समाचार | Page 256 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

बजेटले कृषि उत्पादनलाई ध्वस्त पार्न खोजेकाे अध्यक्ष केसीकाे आरोप

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै अध्यक्ष केसीले हरेक वर्ष पाँच लाख नेपाली श्रम बजारका लागि तयार हुने भएपनि उनीहरुलाई रोजगारी दिनेगरी बजेटमा कुनै कार्यक्रम समावेश नगरिएको बताउनुभएकाे हाे ।

रोजगारी सिर्जना गर्नसक्ने क्षेत्र कृषिमा अझैपनि सामन्ती भूस्वामित्व कायम रहेको भन्दै किसानको सट्टा भूमाफियालाई पोस्नेगरी बजेट ल्याइएको अध्यक्ष केसीले दाबी गर्नुभयो । दूध र मासुमा केही हदसम्म मुलुक आत्मनिर्भर हुँदै गइरहेको अवस्थामा आयातको लागत कम गराएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको उहाँको आरोप थियो ।

आम जनता खुशी नहुने बजेटको स्वामित्व नेपाली जनताले लिन नसक्ने भन्दै अध्यक्ष केसीले मान्छे बेचेर देश चलाउने अवस्था रहेको र बजेट मुठीभरका थैली शाह वर्गका निमित्त बनेको बजेटभन्दा फरक नपर्ने स्पष्ट पार्नुभयो । उहाँले सरकारले संशोधन नगर्ने थाहा हुँदाहुँदै पनि जनताका बीचमा बजेटको विषय पुगोस् भनेर आफूले बजेटमाथिको छलफलमा भाग लिने गरेको बताउनुभयो ।

कृषि क्षेत्रलाई राष्ट्रिय उद्योगसँग जोड्ने कुनै कार्यक्रम नभएका भन्दै उहाँले  विगतमा नेपाल सरकार तथा मित्रराष्ट्रबाट स्थापना गरिएका सार्वजनिक मोडलमा सञ्चालित जनकपुर चुरोट कारखाना, गोरखकाली रवर उद्योग, बुटवल धागो कारखाना, उदयपुर सिमेन्ट उद्योगलाई बिक्री गर्ने भनेर यसै बजेटमा परेको बताउनुभयाे ।

अध्यक्ष केसीले हरेक वर्ष नेपाली युवाहरुबाट कमिशन खाएर वैदेशिक रोजगारीका लागि विदेश पठाउने र तिनै युवाहरुले पठाएको रेमिट्यान्सबाट संसद र तीनै तहको सरकार चलाउने गरेको बताउनुभयो ।

संसद जनताप्रति उत्तरदायी हुन नसकेको सांसद परियारकाे आरोप

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद जबरजस्त चलाउनु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताउनुभएको छ ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले भिजिट भिसाको विषय छानविन हुनुपर्छ भनेर आन्दोलन गर्दा जबरजस्ती संसद सुचारु गर्नु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताउनुभएकाे हाे।

उहाँले यसले कतै न कतै राजनीतिक दलहरुलाई भविष्यमा प्रश्न तेर्साउने जिकिर गर्नुभयो । सदन चलाउने वातावरण बनाउने काम सरकारको भएको बताउनुभयो ।

पार्टीले गरेकाे संसद अवराेध आन्दोलनको एउटा स्वरुप भएकाे भन्दै सांसद परियारले भन्नुभयाे, ‘संसदको चौथो ठूलो राजनीतिक दलले अवरोध गरिरहँदा संसद यसरी सुचारु हुनु र संसद जबरजस्त चलाउनु भनेको हाम्रो संसदीय व्यवस्थामै एउटा धब्बा हो । यो नहुनुपर्ने अभ्यास भइरहेको छ ।’

सदन चलाउने वातावरण बनाउने कुरा सरकारको भएकाे भन्दै प्रमुख सचेतक परियारले सदन जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाउनुभयो ।

नेप्से परिसूचकमा सामान्य सुधार, १३ अर्ब १८ करोड ६९ लाखकाे काराेबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार छ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो ।

आज तीन सय १८ कम्पनीका तीन करोड ३६ लाख ३७ हजार नौ सय ६६ कित्ता शेयर एक लाख पाँच हजार ६ सय ३५ पटक खरिदबिक्री हुँदा रू १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह एक दशमलव २२, जलविद्युत् एक, लगानी शून्य दशमलव १३ उत्पादन तथा प्रशोधन शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक चार दशमलव ६९ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, विकास बैंक शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव १२, लघुवित्त शून्य दशमलव ५९, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव २५ र व्यापार समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा पिओर इनर्जी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गुमाउनेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ५८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाईड्रोपावर लिमिटेडको रू ९५ करोड १६ लाख २२ हजार छ सय ८७ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै खरिदबिक्री भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन ८०–२० को २७ लाख एक हजार आठ सय कित्ता शेयर किनबेच भएको छ ।

हामी राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको भूमिका पूरा गर्छाैँ : महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याउनुभएको छ । धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको आज (साेमबार) शिलान्यस गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने नेतृत्वको जरुरी भएको बताउनुभयो ।

उहाँले प्रत्येक चुनावले नयाँ सरकार बनाउने तर प्रधानमन्त्री चाहिँ पुरानै व्यक्ति हुने परिपाटीले नागरिकमा गुनासो र असन्तुष्टि बढिरहेको बताउनुभयो । “यो दल, ऊ दल, यो गुट र ऊ गुटको होइन सिङ्गो राष्ट्रको अभिभावकको जरुरी छ,” उहाँले भन्नुभयो, “अब त्यसको हल हामी गर्छौं ।”

महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८३ सालपछि अभिभावकीय भूमिका निर्वाह गर्नेगरी अवधारणा बनाउन आवश्यक रहेको बताउनुभयो ।

पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको ९० वर्षकाे उमेरमा निधन

काठमाडाैं । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधन भएको छ । काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।

अर्घाखाँचीको साबिक किमडाँडा पञ्चायत–८ हाल भूमिकास्थान नगरपालिका–८ निमडाँडामा बुबा खेमराज पौडेल र माता सावित्रा पौडेलका जेठो सन्तानका रूपमा विसं १९९३ सालमा जन्म भएको थियो । समाजवादी चिन्तक शास्त्रीका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन् । एक श्रीमतीको भने निधन भइसकेको छ ।

शास्त्री विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दा नेपाली कांग्रेसको राजनीतिमा जोडिनुभएको थियो । उहाँले पढाइ पूरा भएपछि पार्टीका तर्फबाट भूमिगत राजनीति गर्नुभयो । विसं २०१४ मा नेपाली कांग्रेसले सुरु गरिको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै उहाँले पाल्पाको तानसेनमा भाग लिनुभएको थियो । विसं २०१५ को आम निर्वाचनमा सक्रिय रूपमा लाग्नुभएका उहाँ विसं २०१७ पुस १ गते राजा महेन्द्रले संसद् भङ्ग गरी नेताहरुलाई जेल हालेको समयमा गुल्मी र अर्घाखाँचीका युवालाई क्रान्तिमा संलग्न गराउने कार्यमा  महत्पूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०१७ सालपछि उहाँ भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । शास्त्रीले तत्कालीन समयमा भारतको गोरखपुरमा गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराउनुभएको थियो । उहाँ गोरखपुरमा छँदा प्रजातन्त्रको लडाइँका लागि पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाउनुहुन्थ्यो ।

बिपी कोइरालाका कट्टर अनुयायी शास्त्री समाजवादका व्याख्याता हुनुहुन्थ्यो । भूमिगत रूपमा अर्घाखाँची र गुल्मीलगायतका जिल्लामा नेपाली कांग्रेसको सङ्गठन बिस्तारमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएका उहाँले विसं २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।

विसं २०४६ सालको जनआन्दोलनपछि भएको २०४८ सालको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट सांसदमा भारी मतले विजयी हुनाका साथै उद्योगमन्त्री बन्नुभएको थियो । विसं २०५१ को मध्यावधि निर्वाचनमा पनि विजयी हुनुभएको थियो ।

त्यसपछिका निर्वाचनमा पार्टीले समानुपातिक सांसद बन्न गरेको आग्रह उहाँले अस्वीकार गर्नुभएको थियो ।

शिक्षा विधेयक असार १५ गतेभित्रै पारित गर्न सांसद बस्नेतकाे आग्रह

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारले घोषणा गरेबमोजिम छिट्टै भिजिट भिसासँग सम्बन्धित समस्या समाधानका लागि छानबिन समिति बनाउनुपर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद बस्नेतले ३० दिन भनिए पनि अब केही दिनभित्रै छानबिनको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गर्नुभएको हो ।

सांसद बस्नेतले भिजिट भिसाको विषय आम जनताको सरोकारको विषय बन्दै गएकाले सरकारले गरेको प्रतिवद्धता अनुसार तत्काल काम शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले लाखौँ शिक्षकसँग प्रतिवद्धता गरे अनुसार असार १५ गतेभित्र शिक्षा विधेयक पारित गरी सक्नुपर्ने आवश्यकता औल्याउँदै कुनैपनि बहानामा जिम्मेबारीबाट नपन्छिन आग्रह गर्नुभयो ।

त्यसैगरी, नागरिकता विधेयक, निजामती सेवासम्बन्धी विधेयकसँग बजेटका कयौँ महत्वपूर्ण विषयहरुमा पनि छलफल गर्नुपर्ने भएकाले प्रमुख प्रतिपक्षी दल लगायतसँग गरिएको प्रतिवद्धता केही दिनभित्रै सम्बोधन गर्दै जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतले सरकारसँग आग्रह गर्नुभयो ।

सांसद बस्नेतले वर्तमान समयमा देखिएका समस्याहरुको न्यायिक निरुपण, छलफल र कानूनी ढंगले समाधान गर्ने विषयमा गम्भीर ढंगले अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

मन्त्रीहरूले एकलौटी रूपमा बजेट कब्जा गरेकाे सांसद ज्वालाकाे आरोप

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसङ्गठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको आरोप लगाउनुभएकाे हाे ।

दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहँदा त्यतातिर सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।

सांसद ज्वालाले कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरूले हालीमुहाली गरेको टिप्पणी गर्नुभयो । साथै उहाँले केन्द्र सरकारमा ३ करोडभन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको बताउँदै बजेट छरपस्ट रूपमा वितरण गरिएको बताउनुभयो ।

सांसद ज्वालाले बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन नसकेको आरोप लगाउनुभयो ।

बजेटले अनुशासनकाे सीमा नाघेकाे छैन : सांसद गिरी

काठमाडाैं । नेकपा (एमाले)का सांसद पदम गिरीले सरकारले अनुशासनको सीमाभित्र रहेर बजेट ल्याएको बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बजेट अनुशासनकाे दायराबाहिर नगएकाे बताउनुभएको हो ।

सांसद गिरीले राष्ट्रिय योजना आयोगले दिएको बजेटको सीमालाई सरकारले क्रम गर्ने काम नगरेको जिकिर गर्नुभयो । उहाँले अनुशासनले भोलिका दिनहरूमा योजनालाई कार्यान्वयन गर्ने, पुँजीगत खर्च बढाएर परिणाममुखी बनाउने र उत्पादनमुखी बनाउन सकिन्छ भन्ने कुरामा विश्वास दिलाएको जिकिर गर्नुभयो ।

विगतमा आयोजना छनोट गर्दा गरिने लोकरिझ्याइँको कामले १८ हजार आयोजनाहरूलाई समयमा कार्यान्वयन गर्न नसकिएको उहाँकाे भनाइ छ । सांसद गिरीले विगतबाट शिक्षा लिँदै नेपालको संविधान कार्य विस्तृतीकरण प्रतिवेदन र सरकारको आयोजना वर्गीकरण मापदण्ड अनुसार ३ करोडभन्दा साना आयोजनाहरू सङ्घीय सरकारले कार्यान्वयन नगर्ने सरकारको नीति अनुरूप बजेट प्रतिविम्वित भएर आएको दाबी गर्दै यो ठुलो उपलब्धि भएको बताउनुभयो ।

वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी ३० दिने प्रशिक्षण शुरु

काठमाडाैं । नेपाली कांग्रेसले वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रमका शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका सभापति कल्याण गुरुङले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्न बताउनुभयो । पृथ्वी जोगाउनु सबैको कर्तव्य भएको बताउनुभयो ।

सभापति गुरूङले विनाशलाई पर्खिनुभन्दा केही गरेर असर न्यूनीकरणका लागि पहल गर्न जरुरी रहेको र त्यही उद्देश्यबाट यो कार्यक्रम शुरु गरिएको बताउनुभयो । विपद् व्यवस्थापन सम्बन्धी नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिने तालिममा सहभागी गराइने बताउनुभयो ।

उहाँले तालिम प्राप्त जनशक्तिलाई देशमा कतै जाँदा पनि फरेस्ट, इन्भायरोमेण्ट र क्लाइमेट चेन्जको विषयमा सिकाउनसक्ने जानकारी दिइने बताउनुभयो ।

बजेटले दीर्घकालिन सुधारकाे प्रष्ट संकेत गरेकाे सांसद कार्कीकाे दाबी

काठमाडाैं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालिन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको दाबी गर्नुभएकाे छ । सोमबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’मा भाग लिँदै सांसद कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको दाबी गर्नुभएकाे हाे।

उहाँले उच्च, दीगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तारलाई बजेटले उद्देश्यमा राखेको बताउनुभयो ।

लक्ष्य र आकांक्षाहरु प्राप्त गर्न त्यति सहज नभएपनि नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठूला दलले निर्माण गरेको सरकारले ल्याएको बजेट यथार्थमा उभिएका हुनाले जनताका आकांक्षाहरु परिपूर्ति गर्नका निमित्त समयवद्ध र चरणवद्ध हिसावले अगाडि बढेको सांसद कार्कीको दाबी छ ।

उहाँले बजेटलाई परिणामुखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जवाफदेहीता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

 

सुनचाँदी व्यवसायीकाे आन्दोलन (फाेटाेफिचर)

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति आन्दोलनमा उत्रिएकाे छ । सुनमा लगाइएको विलासिता कर र हिरा-जवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेजीको माग गर्दै समिति आन्दोलनमा उत्रिएकाे हाे ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरा जवाहरत पत्थरमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको छ। व्यवसायीहरूले भने त्यस्तो कर व्यावहारिक नभएको भन्दै तत्काल खारेज गर्न माग गरिरहेका छन्। समितिले गत बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए । माग सुनुवाइ नभएपछि व्यवसायीहरू पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।

सरकारले अनावश्यकरुपमा लगाएको कर खारेजीको विकल्प नभएको समितिकाे भनाइ छ ।

 

गृहमन्त्रीले राजीनामा नगरेसम्म संसद अवराेध गर्छाैँ : सन्ताेष परियार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने कुरा दोहोर्याउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले जनतालाई शिकार गरेर राज्यका संरचना बनाइरहेको भन्दै आपत्ति जनाउँदै रास्वपा विगत लामो समयदेखि यो मुद्दामा गम्भीर छलफलमा रहेको बताउनुभएकाे हाे  ।

उहाँले राज्य कसको लागि र जनतालाई दुःख दिन बनाएका हौँ ? भन्दै प्रश्न गर्नुभयो । नेपालीलाई स्वदेशमा बस्न, खान र लगाउने व्यवस्था नगर्ने र जीविकोपार्जन गर्न विदेश जानेमाथि ठग्ने राज्यको संरचना जवाफदेही हुनुपर्ने बताउनुभयो । उहाँले गृह मन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयको विषयमा उठेको कुराको जवाफ माग्दा सदनमा आफूहरूमाथि बल प्रयोग गरेर सदन चलाइएको भन्दै आपत्ति व्यक्त गर्नुभयो ।

उहाँले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बन्नैपर्ने कुरा दोहोर्याउनु भयो ।

भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले लगातार संसद अवरोध गर्दै आएका छन् । सोमबारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् । यद्यपि, रास्वपाका विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद अगाडि बढाउनुभएको छ ।

बजेट निर्माणमा प्रदेश सरकारकाे मनपरी, संघीयताकाे मर्ममाथि गम्भीर असर पुग्ने खतरा !

काठमाडाैं । देश सरकारहरुले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा मनपरी देखिएको छ । असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार उनीहरुले बजेट ल्याएका छन् र कतिपय प्रदेशहरुले ल्याएको बजेटमा स्रोतको ख्यालै नगरी वितरणमुखी कार्यक्रममा बजेटदेखि केन्द्रको सिको गर्दै संग्रालयदेखि अनेकौं शीर्षकमा ठूलो बजेट राखेर अघि बढाउन खोजेका छन् ।

आफ्नो पनको बजेट ल्याउनभन्दा पनि संघ सरकारको नक्कल गर्दै प्रदेशहरूले पनि मुख्यमन्त्री र मन्त्रीका नाममा कार्यक्रम अगाडि सारेका छन् । कोशी प्रदेशले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रलाई कोशी अत्यावश्यक सेवा केन्द्रमा रुपान्तरण गरेको छ र उक्त केन्द्रहरु निर्माण कार्य सम्पन्न गर्ने घोषणा गरेको छ । बजेटमा केही विवादास्पद तथा वितरणमुखी कार्यक्रम पनि परेका छन् । ‘एक निर्वाचन क्षेत्र, एक विशिष्ट उद्यम,’ मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र, चिया सम्मेलन, चक्रीय कोष, ढाका कपडा खरिद तथा सरकारी कर्मचारीका लागि पर्यटकीय भ्रमण कार्यक्रम राखिएका छन् ।

मधेसले ‘हात–हातमा सवारी, घर–घरमा रोजगारी’ भन्ने नाराका साथ मुख्यमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ  । मुख्यमन्त्री आवास सुरक्षा योजना कार्यक्रम, मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम, महेन्द्रनारायण निधि विपन्न आवास योजना र विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिइँदै बजेट विनियोजन गरिएको छ ।

सत्तारूढ कांग्रेस र एमालेका मन्त्रीबीचको मतभेदका कारण बागमती प्रदेशमा आइतबार ढिलो गरी बजेट सार्वजनिक गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ल्याएको वागमती प्रदेशको बजेटमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ घोषणा गरिएको छ भने कांग्रेस नेता दिवंगत ‘भीमबहादुर तामाङ शैक्षिक गुणस्तर सुधार कार्यक्रम’ अघि सारेको छ । ‘वागमतीले एक निर्वाचन क्षेत्र, एक बहुउद्देश्यीय खेलमैदान’ कार्यक्रम पनि सुरु गरेको छ । त्यस्तै, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३५ करोड बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेशले बजेट वक्तव्यमा विवादास्पद कार्यक्रम खासै राखेको छैन ।  यद्यपि प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई २ करोड रुपैयाँका योजना सिफारिस गर्न दिनेगरी योजना बनाइएको थियो ।

लुम्बिनी सरकारले पनि विवादस्पद कार्यक्रम खासै बजेटमा राखेको छैन ।  हिजो सार्वजनिक बजेटमा ‘लुम्बिनीमा पाइला टेक’ भन्ने नाराका साथ लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध शिखर सम्मेलन गर्ने घोषणा गरिएको छ । सरकारले पर्यटन प्रवर्द्धनका लागि ‘तराईमा रमाउने, पहाडमा घमाउने र हिमाल चढाउने’ नीति अघि सार्दै बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेशमा खिचातानीले बजेट राति अबेर आयो । उक्त प्रदेशले ल्याएको बजेटमा कृषिको व्यावसायीकरण, उत्पादकत्व अभिवृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता विकास, जडीबुटीको उपयोग र आर्थिक समृद्धि केन्द्रित छ । विवादस्पद कार्यक्रम देखिएका छैनन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रत्यक्ष निर्वाचित प्रदेश सांसदका पाँच करोड र समानुपातिक सांसदका तीन करोड रुपैयाँबराबरको योजना समावेश गरेर आगामी आवको बजेट सार्वजनिक गरेका छन् । जबकी, यस्तै खाले संघीय सरकारले ल्याउन खोजेको सांसद विकास कोषलाई सर्वाेच्च अदालतले नै रोकिदिएको थियो । केन्द्रमा रोकिएको कार्यक्रम प्रदेशमा अघि बढाइँदा प्रदेश सरकारमाथि प्रश्न उठेको छ ।

मुख्यमन्त्री, मन्त्री र नेताहरूका नाममा कार्यक्रम घोषणा गर्नेमा पनि सुदूरपश्चिम अग्रस्थानमा छ । सुदूरपश्चिमले ‘मुख्यमन्त्री जनता आवास कार्यक्रम’, ‘मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम’, ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षा कार्यक्रम,’ ‘हेलो सिएम’ र ‘सिएम एक्सन रुम’ जस्ता कार्यक्रम ल्याएको छ ।

त्यस्तै, ‘दशरथचन्द सिप विकास तथा क्षमता अभिवृद्धि तालिम,’ ‘बाकावीर पर्यटन प्रवर्द्धन कार्यक्रम, ‘जयपृथ्वीबहादुर सिंह शैक्षिक पूर्वाधार तथा विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम,’ ‘झुसे दमाईं सांस्कृतिक संग्रहालय,’ ‘हेलो मुख्यमन्त्री हटलाइन सेवा’, ‘जनतासँग मुख्यमन्त्री,’ ‘मुख्यमन्त्री नीति संवाद’ र ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ कार्यक्रम बजेटमा ल्याइएको छ ।

आफ्नो क्षमता छैन, सातै प्रदेश अनुदानमै निर्भर
प्रदेश सरकारले कार्यक्रमहरुले बजेट ल्याउँदै गर्दा उनीहरुको स्रोत त्यति बलियो भने देखिएको छैन । अधिकांश प्रदेश संघीय सरकारमै निर्भर देखिएका छन् । संघीय सरकारले वित्तीय हस्तान्तरण गरेको  स्रोतमै उनीहरुले कार्यक्रम तथा योजना बनाएका छन् । बजेटमा प्रदेशहरुको राजश्वको क्षमताको आधार कमजोर देखिएको छ भने चालू वर्षमा खर्च गर्न नसकेको मौज्दातलाई आगामी वर्षमा खर्च गर्ने लक्ष्य प्रदेश सरकारहरुको छ । कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाएका छन् ।

आन्तरिक राजश्व स्रोतको सीमितता र संघबाट प्राप्त हुने अनुदान कटौतीको कारण देखाउँदै गण्डकी र लुम्बिनीले बजेट घटाएका छन् । मधेस र गण्डकी प्रदेश सरकारले घाटाको बजेट प्रश्तुत गर्दै अपुग रकमका लागि आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् ।

स्रोतमा बलियो नभएपनि वितरणमुखी कार्यक्रममा बजेट ल्याउनेदेखि बजेटमा मनपरी गर्नुले संघीयताको मर्ममाथि नै असर गर्नसक्ने खतरा छ ।

राप्रपाद्वारा संसद बैठक बहिस्कार, बैठक भत्ता राजश्वमा फिर्ता गर्न आग्रह

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बहिष्कार गरेको बताउनुभएको हो ।

उहाँले संसदमा विरोध जारी राखिरहेको बेला जबरजस्ती संसद अगाडि बढाउनु संसदीय मर्यादाको दृष्टिकोणले उचित नहुने बताउनुभयो । उहाँले जबसम्म संसदलाई जबरजस्ती अगाडि बढाउने काम भइराख्छ तबसम्म उक्त कर्मकाण्डमा राप्रपा सहभागी नहुने जिकिर गर्नुभयो ।

अध्यक्ष लिङदेनले बैठक बहिष्कार गर्दै बैठक भत्ता राजश्वमा फिर्ता हुने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

उहाँले संसदमा एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको पनि उत्तिकै मर्यादा र हैसियत हुनुपर्ने बताउनुभयो । साथै, उहाँले जसले कुनैपनि विचारलाई निषेध गर्न नपाइने गरी निर्वाचन प्रणाली बनायो, उसैले यसको उल्लङ्घन गरिरहेको जिकिर गर्नुभयो ।

७३ प्रतिशत विवाहित जाेडीमा यौन दुर्बलता, मधेशका महिला र कर्णालीका पुरुषमा सबैभन्दा बढी

काठमाडाैं । नेपालमा ३० वर्षभन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको अध्ययनले देखाएको छ । सोमबार काठमाडौंमा सार्वजनिक गरिएको एक अध्ययनले ३० वर्षभन्दा माथिका विवाहित जोडीहरुमा यो समस्या बढी रहेको देखाएको हो ।

त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी रहेको छ । नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३.७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यौन दुर्बलताको समस्या रहेको छ भने ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरुमा यो समस्या दखिन्छ ।

कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा. खेम कार्कीले कूल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज (यौन इच्छा दबाउने) हुनेहरुको संख्या ९२ प्रतिशत रहेको बताउनुभयो । उहाँले कूल यौन दुर्बलता भएकाहरुमध्ये महिलालाई अराउजल (उत्तेजना नहुने) समस्या ९४ प्रतिशत रहेको बताउनुभयो । ८४ प्रतिशत पुरुषहरु यौन सम्बन्ध राखेपनि सन्तुष्टि हुन नसकेको अध्ययनले देखाएको उहाँकाे भनाइ छ।

उहाँले भन्नुभयो, ‘विश्वस्तरमा यौन दुर्बलताको स्थिति हेर्दा झन्डै झन्डै आधा जनसंख्या ४३ प्रतिशत पुरुष र ४९ प्रतिशत महिलामा यौन दुर्बलता भएको देखिन्छ । एशियन देशहरुमा अरु क्षेत्रको भन्दा अझ बढी छ । मलेसियामा ६९, सिंगापुरमा ७३ प्रतिशत, हङकङ्गमा ६४ प्रतिशतसम्म छ पुरुषहरुमा भने महिलामा सिंगापुरमा महिलामा ५६ प्रतिशत देखिएको छ । नेपालमा हामीले क्लिनिकल हस्पिटल स्टडिजहरु गर्दा ७३.७ प्रतिशतसम्मको यौन दुर्बलता रहेको पाएका छौँ । क्लिनिकल हस्पिटल स्टडिजहरु हेर्दा जनसंख्यावेशमा यसको स्थिति के छ भनेर पपुलेशन बेसमा यो स्टडी गरेका हौँ । विशेष गरी ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरुमा हामीले हरेका हौँ । यौन प्रवलता बढाउन हामीले के सुझाव दिने भन्ने पनि अध्ययन गरेका छौँ । यसमा ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यो समस्या रहेको छ । त्यस्तै ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरुमा यो समस्या दखिन्छ । समग्रमा ६८ प्रतिशत भन्न सकिन्छ । टोटल यौन दुर्बलता भएकामध्येमा सेक्सुअल डिजायर कम्परमाइज हुने भनेको ९२ प्रतिशत छ । महिलालाई अराउजलको समस्या ९४ प्रतिशत रहेको छ । ९४ प्रतिशत महिलामा यौनको उत्तेजना नै नहुने खालको समस्या छ । ८४ प्रतिशत पुरुषहरुले यौन सम्बन्ध राखेपनि सन्तुष्टि हुन सकेका छैनन् ।’

मधेशका महिला र कर्णालीका पुरुषमा सबैभन्दा बढी यौन दुर्बलता
उहाँका अनुसार प्रदेशगत रुपमा हेर्दा पुरुषहरुमा सबैभन्दा बढी यौन दुर्बलता कर्णाली प्रदेशका पुरुषमा रहेको पाइएको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ । कोशीमा ७८ प्रतिशत पुरुष र ५१ प्रतिशत महिलामा यौन दुर्बलता र ६० प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ ।

त्यस्तै, मधेश प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । बागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ ।

त्यस्तै, कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । यो अध्ययन ३० वर्षमाथिका विवाहित जोडीमा गरिएको अध्ययन हो ।

उहाँले भन्नुभयो, ‘यौन दुर्बलता सबैभन्दा बढी कर्णाली प्रदेशका पुरुषमा रहेको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेश प्रदेशमा रहेको छ । कोशीमा पुरुषमा ७८ र महिलामा ५१ एवं जोडीमा ६० प्रतिशत यौन दुर्बलता रहेको छ ।

त्यस्तै, मधेश प्रदेशमा ६४ पुरुष, ७३ प्रतिशत महिला र ७३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै वागमतीमा पुरुष ७४, महिला ६४ र ६७ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै गण्डकीमा ७६ पुरुष, ४७ महिला र ५५ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ ।

लुम्बिनीमा ७२ पुरुष, ४१ महिला र ५३ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै कर्णालीमा ८२ पुरुष, ७० महिला र ७२ प्रतिशत जोडीमा यौन दुर्बलता रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा ६७ पुरुष, ६३ महिला र ६३ प्रतिशत ३० वर्ष माथिको जोडीहरुमा यौन दुर्बलता रहेको छ ।’
अध्ययनअकाअनुसार हिमाली क्षेत्रका पुरुषहरुमा बढी यौन दुर्बलता रहेको छ । हिमाल र पहाड क्षेत्रका महिलाहरुमा करिव उस्तै उस्तै यौन दुर्बलता रहेको पाइएपनि तराईका महिलाहरुमा बढी यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ ।