समाचार | Page 255 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

पहिराेका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

काठमाडाैं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार आज(मंगलबार) मध्याह्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टाभन्दा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।

साँभझसम्म सडक सुचारू हुने निरीक्षक सिंहले जानकारी दिनुभयाे ।

इरानबाट आफ्ना नागरिक फर्काउँदै अष्ट्रेलियाली सरकार

एजेन्सी । अष्ट्रेलियाली सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एकजना वरिष्ठ अधिकारीले बताएका छन् ।

रक्षा तथा उद्योगमन्त्री प्याट कोनरोयले मङ्गलबार अष्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी) रेडियोलाई सरकारले द्वन्द्वको बीचमा इरान छोड्न चाहने नागरिकहरूलाई उद्धार गरी निकाल्ने योजना बनाइरहेको बताउनुभयो ।

“अहिले हवाई क्षेत्रहरू बन्द छन्, त्यसैले विमानहरू भित्र छिर्न र बाहिर निस्कन सक्दैनन्, तर हामी अष्ट्रेलियालीहरूलाई निकाल्ने वा ती क्षेत्रहरू फेरि खुल्दा उनीहरूलाई व्यावसायिक उडानहरूमा जान सहयोग गर्ने योजनाहरू तयार गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यस क्षेत्रमा हाल रहेका सबै अष्ट्रेलियालीलाई विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी) मा दर्ता गर्न सल्लाह दिइएको छ ।

विदेशमन्त्री पेनी वोङले सोमबार तीन सय ५० अष्ट्रेलियाली नागरिकले इरान छोड्ने इच्छा बारे डिएफएटीलाई सल्लाह दिनुभएको थियो र तीन सय नागरिकले इजरायलका लागि त्यसो गरेका थिए । थप दर्ता हुने अपेक्षा गरिएको छ ।

वोङले सरकारले मानिसहरूलाई सुरक्षित रुपमा उद्धार गर्न मद्दत गर्न विभिन्न योजनाहरूमा काम गरिरहेको बताउनुभयो ।

निलो रिवन लगाएर संसद बैठकमा रास्वपाको विरोध (तस्बिरहरु)

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संघीय संसद भवनमा निलाे रिवन (स्कार्फ) लगाएर विराेध प्रदर्शन गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठक शुरू भएसँगै सांसदहरूले निलाे स्कार्फ लगाएर बैठक सञ्चालनकाे विराेध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठक शुरू गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उभिएर बैठककाे विराेध गरेका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूले स्कार्फ लगाएर बैठकमा बसेकाे भन्दै संसदकाे मर्यादाकाे प्रश्न उठाएपछि सभामुख घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गर्नुभयाे ।

रास्वपाले निलाे रिवन लगाएर गरेकाे विराेधका केही तस्बिरहरू :

 

कानून व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेबारी दिँदा विकृति आउँछ : कानूनमन्त्री

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानून व्यवसायीहरुलाई मुद्दा मिलापत्रको जिम्मेबारी दिन नहुने बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले कानून व्यवसायीहरुलाई मुद्दा मिलापत्रको जिम्मेबारी दिन नहुने बताउनुभएकाे हाे ।

नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ बारे संशोधनकर्ता सदस्यहरुले कानून व्यवसायीहरुले मुद्दाको पक्ष र विपक्षसँग मिलेर मुद्दा मिलापत्र गरे के गर्ने भन्ने विषय उठेको थिय। जसमा मन्त्री चौरसियाले कानून व्यवसायीहरुलाई मुद्दा मिलापत्र गराउन दिन नहुने बताउनुभयो ।

उहाँले दुई पक्षको मिलापत्रको जिम्मेवारी कानूनी रुपमा दिँदा भविष्यमा अफ्ठ्यारो आउने बताउनुभयो । यसले थप विकृति निम्त्याउनसक्ने बताउनुभयो ।

समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को संशोधनमा संशोधनकर्ता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले मुद्दाका दुवै पक्षलाई मिलापत्र गर्न र गराउनका लागि आफूले फाइदा लिने हिसाबले दबाब दिन सक्नेतर्फ सचेत गराउनुभएको थियो । कानून व्यवसायीहरुले मुद्दा मिलापत्र गर्दा दुवैतर्फबाट मुद्दा मिलाइदिने नाममा भ्रष्टाचार गर्नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री चौरसियाले कानून व्यवसायीहरुको अनुशासनको कुरालाई पनि विधेयकले समेट्ने बताउनुभयो ।

स्थलगत अनुगमनका लागि बजेट नपुगेकाे संसदीय समितिकाे गुनासाे

काठमाडाैं । देश र जनताको आवश्यकता अनुसारका कार्यक्रममा सहयोग नगर्ने दातृ संस्थाहरुको कार्यक्रम बहिस्कार गर्न सांसदहरुले जोड दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो आग्रह गरेका हुन्।

अनुगमनका लागि सहयोग माग्दा सहयोग नगर्ने र उनीहरुको चाहना अनुसारको कार्यक्रमहरुमा मात्रै जानुपर्ने स्थितिको अन्त्य गर्न सुझाव दिए । समितिको बैठकमा आज मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल हुँदै थियो । छलफल शुरु गर्नुपूर्व समिति सभापति विमला सुवेदीले आर्थिक स्राेत, साधन र समय अभावका कारण विभिन्न स्थानको स्थलगत अवलोकन हुन नसकेको बताउनुभयो ।

बजेट अभावका कारण ढोरपाटन शिकार आरक्षण, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन चालु आर्थिक वर्षमा सम्पन्न गर्न नसकिएको बताउनुभयो । संसदीय समितिलाई अनुगमनका लागि दातृ निकायको भर पर्नुपर्ने कुरा लज्जास्पद रहेको सांसदहरुले बताए ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले कानून मन्त्रालय बजेटमा निरिह रहेको बताउनुभयो । उहाँले अरु मन्त्रालयमा खर्बौंको बजेट हुँदा कानूनमा न्यून रहेको र मन्त्रालय अन्तर्गतको कानून समितिले अनुगमन गर्न दातृ संस्थाको भर पर्नुपर्ने अवस्था राम्रो नरहेको बताउनुभयो । उहाँले दातृ संस्थाले उनीहरुले भनेका मात्रै कार्यक्रममा सहयोग गर्ने भए उनीहरुका सबै कार्यक्रम बहिष्कार गर्न सुझाव दिनुभयो । सुविधायुक्त होटलमा सेतो तन्नामा सुत्नको लागि मात्रै कार्यक्रम गर्ने नभइ जनताको समस्या कहाँ छ ? भन्ने खोज्नका लागि अनुगमन गर्नुपर्ने बताउनुभयो । सरकार र नेपाली जनताको आवश्यकताअनुसारको कार्यक्रममा सहयोग नगर्ने भए त्यसको समीक्षा गर्न जरुरी रहेको बताउनुभयो ।

समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले बजेट निर्माणभन्दा पहिला समिति सभापतिहरुले सरकासँग आफ्ना समस्याहरु राख्नुपर्ने बताउनुभयो । उहाँले बजेट अभाव भयो भनेर कानून बनाउने कुराबाट पन्छिन नहुने बताउनुभयो । कानून निर्माण गर भन्ने तर कानून निर्माणका प्रक्रियाहरु अवलम्वन गर्दा सामान्य खर्च पनि नहुने स्थिति गम्भीर विषय भएको बताउनुभयो । उहाँले न्याय निरुपणको क्षेत्र पेचिलो बनिरहेको बताउनुभयो । आम जनताले समयमा न्याय पाउन नसकेको बताउनुभयो ।

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टीकी सांसद रञ्जकुमारी झाले दातृ निकायहरुसँग अनुगमनको लागि भनेर बजेट माग्दै हिँड्ने कुरा संसदी समितिले नमिल्ने तर्क गर्नुभयो । उहाँले यसको सम्पूर्ण व्यवस्थापन संसद र सरकार नै रहेको बताउनुभयो । दातृ निकायहरुले रिसोर्टमा लगेर कार्यक्रम गर्ने गरेको भन्दै यस्तोमा सांसदहरुले सावधानी अपनाउनुपर्ने बताउनुभयो । मध्यवर्ती क्षेत्रमा मानव अधिकार दयनीय अवस्थामा रहेको बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा मध्यवर्ती क्षेत्रलाई व्यवस्थित गर्न बजेट विनियोजन भएको तर कार्यान्वयनको चुनौति रहेको बताउनुभयो ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद प्रतिक्षा तिवारीले सरकारले सबैभन्दा कम बजेट कानून मन्त्रालयलाई छुट्याएको भन्दै आपत्ति जनाउनुभयो । कानून निर्माण गर्न नै नपुग्ने बजेट छुट्याउन नहुने उहाँको भनाइ छ । कानून मन्त्रालयलाई कानून निर्माणका लागि पर्याप्त बजेट नछुट्याउनु कानून मन्त्रालय र कानून समितिकै उपेक्षा भएको जिकिर गर्नुभयो । साधारण तरिकाले पनि अनुगमन गर्न सकिने भन्दै उहाँले सरकार, सदनले अध्ययन र अनुगमनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सरकारले कानून मन्त्रालयलाई उपेक्षा गरेको बताउनुभयो । उहाँले बजेटको पर्याप्तता नभएको कारणले अरुको मुख ताक्नुपर्ने अवस्था आउनु आफैमा दुःखद् भएको बताउनुभयो । बजेटको पर्याप्तताको लागि पहल गर्न आवश्यक रहेको भन्दै बजेटलाई पुनरावलोकन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । अनुगमन गर्दा सरकारको व्यवस्थाबाट गर्न उपयुक्त हुने बताउनुभयो ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले युएनडिपि लगायतका संघ संस्थाहरुले सहयोग गरेन भनेर अनुगमन नै गर्न छोड्न नहुने बताउनुभयो । उहाँले आफ्नो व्यवस्थाले सरल तरिकाबाट पनि अनुगमर्न गर्न सकिने बताउनुभयो । स्थानीय सरकारसँग समन्वय गर्ने वा सम्बन्धित क्षेत्रका सांसदहरुले एक दिनको व्यवस्था गरेर पनि अनुगमन गर्न सकिने बताउनुभयो । अरुको आश गरेर बस्दा कानून निर्माणमा ढिलाइ हुने उहाँको भनाइ छ । प्रमुख सचेतक बर्तौलाले मध्यवर्ती खारेज गर्नुपर्ने आफ्नो माग रहेको बताउनुभयो ।

कानून निर्माणमा ढिलासुस्ती गर्ने छुट नरहेको तर कानून छिटो बनाउने भन्दैमा जनताको आशा र अपेक्षा विपरित बनाउन नहुनेमा सांसदहरुको जोड रहेको छ ।

संघीय सरकारमा निर्भर प्रदेश सरकारकाे बजेट ! (भिडियाेसहित)

काठमाडाैं । देश सरकारहरुले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा मनपरी देखिएको छ । असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार उनीहरुले बजेट ल्याएका छन् र कतिपय प्रदेशहरुले ल्याएको बजेटमा स्रोतको ख्यालै नगरी वितरणमुखी कार्यक्रममा बजेटदेखि केन्द्रको सिको गर्दै संग्रालयदेखि अनेकौं शीर्षकमा ठूलो बजेट राखेर अघि बढाउन खोजेका छन् ।

आफ्नो पनको बजेट ल्याउनभन्दा पनि संघ सरकारको नक्कल गर्दै प्रदेशहरूले पनि मुख्यमन्त्री र मन्त्रीका नाममा कार्यक्रम अगाडि सारेका छन् । कोशी प्रदेशले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई कोशी अत्यावश्यक सेवा केन्द्रमा रुपान्तरण गरेको छ र उक्त केन्द्रहरु निर्माण कार्य सम्पन्न गर्ने घोषणा गरेको छ । बजेटमा केही विवादास्पद तथा वितरणमुखी कार्यक्रम पनि परेका छन् । ‘एक निर्वाचन क्षेत्र, एक विशिष्ट उद्यम,’ मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र, चिया सम्मेलन, चक्रीय कोष, ढाका कपडा खरिद तथा सरकारी कर्मचारीका लागि पर्यटकीय भ्रमण कार्यक्रम राखिएका छन् ।

मधेसले ‘हात–हातमा सवारी, घर–घरमा रोजगारी’ भन्ने नाराका साथ मुख्यमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ  । मुख्यमन्त्री आवास सुरक्षा योजना कार्यक्रम, मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम, महेन्द्रनारायण निधि विपन्न आवास योजना र विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिइँदै बजेट विनियोजन गरिएको छ ।

सत्तारूढ कांग्रेस र एमालेका मन्त्रीबीचको मतभेदका कारण बागमती प्रदेशमा आइतबार ढिलो गरी बजेट सार्वजनिक गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ल्याएको वागमती प्रदेशको बजेटमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ घोषणा गरिएको छ भने कांग्रेस नेता दिवंगत ‘भीमबहादुर तामाङ शैक्षिक गुणस्तर सुधार कार्यक्रम’ अघि सारेको छ । ‘वागमतीले एक निर्वाचन क्षेत्र, एक बहुउद्देश्यीय खेलमैदान’ कार्यक्रम पनि सुरु गरेको छ । त्यस्तै, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३५ करोड बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेशले बजेट वक्तव्यमा विवादास्पद कार्यक्रम खासै राखेको छैन ।  यद्यपि प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई २ करोड रुपैयाँका योजना सिफारिस गर्न दिनेगरी योजना बनाइएको थियो ।

लुम्बिनी सरकारले पनि विवादस्पद कार्यक्रम खासै बजेटमा राखेको छैन ।  हिजो सार्वजनिक बजेटमा ‘लुम्बिनीमा पाइला टेक’ भन्ने नाराका साथ लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध शिखर सम्मेलन गर्ने घोषणा गरिएको छ । सरकारले पर्यटन प्रवर्द्धनका लागि ‘तराईमा रमाउने, पहाडमा घमाउने र हिमाल चढाउने’ नीति अघि सार्दै बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेशमा खिचातानीले बजेट राति अबेर आयो । उक्त प्रदेशले ल्याएको बजेटमा कृषिको व्यावसायीकरण, उत्पादकत्व अभिवृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता विकास, जडीबुटीको उपयोग र आर्थिक समृद्धि केन्द्रित छ । विवादास्पद कार्यक्रम देखिएका छैनन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रत्यक्ष निर्वाचित प्रदेश सांसदका पाँच करोड र समानुपातिक सांसदका तीन करोड रुपैयाँबराबरको योजना समावेश गरेर आगामी आवको बजेट सार्वजनिक गरेका छन् । जबकी, यस्तै खाले संघीय सरकारले ल्याउन खोजेको सांसद विकास कोषलाई सर्वाेच्च अदालतले नै रोकिदिएको थियो । केन्द्रमा रोकिएको कार्यक्रम प्रदेशमा अघि बढाइँदा प्रदेश सरकारमाथि प्रश्न उठेको छ ।

मुख्यमन्त्री, मन्त्री र नेताहरूका नाममा कार्यक्रम घोषणा गर्नेमा पनि सुदूरपश्चिम अग्रस्थानमा छ । सुदूरपश्चिमले ‘मुख्यमन्त्री जनता आवास कार्यक्रम’, ‘मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम’, ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम,’ ‘हेलो सिएम’ र ‘सिएम एक्सन रुम’ जस्ता कार्यक्रम ल्याएको छ ।

त्यस्तै, ‘दशरथचन्द सिप विकास तथा क्षमता अभिवृद्धि तालिम,’ ‘बाकावीर पर्यटन प्रवर्द्धन कार्यक्रम, ‘जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम,’ ‘झुसे दमाईं सांस्कृतिक संग्रहालय,’ ‘हेलो मुख्यमन्त्री हटलाइन सेवा’, ‘जनतासँग मुख्यमन्त्री,’ ‘मुख्यमन्त्री नीति संवाद’ र ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ कार्यक्रम बजेटमा ल्याइएको छ ।

आफ्नो क्षमता छैन, सातै प्रदेश अनुदानमै निर्भर
प्रदेश सरकारले कार्यक्रमहरुले बजेट ल्याउँदै गर्दा उनीहरुको स्रोत त्यति बलियो भने देखिएको छैन । अधिकांश प्रदेश संघीय सरकारमै निर्भर देखिएका छन् । संघीय सरकारले वित्तीय हस्तान्तरण गरेको  स्रोतमै उनीहरुले कार्यक्रम तथा योजना बनाएका छन् । बजेटमा प्रदेशहरुको राजश्वको क्षमताको आधार कमजोर देखिएको छ भने चालू वर्षमा खर्च गर्न नसकेको मौज्दातलाई आगामी वर्षमा खर्च गर्ने लक्ष्य प्रदेश सरकारहरुको छ । कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाएका छन् ।

आन्तरिक राजश्व स्रोतको सीमितता र संघबाट प्राप्त हुने अनुदान कटौतीको कारण देखाउँदै गण्डकी र लुम्बिनीले बजेट घटाएका छन् । मधेस र गण्डकी प्रदेश सरकारले घाटाको बजेट प्रश्तुत गर्दै अपुग रकमका लागि आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् ।

स्रोतमा बलियो नभएपनि वितरणमुखी कार्यक्रममा बजेट ल्याउनेदेखि बजेटमा मनपरी गर्नुले संघीयताको मर्ममाथि नै असर गर्नसक्ने खतरा छ ।

उत्पादन बढी हुँदा सस्तियाे तरकारीकाे मूल्य

काठमाडाैं । पछिल्लो समय उत्पादन बढी हुँदा तराकारी सस्तो हुनुका साथै विक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ । अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आउनुभएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्यून भएको र बेच्न समेत नसक्ने अवस्था आएको बताउनुभयो । उहाँकाअनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि उत्पादन ज्यादा भएको बताउनुभयो ।

धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रने गरेको छ । खेतबारीको तरकारी सिध्यिएपछि असार साउनबाट भाउ बढ्न सक्ने सम्भावना छ । लौका १५–२० रुपैयाँ, करेला २०–२५ रुपैया, बोडी १५–२० रुपैयाँमा बेच्नु परेको कुनै भाउ छैन । न व्यापारीलाई फाइदा न किसानलाई ।

तरकारी व्यापारी चेतबहादुर थिङले भन्नुभयो–‘धान रोप्ने खेतमा अहिले तरकारी बढी रोपाईं धेरै भएकाले उत्पादन बढी भयो । अहिले इण्डिया तिरको तरकारी छैन । धादिङ, सर्लाही, काभ्रे, मकवानपुरसहितका जिल्लाबाट तरकारी आउने गरेको छ । भारतीय तरकारी अहिले त्यती छैन । उत्पादन बढि भएरै तरकारी सस्तो भएको हो ।’

व्यापारीहरुका अनुसार अहिले तरकारी नबिकेर कुहिएर फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरुलाई ठूलोमात्रमा घाटा लागिरहेको उनीहरुको भनाइ छ ।

कालिमाटीमा व्यापार गर्दै आउनुभएका अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताउनु भयो । उहाँले नेपाली तरकारीसँगै भारतीय समेत केही आएकाले बजारमा धेरै तरकारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘नेपालमा पनि उत्पादन बढी छ अहिले । बजार पनि धेरै भयो । व्यापारीक स्टलहरु पनि ठाउँठाउँमा भए । तहातही स्टलहरु छन् । सस्तो भएपछि मान्छेले खान मनपराउँदैनन । त्यही भएर होला तरकारी नबिकेको ।’

देशको अवस्था समेत ठिक नभएका कारण मान्छेको क्रय शक्ति कमजोर भएका कारण तरकारी विक्री नभएको कार्कीको बुझाइ छ ।

तरकारीसँगै फलफूलको मूल्य समेत गत वर्षको भन्दा सस्तो रहेको कालिमाटीका व्यापारीहरुको भनाइ रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि लोकल गोलभेडा २९, ठूलो गोलभेडा ९५, मकैबोडी ४६, मटरकोशा १५२, लौका १७, घिरौंला ३२, रायो साग ४२ र न्युरो प्रतिकिलो २८ रुपैँया तोकेको छ भने कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार कुरिलो प्रतिकिलो ३०० रुपियाँ तोकेको छ ।

त्यस्तै, कन्य च्याउको भाउ १ सय ४५ रुपैयाँ तोकिएको छ ।

‘भिजिट भिसा’ प्रकरण २०६४ सालदेखिकाे समस्या हाे : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज (मंगलबार) दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताउनुभएको हो ।

दाहालले भन्नुभयो, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।” यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उहाँको भनाइ छ ।

यो मुद्दालाई त्यत्तिकै नछाड्ने उहाँले बताउनुभयो । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।”

प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।”

अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पार्नुभयो ।

बजेटकाे समयमा विधेयकमाथि छलफल नगराैँ : सांसद यादव

काठमाडाैं । नेपाली काँग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गर्नुभएको छ ।  मंगलबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गर्नुभयो ।

समितिमा आज नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बधमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल थियो । संसद बैठक पनि आज नै बस्ने र बजेटको बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न आग्रह गर्नुभयो ।

यसले संशोधनकर्ता सदस्यहरुले पनि राम्रोसँग संशोधनबारे छलफल गर्न नपाउने उहाँकाे भनाइ छ । उहाँले समितिमा पनि विधेयकलाई राम्रो बनाउनका लागि आवश्यक समय दिन नसकिने स्पष्ट पार्नुभयो ।

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबैकाे भूमिका महत्वपूर्ण : वनमन्त्री

काठमाडाैं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तीन तहकै सरकारहरु मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका असरहरु कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने जरुरी रहेको बताउनुभएकाे हाे ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालका पहलहरुलाई तिब्र रुपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्नुभयो । मन्त्री ठकुरीले संसदमा क्लाइमेट एलाइन्स बनाउने गरी अघि बढिरहेको बताउनुभयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘हामी तीन तहकै सरकारहरु मिलेर हाम्रो साझा चुनौतिका रुपमा रहेको जलवायु परिवर्तनका असरहरु कम गर्न हामी स्वयं आफैले पहल गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रा पहलहरुलाई तिब्र रुपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । हामी सबै देशमा क्रियाशिल राजनीतिक दल, नेपाल सरकार, गैर सरकारी संस्थाहरु, अन्तर्राष्ट्रिय साझेदारहरुको सबैको सहयोग र समन्वयमा २५ बुँदे कार्ययोजना क्रमशः लागू गर्दै हामीले यो अभियान पूरा गर्न अघि बढ्नुपर्छ ।’

मन्त्री ठकुरीले जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

असार ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर हुने

काठमाडाैं । असार ६ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिनुभएको हो ।

साेमबारकाे बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ । उक्त प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, विनियोजन विधेयक, २०८२ माथिको विभिन्न मन्त्रालय एवम् सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफ्नो मन्त्रालय र सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिनका लागि आगामी असार ५, ६ र ७ गतेका दिनहरू तोकिएको सभामुख घिमिरेले जानकारी दिनुभयो ।

इजरायली सीमानाका बन्द, प्यालेस्टिनीको जनजीवन ठप्प

एजेन्सी । क्षेत्रीय तनाव बढ्दै जाँदा इजरायली सेनाले आफ्नो क्षेत्र बन्द राखेपछि पश्चिम किनारका प्यालेस्टिनीहरूको दैनिक जीवन ठप्प भएको छ । शुक्रवारबाट इजरायली सेनाले आपतकालीन अवस्था घोषणा गरेको छ । साथै पश्चिम किनारका क्षेत्रहरु पूर्ण स्तरमा बन्दको घोषणा गरेको छ ।

शहर र गाउँहरू बीचको आवागमनमा रोक लगाउने यो उपायलाई इजरायली मिडियाले इजरायल र इरान बीचको बढ्दो तनावसहित हालैका क्षेत्रीय विकासहरू पछि सावधानीपूर्वक कदमको रूपमा वर्णन गरेको छ । इजरायली प्रशारण निगमले रिपोर्ट गरेको छ कि प्रतिवन्धहरू अर्को सूचना नभएसम्म“रहनेछन् ।

अखबार येडियोथ अह्रोनोथले पश्चिम किनारका प्रमुख स्थानहरूमा थप सैन्य एकाइहरू तैनाथ गरिएको बताएको छ । इजरायली सेनाले पश्चिम किनारको उत्तरी, मध्य र दक्षिणी क्षेत्रहरूलाई जोड्ने प्रमुख सडकहरू बन्द गरेको छ ।

रणनीतिक स्थानहरूमा फलामका ढोकाहरू र मोबाइल चेकपोइन्टहरू राखिएको छ । जसले आवागमनमा उल्लेखनीय रूपमा प्रतिवन्ध लगाएको छ ।

सुनको मूल्यमा प्रतिताेला दुई हजार पाँच सयले गिरावट

काठमाडौ । सुुनको भाउ आज एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो ।

 

निर्माण व्यवसायीकाे लापरवाहीका कारण धुलिखेल–खावा सडक पुनर्निर्माण अन्योलमा

काठमाडाैं । धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ । करिब तीन वर्षअघि शुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो ।

भक्तपुर सडक डिभिजन कार्यालयले २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवासँग २० करोड १९ लाख रुपैयाँको ठेक्कामा सम्झौता गरी काम शुरु गराएको थियो । सम्झौताअनुसार काम २०८० चैत मसान्तसम्म सकिनुपर्ने थियो । तर निर्माण कम्पनीले तोकिएको समयसीमा पार गरे पनि उल्लेखनीय प्रगति गर्न सकेन ।

प्रगति सन्तोषजनक नभएपछि डिभिजन कार्यालयले ठेक्का रद्ध गरेको छ । तर ठेकेदार कम्पनीले पाटन उच्च अदालतमा रिट दायर गरेपछि अदालतले अन्तरिम आदेशमार्फत पुनः टेण्डर, धरौटी जफत र कालोसूचीकरण रोक्का गर्न निर्देशन दिएको छ । यता सडक डिभिजनले पुनः टेण्डरको तयारी गरिसके पनि अदालतको आदेश र अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन ।

डिभिजन प्रमुखकाअनुसार निर्माण कार्य शुरु गर्न तयार भएपनि कानूनी तथा वित्तीय बाधाले परियोजना अलपत्र बनेको हो । हालसम्म करिब २०–२५ प्रतिशत मात्र आर्थिक प्रगति भएको डिभिजनको दाबी छ । केही स्थानमा नाली निर्माण र पहाड कटान गरिएको भएपनि अधिकांश स्थानमा रोड बेस, ग्राभेल बेस तथा कालोपत्रे गर्न बाँकी छ ।

१२ मिटर चौडाइको यो सडक खण्डमा पहिलोपटक २० सेन्टिमिटरको सिमेन्ट ग्राभेल बेस राखी त्यसमाथि डब्लूबीएम र डबल लेयर कालोपत्रे (डेंस बिटुमिनस म्याकाडम र एस्फाल्ट) गर्ने प्रविधि अपनाउने योजना थियो । धुलिखेल हुँदै चीनसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुजस्ता जिल्लातर्फ जाने मुख्य नाकाको रूपमा रहेको यो सडकमा भारी सवारी चाप वहन गर्नसक्ने बनावट तयार गर्ने उद्देश्य थियो । तर लामो समयसम्म काम रोकिँदा योजनाको उद्देश्य नै संकटमा परेको देखिन्छ । स्थानीयवासी र यात्रुहरू तीन वर्षदेखि धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिम बीच यात्रा गर्न बाध्य छन् ।

सडकको निर्माण कार्य फेरि कहिले शुरु हुन्छ भन्नेमा अझै अनिश्चितता रहेको छ । अब अदालतको अन्तिम निर्णय र अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्र परियोजना पुनः सुरुवात हुने देखिन्छ ।

प्रतिनिधि सभा बैठक १ बजे बस्दै, निजामति र नागिरकता विधेयक पारित गरिने

काठमाडौं । आज दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।

बजेट कार्यान्वयनमा सरकारी संयन्त्र र सरकार असफल !

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनादेखि अहिलेसम्म तीन तहकै सरकारबाट बजेटका लक्ष्य, उद्देश्य र योजना सफल कार्यान्वयन भएका छैनन् । बजेट कार्यान्वयन हुन नसक्नु भनेको सरकारी संयन्त्र र सरकार
असफल हुनु हो ।

 

-सम्पादकीय-
वर्षामा विकासका काम गर्नु हुन्न भनेर २०७२ सालको संविधानमा नै प्रस्टरुपमा जेठ १५ गते बजेट घोषणा गर्ने व्यवस्था गरिएको हो । यसको अर्थ, अघिल्लो वर्षको बजेटले लिएको निर्दिष्ट लक्ष्य, उदेश्य र विकासका भावी योजनाका कामलाई वैशाख मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने किटानी हो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिका सबै बजेट कार्यान्वयनमा तीन तहकै सरकार पूर्णरुपमा असफल देखिएका छन् ।

संघीय राजधानी रहेको काठमाडौ महानगर बजेट कार्यान्वयनमा देशका अरु स्थानीय तहभन्दा धेरै कमजोर देखिएको छ । महालेखाले समेत काठमाडौ महानगरका धेरै काममा भए,गरेको खर्चका सम्बन्धमा प्रश्न उठाएको छ । यसबाट काठमाडौं महानगरले ऐन कानुनसम्मत काम गर्न नसकेको प्रस्ट हुन्छ ।

संघीय सरकार पनि विधिसम्मत काम गर्न एक ठाउँमा होइन, हजारौँ ठाउँमा चुकेको छ । काम नहुने योजनामा बजेट राख्ने र आवश्यक योजनामा बजेट नराख्ने संघीय सरकारको ठूलो कमजोरी हो । बजेट भाषणमा करोड रुपैयाँभन्दा बढीका योजना मात्र संघीय सरकारले बजेटमा समेट्ने भने पनि १०, २० हजार रुपैयाँका योजनासमेत राख्नु बजेटको सिद्धान्त विपरितको काम हो । आफैले बनाएको नियम आफै उल्लंघन गर्दा संघीय सरकारले बजेट कार्यान्वयन गर्न नसकेको हो ।

दबाब र प्रभावमा परेर बनाइएका योजना र छुट्याइएको बजेट कार्यान्वयन हुनै सक्तैन । हरेक वर्ष जेठ र असारमा धेरै खर्च गरेर बजेट सक्ने गलत परिपाटी अझै नियन्त्रण हुन सकेन । वर्षभरि काम नगरी बस्ने र वर्षाको भेलमा बजेट बगाउने परिपाटीले नेपालका अधिकांश विकास निर्माणका संरचना कमजोर बनेका हुन् ।

कृषि उत्पादन बढाउने, कृषि औद्योगिककरणका लागि राज्यले प्राथमिकता दिनुपर्ने विषयलाई महत्व नै दिएको छैन । भूमि बैंक स्थापना गरी रोजगारी सिर्जनाका लागि सरकारले जमिनलाई भूमि बैंकमा राखेर बेरोजगारलाई कृषि उद्योगमा काम दिनुपर्ने बजेट आजसम्म आउनै सकेन । अन्न, फलफूल र तकारी उत्पादन गर्ने किसानले पाउनुपर्ने अनुदानको रकम विचौलियाले पाउनु भनेको बजेटसँगै सरकार असफल भएको हो ।

संघीय सरकारले कुनै क्षेत्रको बजेट सहीरुपमा २०६३ यता वैशाख मसान्तसम्म कार्यान्वयन गर्नै सकेको छैन । यस्तै अवस्था हरेक प्रदेशमा छ । प्रदेश सरकारले आजका दिनसम्म प्रदेश खास खास कारणले आवश्यक छ भनेर आफनो औचित्य पुष्टि नै गर्न सकेनन् । बजेट कार्यान्वयनका सवालमा सात वटै प्रदेश असफल मार्गको अब्बल दर्जामा दर्ता भएका छन् । धेरै स्थानीय तहमा बजेट कार्यान्वयन गर्नसक्ने दक्ष जनशक्ति नै छैन ।

विकास निर्माण र शिक्षा, स्वास्थ्य केही स्थानीय तहका लागि टाउकामाथि झुन्ड्याइएको बडेमानको ढुङ्गाे जस्तो बनेको छ । बजेट कार्यान्वयको सवालमा कानुनीरुपमै सुधार नहुने हो भने नेपाल सबै क्षेत्रमा असफल बन्न समय लाग्दैन ।