढ्न आयोगलाई आग्रह गर्छु ।’

सेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सबै परिसूचक राताम्मे भएको छ । मंगलबार नेप्से ४६ दशमलब ५६ अंकले घटेर २४५२ दशमलब ०६ बिन्दुमा आएर बजार बन्द भएको छ । मंगलबार कारोबार रकममा भने केही सुधार आएको छ। सोमबार एक अर्ब ५८ करोड बराबरको कारोबार भएको थियो ।

आज भने २२८ वटा कम्पनीको सेयर कारोबार हुँदा दुई अर्ब ६७ करोड बराबरको भएको छ। बजार घट्नेक्रम जारी रहँदा पनि राष्ट्रिय उत्थान लघुवित्त र नेश्डो लघुवित्तको भने सर्किट लेबलमा कारोबार भएको छ । यसैगरी जाल्पा सामुदायिक लघुवित्तको भने ६ दशमलव ०७ प्रतिशतले बढेर ४२० दशमलब ९ रुपैयामा अन्तिम कारोबार भएको छ।

मंगलबार धेरै रकम गुमाउनेमध्ये इमर्जिङ नेपाल १० प्रतिशत घटेर १३ सय २३ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक ६ दशमलव ३७ प्रतिशत घट्दा ४ सय २५ दशमलव १ र युनाइटेड यडमार्दी ६ दशमलव ०१ प्रतिशतले घटेर अन्तिम कारोबार ९७७ दशमलब ५ रुपैयाँमा भएको छ। मंगलबार अन्य परिसूचक राताम्मे हुँदा होटेल समूह भने १५ दशमलब १२ अंकले उकालो लागेको छ।

१३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलमा १३ किशोरीलाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । हेरी विरावनले १२ देखि १६ वर्षका उमेरका १३ जना छात्राहरूसँग यौनसम्पर्क गरेका थिए । पीडितमध्ये नौ जनाले आफूहरू गर्भवती भएको बताएका थिए ।

फेब्रुवरीमा विरावनलाई एक अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर, सो फैसलाप्रति असन्तुष्ट अभियोजकहरूले मृत्युदण्डको माग गर्दै पुनः उजुरी गरेका थिए । ‘हामी प्रतिवादीलाई मृत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङ्ग उच्च अदालतको वेबसाइटमा सोमबार पोस्ट गरिएको एउटा विज्ञप्तिमा न्यायाधीशले  भनेका छन् ।

२५ चैतमा काठमाडौंमा राप्रपाले शक्ति प्रदर्शन गर्ने 

काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले २५ चैतमा भने काठमाडौंमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको छ । पार्टीको बागमती प्रदेश समितिले आज काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भ्रातृ संगठनको संयुक्त बैठक गरेर आमसभा तयारीकोबारे समीक्षा गरेको छ ।

बैठकमा आमसभाका लागि गठित जनपरिचालन समितिका संयोजक पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले देशभरि उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौंमा हुने आमसभामा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउदै पार्टीले शक्ति प्रदर्शनको तयारी गर्नुपर्नेमा जोड दिए ।

उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आमसभाका लागि पार्टीको तर्फबाट गरिनुपर्ने तयारी बैठकलाई जानकारी गराए । देशका अधिकांश जिल्लामा आमसभा गरिसकेको राप्रपाले ९ वैशाखसम्मको आमसभाको मिति तय गरिसकेको र सबै सभामा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजीविकाको सवालमा ति दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपा प्रति जनताको आशा, विश्वास र भरोसा बढिरहेको प्रवक्ता श्रेष्ठ दाबी गर्छन् । ‘हामी चैत २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्छौं, श्रेष्ठ भन्छन्, ‘तयारी त्यहि अनुसार भइरहेको छ ।’
बैठकमा उपत्यकाको प्रतिनिधित्व गर्ने उपाध्यक्ष रोशन कार्की र महामन्त्री भुवन पाठकले काठमाडौंका जनता परिवर्तनको पक्षमा रहेको र राप्रपालाई साथ दिने पक्षमा रहेको बताएका छन् ।

पार्टीको बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रम बहादुर थापा, काठमाडौं जिल्लाका अध्यक्ष नवराज सिंखडा, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन, भक्तपुरका अध्यक्ष रामशरण लामिछानेले आफ्नो तयारी बारे बैठकलाई अवगत गराएका थिए ।

झापा, मोरङ, सुनसरी, उदयपुर, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, कास्की, लमजुङ, तनहुँ, गोरखा, बागलुङ, सुर्खेत, दाङ, नवलपुर, धनुषा, नुवाकोट, ललितपुर, भक्तपुर, सिन्धुली, लमजुङ, बर्दियामा आमसभा गरिसकेको राप्रपाले २५ चैतमा काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको हो ।

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा राप्रपाले आक्रामक ढंगबाट सभा गरिरहेको र पार्टी प्रवेश गराउने कामलाई तीव्रता दिइएको श्रेष्ठले बताएका छन् । काठमाडौंमा हुने आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरु पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायत पार्टीका वरिष्ठ नेताहरूद्वारा सम्बोधन हुने कार्यक्रम रहेको पनि आमसभाका लागि गठित प्रचार समितिका संयोजक प्रवक्ता श्रेष्ठले बताएका छन् ।

चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा 

काठमाडौं । काठमाडौंको चोभारमानिर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् ।

२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।

मैलुङ–स्याफ्रु सडक खण्ड स्तरोन्नति अलपत्र 

रसुवा । राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बीचमै काम छोडी सम्पर्कविहीन हुँदा मैलुङ–स्याफ्रुखण्डको स्तरोन्नति एवं सुधार अलपत्र परेको छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको बेत्रावती–मैलुङ–स्याफबेंसी सडक मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर भू–भागको सडक स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रेसमेतका कार्य सम्पन्न गर्न ठेक्का पाएको भारत÷सिद्धिशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माण अलपत्र परेको हो ।

३० पुस ०७९ सम्ममा सडक स्तरोन्नति सम्पन्न गर्ने गरी भारत कन्स्ट्रक्सन÷सिद्धिशाही जेभीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडक योजनासँग १ साउन ०७७ मा सम्झौता गरेको थियो । सम्झौताअवधि पूरा हुन १० महिना मात्रै बाँकी छ । तर, हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडक योजनाका प्रमुख नीरज शाक्यले बताए । एक अर्ब ४५ करोड रुपैयाँको लागतमा लागतअनुसार कार्य सम्पन्न गर्ने–गराउने सम्झौता गरी कार्यारम्भ गरेको सो कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिएर ५ फागुनदेखि काम छाडि सम्पर्कविहीन भएको छ । उक्त कन्स्ट्रक्सनलाई पत्राचार गरेर काममा फर्कनलाई ताकेता गरिरहेको आयोजनाका प्रमुख शाक्यले बताए ।

ठेकेदार कम्पनीका प्राविधिक फागुनमा हिँडेपछि उक्त क्षेत्रमा रहेको निर्माण उपकरण र सवारीसाधनसमेत लगेकाले स्थलगत काम पूर्ण रूपमा अहिले बन्द भएको छ । सूचना जारी गरी काममा फर्कन अनुरोध गर्दासमेत सम्पर्कमा नआएका पछि नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । ठेक्का रद्दका लागि चरणबद्ध रूपमा दोस्रो सूचना पुनः जारी गर्ने तयारी भएको आयोजना प्रमुख शाक्यले बताए । बीचमा काम छोडि त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पुर्‍याउने कम्पनी पुनः काममा नफर्किए निजले अग्रिम पेस्कीबापत बुझेको साढे १२ करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढ्न लागेको छ ।

मैलुङ्ग–स्याफ्रु सडक खण्डमा गर्नुपर्ने १६ वटा पुलमध्ये चारवटा सम्पन्न भई यातायात चालू भइसकेको र अन्य पक्की पुल धमाधम निर्माण भइरहेका छन् । यसरी सम्पन्न हुने पुलमा नुवाकोट जिल्लाको कोल्फु खोला, महेश खोला, गेर्खु खोला र रसुवा एवं नुवाकोटको सीमाना फलाखु खोलाको पुल साइटका स–साना कामबाहेक अन्य संरचना निर्माण सम्पन्न भइसकेको छ ।

मंसिर, पुस, माघको चिसोमा काम गर्ने कामदारको दैनिक ज्यालासमेत उक्त भारत सिद्धिशाही कन्स्ट्रक्सनले नदिएको भन्दै ज्याला असुलउपरका लागि मजदुरबाट निवेदन पाप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडकखण्डको लम्बाई १७ किलोमिटर छ ।

यस सडक बेत्रावती–कालिकास्थान– धन्चे हँुदै स्याफ्रुबेँशी जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्यापु्रm पुग्न ५४ किलोमिटर रहेको बेत्रावती–मैलुङ–स्याफबेंसीको दूरी २९ किलोमिटर मात्रै छ । पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चेखण्डमा धेरै घुम्ती पार गर्नुपर्छ भने यो सडकमा कतै पनि घुम्ती छैन ।

ओलीकाे कटाक्ष: एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए

वीरगञ्ज । एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएका छन् । वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएका हुन् ।

‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भने, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’

परराष्ट्रमन्त्री खड्काको शिलान्यास मोहः मर्यादा भुलेर भारतीय कार्यवहाक राजदूतसँगै शिलान्यासमा सरिक 

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का कूटनीतिक मर्यादा विपरित एक विद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका छन् । भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उनी सहभागी भएका हुन् । उक्त भवनको शिलान्यास आज एक कार्यक्रमबीच परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले गरेका थिए ।

‘परराष्ट्रमन्त्री जस्तो व्यक्ति आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर शिलान्यास कार्यक्रममा जान हुँदैनथ्यो । यस्तो कार्यक्रममा त शिक्षामन्त्रीलाई लग्नुपर्ने थियो । गईहाले पनि अर्को देशको कार्यवहाक राजदूतसँग शिलान्यास गर्नु हुँदैनथ्यो । कूटनीतिक मर्यादा अनुसार उहाँ त्यस्तो कार्यक्रममा सहभागी हुनुहुँदैनथ्यो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ३ करोड ११ लाख अनुदान सहयोगमा विद्यालय भवन निर्माण कार्य अघि बढाइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो ।  निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल एक हाजर एक सय विद्यार्थी अध्ययनरत छन् जसमा करिब ७० प्रतिशत छात्राहरु रहेका छन् ।

सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । तीमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

‘भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास सहकार्य रहेको छ जसले दुई मुलुकका जनताबीचको प्रगाढ सम्बन्धलाई प्रतिबिम्बित गरेको छ । आज आयोजित यस कार्यक्रमले शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गर्न नेपाल सरकारले चालेको प्रयासलाई सफल बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको कुरालाई पुष्टि गरेको छ,’ भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हवाइ उडान नियमित बनाउन प्रशासनको ध्यानकर्षण

सिमकाेट । हुम्लालाई बाहिरी जिल्लासँग जाेड्ने एक मात्रै एतायातकाे साधन हवाई सेवा केही दिनदेखि नियमित नहुँदा यात्रुले सास्ती खेप्नु परेको छ । एक सातायतादेखि निजी एयरलाइन्स कम्पनटीले नियमित उडान नगरेपछि नियमित उडनकाे मागसहित योङ्ग कम्युनिष्ट लिग नेपाल हुम्लाले जिल्ला प्रशासनकाे ध्यानकर्षण गरेको छ ।

लिगले हवाई उडानमा देखिएकाे समस्या समाधान गरीदिन प्रमुख जिल्ला अधिकारीमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मुख्यमन्त्री कार्यालय सुर्खेतलाई बोदार्थ गरेकाे छ ।

उडान नहुँद यहाँ दैनिक उपाभोग्यदेखि निर्माण ढुवानी समेत प्रभावित भएकाे छ । जसका कारण हुम्लामा दैनिक उपाभोग्य सामाग्रीदेखि अन्य सामानकाे बजारभाउ आकासिएकाे ज्ञापन पत्रमा उल्लेख छ ।

पर्यटक ओसार्न जहाजहरू पूर्वतिर गएपछि हुम्लामा उडान हुन नसकेको हो । निजी जहाजहरू लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन ।

विद्यालयमा किवी खेतीसहित विद्यार्थी अध्ययन गर्दै

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माध्यामिक विद्यालयका विद्यार्थी पढ्दै किवी खेती गर्न थालेका छन् । विद्यालयले विद्यार्थीलाई व्यावसायिक शिक्षाअन्तर्गत विद्यालय परिसरमै नर्सरी स्थापना गरी फलफूल तथा तरकारी खेती गर्न प्रोत्साहन गरेको हो ।

कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी पठनपाठनको अतिरिक्त व्यावसायिक शिक्षाको लागि किवी खेतीको व्यवहारिक अभ्यास गर्ने विज्ञान विषयका शिक्षक नरबहादुर पच्याले बताए । किवी उत्पादनबाट प्राप्त हुने आम्दानी विद्यालयको खातामा जम्मा गरिन्छ ।

किवी खेती व्यावसायिक शिक्षासँगै पाठ्यवस्तुसँग पनि जोड्ने गरिन्छ । विशेष गरी किवीको फूल खेल्ने बेला विद्यार्थीहरूलाई विरुवाको प्रजनन् (परागसेचन)बारे जानकारी दिइने गरिन्छ । किवीको भाले बिरुवाले उत्पादन दिँदैन । पूmल लाग्ने समयमा माहुरी, भमराजस्ता जीवले कसरी परागकण पोथी अंगमा पु¥याउन मद्दत गर्छ भन्ने विषयमा विद्यार्थीहरूलाई ‘फिल्ड’मै पुगेर अध्ययन गर्न लगाउने गरेको शिक्षक पच्याको भनाइ छ ।

विशेष गरी कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयको जग्गामा करेसाबारी निर्माण गरिएको थियो । पूर्वव्यावसायिक शिक्षा अन्तर्गत विद्यार्थीलाई अभ्यास शिक्षणको लागि तयार गरेको नर्सरी विद्यालयलाई पनि आम्दानीको स्रोत बनेको छ ।

तल्लो कक्षामा पढने विद्यार्थीले किवीको बिरुवा आसपासमा सिमी लगायतका तरकारी खेती पनि गर्ने प्रधानध्यापक कमला थापाले बताइन् । पहिलो वर्ष १६० किलो किवी बिक्री भएको थियो ।

गत वर्ष मौसम प्रति कुल हुँदा ९९ किलो किवी २५० रुपैयाँको दरले बिक्री गरेको प्रअ थापाको भनाइ छ । उत्पादन भएको किवी सुरुमा विद्यार्थीलाई बाँडेर बाँकी रहेको मात्रा स्थानीय समुदायलाई सस्तो मूल्यमा बिक्री गरिन्छ ।