समाचार | Page 254 of 5953 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

‘डब्लुडाँडा’ पर्यटकीय पूर्वाधार गुरूयाेजना तयार, पर्यटकीय हब बनाइने

काठमाडाैं । मकवानपुरमा रहेको लटारम्मेश्वर महादेव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । जिल्लाको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर धार्मिक पर्यटक एवं हाइकिङ रुचाउने पर्यटकको रोजाइमा पर्न थालेको हो ।

समुन्द्री सतहबाट एक हजार ८ सय ५६ मिटरको उचाइमा रहेको लटारम्मेश्वर महादेव मन्दिरबाट मनोरम हिम श्रृंखला पनि देख्न सकिन्छ । सामाजिक सञ्जालमार्फत् चर्चा बटुलिरहेको लटारम्मेश्वर क्षेत्र डब्लु डाँडा नामले समेत चिनिन्छ ।

पौराणिक मान्यता अनुसार सतीदेवीको जटा पतन भएको स्थानका रूपमा लटारम्मेश्वरलाई धार्मिक दृष्टिले अति पवित्र मानिन्छ । भीमफेदी गाउँपालिका र वागमती प्रदेश सरकारको सहयोगमा लटारम्मेश्वर क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्न गुरुयोजना बनाइएको बताइएको छ ।

बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा खानेपानी, विश्रामस्थल र पदमार्ग स्तरोन्नति लगायतका पूर्वाधार विस्तारको कार्य तिब्र गतिमा अघि बढिरहेको पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले बताउनुभयो । उहाँले पर्यटकको सहजताका लागि पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

स्थानीयवासीकाअनुसार पछिल्लो समय लटारम्मेश्वर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य वृद्धि भएको छ । मन्दिर दर्शन गर्न आउने पयर्टकका कारण व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव परेको स्थानीय विजय भोलोनले बताउनुभयो ।

प्राकृतिक सुन्दरताले भरिएको उक्त मन्दिरमा पुग्दा अलौकिक अनुभुति हुने गरेको पर्यटक सुनिता मानन्धरको अनुभव छ । भौगोलिक अवस्थिति र धार्मिक महत्वका कारण लटारम्मेश्वरलाई पर्यटकीय हबको रुपमा विकास गरिनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।

बुधबारका लागि विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०२ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २३ पैसा र बिक्रीदर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३६ पैसा र बिक्रीदर २१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ ६१ पैसा र विक्रीदर ३५९ रुपैयाँ १७ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

मध्यपूर्व तनाव : सरकारद्वारा नेपाली नागरिकको सुरक्षा र उद्धार याेजना तयार

काठमाडाैं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने कार्य योजना बनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह, परराष्ट्र, पर्यटन, कानुन तथा निजी क्षेत्रका सरोकारवालाको आपतकालिन बैठकले यस्तो योजना भएको हो ।

इरान र इजरायल बीचको युद्ध चर्कँदै गएपछि मध्यपूर्वमा रहेको नेपालीको सुरक्षाको लागि सरकारले योजना बनाएको हो । मन्त्रालयका सचिव पुष्करले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर सरकारले बहु आयामिक तयारी गरिरहेको बताउनुभयो । उहाँले सरकार, निजी क्षेत्र, एनआरएन तथा अन्तर्राष्ट्रिय साझेदारहरूको समन्वयमा सम्भावित सङ्कट व्यवस्थापनका लागि प्रो–एक्टिभ (पूर्वतयारसहित) कदम चालिएको जानकारी दिनुभयो ।

उहाँले आफ्ना आफ्नो तर्फबाट गर्नुपर्ने पहलकदमीको लागि परराष्ट्र, गृह र प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेको जिकिर गर्नुभयो । उहाँले नेपाल आउन चाहनेहरूको लागि सहजीकरण गर्नेदेखि छिमेकी मुलुक हुँदै आउनुपर्ने वातावरण सिर्जना भएको अवस्थामा भिसा सहजीकरणको लागि अनुरोध गरेको बताउनुभयो ।

पछिल्लो समय मध्यपूर्वमा बढ्दै गएको तनावका कारण सो क्षेत्रमा रहेका नेपालीहरू प्रभावित भएका छन् । सरकारी तथ्याङ्क अनुसार इजरायलमा ५ हजारदेखि ७ हजारसम्म नेपालीहरू रहेका छन् भने इरानमा पनि दर्जन बढी नेपाली रहेको अनुमान गरिएको छ ।

भारतको निर्यात ५.७५ प्रतिशतले वृद्धि

एजेन्सी । अप्रिल–मे महिनामा भारतको निर्यात ५.७५ प्रतिशतले बढेको छ । संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले दिएको जानकारीअनुसार अप्रिल–मे महिनामा भारतको व्यापारिक तथा सेवाहरू सहितको सञ्चयी निर्यात १४२.४३ अर्ब अमेरिकी डलर पुगेको हो ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ५.७५ प्रतिशतले बढी हो । अप्रिल–मे महिनामा देशको व्यापार घाटा एक वर्षअघि रेकर्ड गरिएको १५.१२ अर्ब डलरबाट बढेर १७.१४ अर्ब डलर पुगेको छ ।

अप्रिल–मे २०२५ मा व्यापारिक वस्तु निर्यातको कुल मूल्य ७७.१९ अर्ब डलर थियो । जुन अप्रिल–मे २०२४ मा ७४.८९ अर्ब डलर थियो ।

जापानको टोकियोमा अहिलेसम्मकै बढी गर्मी

एजेन्सी । गत सोमबारदेखि जापानका धेरै क्षेत्रहरूमा तापक्रम बढेको छ । जहाँ तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

देशभरका २२ स्थानहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढीको गर्मी तापक्रम रिपोर्ट गरिएको छ । जुन यस वर्षको उच्चतम हो ।

एहिमे प्रिफेक्चरको साइजो शहरमा तापक्रम ३६.५ डिग्री सेल्सियस पुगेको छ । जबकि अयाकावा, कागावा प्रिफेक्चर, साथै मिमा, टोकुशिमा प्रिफेक्चर र टोकुशिमा शहरमा ३६.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ ।

यसैबीच अन्य ४१५ स्थानहरूमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । मध्य टोकियोले यस वर्ष अहिलेसम्मकै सबैभन्दा तातो तापक्रम रहेको छ ।

त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय शृङ्खला : स्कटल्याण्डविरुद्ध नेपाल २ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई÷दुई विकेट लिए । साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो । उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । साथै ललितनारायण राजवंशीले एक विकेट लिए । करण केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरिसकेका छन् ।
खेलको प्लेयर अफ द म्याच सन्दीप लामिछाने भए ।

‘प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप’को तयारी पूरा

काठमाडाैं । आगामी शुक्रबारदेखि शुरु हुने प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ को तयारी पूरा भएको छ । आयोजक काठमाडौं महानगरपालिका वडा–२२ ले मंगलवार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।

काठमाडौं महानगरपालिका–२२ वडाको आयोजनामा आगामी असार ६ र ७ गते प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप हुँदैछ ।यस प्रतियोगिता कुल ६ तौलसमूहमा प्रतिस्पर्धा हुँदै छ। उक्त प्रतियोगिता राष्ट्रिय सभा गृहमा नै सञ्चालन हुनेछ ।

प्रतियोगिमा पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमूहमा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रत्येक तौल समूहको विजेताहरु मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुनेछन् । ओभरअल विजेता खेलाडीले मिस्टर महानगरको उपाधिसहित नगद पाँच लाख, ट्रफी र ब्यानेट पाउनेछ ।

प्रत्येक तौल समूहबाट प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः स्वर्ण, रजत तथा कांस्य पदकसहित नगद पुरस्कार पाउनेछन्। हरेक तौल समूहमा विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै चौथो र पाँचौं हुने खेलाडीले पनि क्रमशः १५ हजार र १० हजार रुपैयाँ र पदक पाउनेछन् ।

काठमाडौं महानगरपालिका वडा–२२ ले ‘व्यायाम गरौं, स्वस्थ रहौं’, ’स्वास्थ्यका लागि व्यायाम’, भन्ने नारासहित प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप गर्न लागेको हो । असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रिजजिङ र फाइनल खेल हुने आयोजकले जनाएको छ। पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिष्पर्धा हुने भएको छ । अर्को वर्षबाट महिला तर्फबाट पनि प्रतिष्पर्धा गराउने काठमाडौं महहानगरपालिका वडा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा यो प्रतियोगिता हुन लागेको हो ।

यस प्रतियोगिताको अवसरमा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

देशलाई स्वार्थ समूहकाे प्रयोगशाला नबनाइयोस्

नेपालको शिक्षा, स्वास्थ्य र राजनीतिक क्षेत्रलाई प्रयोगशालाकारुपमा उपयोग हुन नदिन नेपालीले सचेतना अपनाउनुपर्ने आवश्यकता बढेको छ । हाम्रो शिक्षा, स्वास्थ्य, राजनीतिक क्षेत्र विगत लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्र, गैरसरकारी संस्था र स्वार्थ समूहको इच्छाअनुसार प्रयोग भयो । जुन नेपाल र नेपालीको हितमा आजसम्म कुनै काम भएको पाइएन ।

 

स्वार्थ समूहको राजनीतिक अभिष्ठ पूरा गर्ने क्षेत्र नै नेपालको शिक्षा, स्वास्थ्य र राजनीतिक क्षेत्र बनेको छ । विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्म विदेशी सहयोगका नाममा विगत लामो समयदेखि प्रयोगशाला बनाइयो । अनेकथरी परियोजना र विकासका नाम दिएर विद्यालय शिक्षामा गरिएको स्वार्थ समूहको प्रयोग र उपयोगले हाम्रो विद्यालय शिक्षा कमजोर भएको हो ।

शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाउने उदेश्यले हाम्रो शिक्षा क्षेत्रको उन्नति र प्रगतिका लागि भन्दै, धेरै विदेशी सहयोग पनि आयो । तर त्यो आएको सहयोग हरेक परियाेजनाबाट ८० प्रतिशतभन्दा बढी रकम जहाँबाट आयो उतैका कर्मचारी, विज्ञ र परामर्श समूहले असुलेर विदेश नै लगे । अहिले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका सबै परियोजना बन्द भएका छन् ।

सरकार, शिक्षाविद र शिक्षा क्षेत्रमा काम गर्नेहरुले बल्ल हाम्रो विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षा विदेशी र अन्य स्वार्थ समूहको प्रयोगशाला बनेको थाहा पाउँदैछन् । सबैका लागि शिक्षा, विद्यालय क्षेत्र सुधार योजना, उच्च शिक्षा सम्बन्धी पहिलो दोस्रो परियोजनालगायतका कार्यक्रमको नाम आजभोलि कतै सुनिदैन ।

यी कार्यक्रम भइरहेका बेला हाम्रा शिक्षाविद् नेपालको शिक्षा विश्वस्तरको बन्छ भनेर वकालत गर्थे । तर अहिले नेपालको विद्यालय र विश्वविद्यालयको शिक्षा खण्डहर बनेको छ । पछिल्लो समय देशमा विद्यार्थी विनाका रित्ता भवनको विकास भएको छ । विभिन्न राजनीतिक दलका नेतालाई मिलाएर स्वार्थ समूहले अझै पनि आफ्नो अभिष्ठ पूरा गरिरहेका छन् ।

विदेशीको स्वार्थ अनुसारका हाम्रा कानुन बनेका छन् । नेपालीलाई आकर्षित गर्न सबैभन्दा पहिले छलफलमा मन्त्री र सांसदलाई राख्छन् । शिक्षाजस्तै हाम्रो स्वास्थ्य क्षेत्र पनि विदेशीको प्रयोशाला बनाइएको छ । विकसित देशले बालबालिकाका लागि उत्पादन गरेका खोप नेपालका बालबालिकामा प्रयोग गरिन्छ । प्रयोग गर्न सरकारले नै अनुमति दिन्छ ।

धेरैअघिदेखि गर्भवती महिला, बालबालिका, बृद्धबृद्धाहरुका लागि विकसित देशले बनाएका औषधि पनि नेपालमा परीक्षण गर्ने काम हुँदै आएको छ । हात्तीपाइले रोगका लागि बनाइएको औषधि पनि नेपालीलाई खुवाएर परीक्षण गरियो । जुन औषधि धेरै नेपालीले खान मानेन् ।

स्वार्थ समूहको लहैलहैमा राजनीतिक नेतृत्वदेखि देशको कर्मचारी संयन्त्रको प्रयोग हुनु हुँदैन । अरुको स्वार्थमा हाम्रो शिक्षा, स्वस्थ्य र राजनीतिक क्षेत्रमा अझै पनि प्रयोग भइरहेको छ । कोभिड-१९ पछि विकसित देशले उत्पादन गरेका विभिन्न औषधि खोपको वहाना बनाएर नेपालका किशोर किशोरीमा परीक्षण गरियो । कतिपय त अनिवार्य लगाउनैपर्ने भनेर उर्दीनै जारी गरियो ।

यस्ता कार्यप्रति नेपाल सरकार, राजनीतिक दल र शिक्षा तथा स्वास्थ्य क्षेत्रले इन्कार गर्न सक्नुपर्छ । नेपाल कसैको प्रयोगशाला बन्न दिनुहुन्न ।

सत्तारुढ दलहरु ध्वंसकाे मानसिकतामा अघि बढे : महासचिव गुरुङ

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा बेपत्ता पारिएका नागरिकको सार्वजनिकिकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो आरोप लगाउनुभएको हो ।

राज्यको नेतृत्वकर्ताहरु शान्ति र मेलमिलापको विरोधमा क्रियाशील रहेको उहाँको आरोप छ । उहाँले देशलाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर नेपाललाई सामरिक क्रिडास्थल बनाउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । दलीय स्पर्धाको नाममा सत्तामा रहेका दलहरु एकअर्कालाई सिध्याउने र ध्वंस गर्ने मानसिकताले अघि बढिरहेको उहाँकाे भनाइ छ ।

महासचिव गुरुङले सर्वसत्तावादी तथा एकाधिकारवादीले कतैपनि शान्ती स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने सोचका साथ अघि बढिरहेको टिप्पणी गर्दै सबै सचेत हुने बेला आएको समेत बताउनुभयो ।

बेपत्ता नागरिकप्रति राज्य संवेदनहीन भएको महासचिव चन्दको आरोप

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले बेपत्ता नागरिकसम्बन्धी मुद्दामा राज्य संवेदनहीन बनेको आरोप लगाउनुभएको छ ।  मंगलबार काठमाडौंमा आयोजित बेपत्ता पारिएका नागरिकको सार्वजनिकिकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव चन्दले शान्ति प्रक्रियाको १९ वर्षपछि पनि राज्यले जिम्मेवारी नलिएर बेपत्ता परिवारप्रति उपेक्षा आरोप लगाउनुभएकाे हाे ।

चन्दले बेपत्ता नागरिकका छानबिन आयोगहरू बारम्बार गठन र विघटन हुनु राजनीतिक षड्यन्त्र र जालसाजीको संकेत भएको टिप्पणी गर्नुभयो । उहाँले आयोग बनाउने र भत्काउने क्रम किन राकिँदैन, कस्तो व्यक्ति चाहिएको हो आयोगमा ? भन्दै प्रश्न समेत गर्नुभयो ।

राजनीतिक नेतृत्वमा रहेको कुनियत र स्वार्थका कारण बेपत्ता नागरिकका मुद्दा समाधान गर्न नसकिएको महासचिव चन्दको भनाइ छ ।

नेपालमा गुलामीको संस्कृति भित्रिरहेको उल्लेख गर्दै उहाँले राजनीतिक आन्दोलनको माध्यमबाट स्वाधिनतामा झार्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।

आफ्नाे मागबाट रास्वपा पछि हट्दैन : मनिष झा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखनको सङ्गठित अपराधमा संलग्नहरूको छानबिनको लागि आफूहरूले राखेको मागबाट पछि नहट्ने बताउनुभएको छ । मङ्गलबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले ल्याउन लागेका विधेयकहरूको महत्त्व आफूहरूले बुझ्ने बताउनुभयो । उहाँले विधेयकहरूमा राजनीतिक समर्थन गर्न तयार रहेको बताउँदै सरकारले पनि आफूहरूका मागलाई सुन्नुपर्ने बताउनुभयो ।

सांसद झाले उक्त प्रकरणमा जोडिएकाहरूको छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने अडान रहेको जिकिर गर्नुभयो । उहाँले यो आफूहरूको मात्रै नभएर १८ वर्षदेखि ठगिँदै आएका र अब ठगिनु नपरोस् भन्ने जनताको माग रहेको समेत बताउनुभयो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम समेत जोडिएपछि रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै लगातार संसद्मा अवरोध जनाउँदै आएको छ ।

शेयर बजार ३.९० अङ्कले घट्यो, कारोबार ७ अर्ब ६५ करोडमा सीमित

काठमाडाैं । आज(मंगलबार) जलविद्युत्, लघुवित्त र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । गार्जियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर साढे ४ प्रतिशतभन्दा धेरैले घटेको हाे ।

समग्रमा बजार घटेको दिन प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

हिजो (साेमबार) १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३ सय ६ वटा कम्पनीका १ करोड ६४ लाख कित्ता शेयर ७ अर्ब ६५ करोड रुपैयाँमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्ज नेप्सेले जनाएकाे छ ।

निजी क्षेत्रलाई ध्वस्त पार्ने गरी सरकार अघि बढ्याे : अध्यक्ष कार्की

काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालका उर्जा उत्पादक निजी क्षेत्रलाई सिध्याउने हिसाबले सरकार अघि बढेको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इप्पानले निजी क्षेत्रलाई पनि सिध्याउने र नेपालको उर्जा क्षेत्रलाई सधैँका लागि ध्वस्त पार्नेगरी सरकारले विद्युतका क्षेत्रमा बजेट ल्याएको आरोप लगाउनुभएको हो ।

उहाँले बजेटले खपतको कुरालाई नसमेटेको र बिक्री गर्ने कुरालाई पनि नछोएको बताउनुभयो । यसले सरकार बिजुली बढी भयो र अब पुग्यो भन्ने दिशातर्फ गइरहेको उल्लेख गर्नुभयो । भविष्यमा बिजुली बेच्दा नेपालले नै उत्पादन गरेर बेच्ने नभइ ठूला भारतीय कम्पनीहरु ल्याएर आफूलाई चाहिने उत्पादन गरेर लैजाने परिस्थिति देखिएको बताउनुभयो ।

सरकार सधैँ हिउँदको महिनामा भारतबाटै बिजुली किनेर ल्याएर नेपालको लोडसेडिङ अन्त्य गर्ने सोचका साथ अघि बढेको देखिएको बताउनुभयो । निजी क्षेत्रका उर्जा उत्पादकहरुलाई सरकारले एउटा कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका नै बन्द गरिदिएको उहाँको आरोप छ ।

अध्यक्ष कार्कीले सरकारले बारम्बार निजी क्षेत्रलाई विद्युत व्यापारमा पनि सँगै अघि बढाइनेछ भन्ने गरेपनि व्यवहारतः पुष्टि हुन नसकेको जिकिर गर्नुभयो ।

देशभित्र भविष्य खोज्ने अभियानमा लागाैँ : अर्थमन्त्री

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्ने बताउनुभएको छ । कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु नाम पुस्तकको राजधानीमा विमोचन गर्दै उहाँले सम्भावना हुँदाहुँदै पनि देशभित्र आफ्नो भविष्य खोज्नेहरु अहिले कमी रहेको बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलकाअनुसार प्रकृतिको वरदानका रुपमा चिनिने नेपालमा धेरै गर्न सकिन्छ । प्रचुर सम्भावनाहरुलाई उपयोग गरेर देशलाई समृद्ध बनाउनुपर्ने पौडेलले बताउनुभयो । विदेशमा सिकेको सीप पुँजी सबैले नेपालमा उपभोग गर्नसके देश छिट्टै विकसित हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो–‘भूगोलका हिसाबले देश सानो छ तर प्राकृतिक दृष्टिकोणले हामी सम्पन्न छौँ। सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, दृष्टिकोणले हामी सम्पन्न छौँ । त्यस अर्थमा हामीले हाम्रो देश भित्र भविष्य खोज्नुपर्छ । तथापी आजको दुनियाँमा कोही पनि आफ्नो देशभित्र रहेर अघि बढ्न सम्भव हुँदैन । विभिन्न सन्दर्भमा अध्ययनका शिलशिलामा श्रम, व्यवसायका शिलशिलामा मानिसहरु एउटाबाट अर्को मुलुकमा गइरहेका हुन्छन् ।’

कोरियामा सिकेको सीप र पुँजीलाई नेपालमै सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन युवाहरुलाई पौडेलले आह्वान गर्नुभयो । पुस्तकले अरुलाई पनि विदेशबाट नेपालमा आएर केही गर्न उत्प्रेरणा मिल्ने बताउनुभयो ।