तनहुँको सदरमुकाम दमौली बजार र आसपासका दृश्य । तस्बिर : कृष्ण न्यौपाने
देशमा संकट परेकाे बेला एकजुट बनेर निकास दिनु कर्तव्य : मन्त्री ठकुरी
काठमाडाैं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कर्णालीले विकास निर्माणदेखि राज्यको मूल प्रवाहमा महत्वपूर्ण स्थान ओगटेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कर्णाली पछि परेको भनिए पनि आफूलाई त्यस्तो नलागेको बताउनुभएकाे हाे ।
मन्त्री ठकुरीले हरेक कुरामा कर्णाली अगाडि बढिरहेको जिकिर गर्दै सबै राजनीतिक दल र जनप्रतिनिधिहरू कर्णालीको विकासका लागि एकमतका साथ अगाडि बढिरहेको दाबी गर्नुभयो । उहाँले विकास निर्माणका सवालमा सबै एकसाथमा रहेको बताउँदै आगामी दिनमा पनि सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक आस्था र विश्वास आ–आफ्नो ठाउँमा भएपनि देशलाई सङ्कट परेको बेलामा सबै एक ठाउँमा आएर देशलाई निकास दिनु र विकास गर्नु सबैको कर्तव्य रहेको जिकिर गर्नुभयो ।
हरेक क्षेत्रमा कर्णालीका प्रतिभाहरू अगाडी बढिरहेको बताउँदै मुलुकको राजनीतिकदेखि प्रशासनिक क्षेत्रमा पनि कर्णालीको उल्लेखनीय उपस्थिति रहेको बताउनुभयो ।
कर्मचारीलाई असिमित अवधिसम्म कामकाजमा खटाउने कार्य बन्द हुने
काठमाडाैं । कर्मचारीहरूलाई असिमित अवधिसम्म कामकाजकाजमा खटाउने कार्य बन्द गर्ने गत असार २ गतेको सचिवस्तरीय बैठकबाट निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले जानकारी दिएको छ । शक्तिको आडमा कानूनको दुरुपयोग गर्दै यस्ता क्रियाकलाप मौलाएपछि मुख्यसचिवले यसबारे निर्णय गराएका हुन् ।
अब कर्मचारीलाई कामकाज काजमा खटाउँदा निजामती सेवा ऐन, २०४९ को दफा १८ क, निजामती सेवा नियमावली, २०५० को नियम ४२ क, नेपाल स्वास्थ्य सेवा ऐन, २०५५ को दफा २१, २१ क, र २१ ख, तथा कर्मचारी समायोजन ऐन, २०७५ को दफा बमोजिम भए नभएको सुनिश्चित गरिनेछ । काजको अवधिका सम्बन्धमा सम्बन्धित ऐन तथा नियमावलीमा भएको व्यवस्था कडाईका साथ पालना गर्ने समेत निर्णय भएको छ । प्रचलित ऐन तथा नियमावली विपरित हुनेगरी विषयगत मन्त्रालयबाट भएको काज सरुवा सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बदर गर्ने निर्णय मुख्यसचिवले गराएका छन् ।
त्यस्तै, निजामती सेवा ऐन, २०४९ को दफा १५ (१) मा व्यवस्था भए बमोजिम राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीलाई विभागीय प्रमुखको पदमा पदस्थापन गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमति अनिवार्य रुपमा लिने व्यवस्था गर्ने निर्णय समेत भएको छ ।
गृहसचिवको प्रस्तावमा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित तथ्याङ्कमा पहुँचका लागि अनुसन्धान तथा नियमनकारी निकायले प्रयोजन खुलाइ गृह मन्त्रालयमा माग गर्ने र तदनुसार पहुँच उपलब्ध गराउन गृह मन्त्रालयले निर्णय समेत सचिवस्तरीय बैठकबाट भएको छ ।
विभिन्न निकायले प्रदान गर्ने सेवालाई नागरिक एपमा आवद्ध गरी थप सहज, प्रविधिमैत्री एवं प्रभावकारी बनाउने, अध्यागमन व्यवस्थापनलाई थप चुस्त दुरुस्त बनाउन अध्यागमन विभागको, वैदेशिक रोजगार विभागको राष्ट्रिय परिचयपत्र तथा पत्नीकरण विभागको सूचना व्यवस्थापन प्रणाली बीच डेटा शेयरिङको व्यवस्था तत्काल मिलाउन गृह मन्त्रालयले समन्वय गरी सो को प्रगति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन गर्ने, यस वर्षको मनसून शुरु भइसकेको सन्दर्भमा सबै मन्त्रालय सचिवालय निकायहरूले गर्नुपर्ने आआफ्नो जिम्मेवारी अन्तर्गतका पूर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक लजिष्टिक, पूर्व चेतावनी प्रणाली एवं सञ्चार प्रणालीलाई चुस्तदुरुस्त अवस्थामा राखेलगायत सम्पूर्ण सुरक्षा निकायहरूलाई आवश्यक पर्नासाथ परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्ने, राख्न लगाउने जस्ता निर्णय सचिवस्तरीय बैठकबाट भएको छ ।
आर्थिक ऐन, २०८२ को दफा ३१ मा भएको सार्वजनिक तथा निजी सवारी साधनको आयकर मिनाहा सम्बन्धी विशेष व्यवस्थाको प्रावधानको आधारमा सबै मन्त्रालय सचिवालय आयोग निकायले पुराना सवारी साधनको तिर्न बाँकी कर बुझाई सवारी साधनहरूको हस्तान्तरण लिलाम गरी कानून बमोजिम व्यवस्थापन गर्ने, सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा १५ को व्यवस्थालाई सम्पूर्ण मन्त्रालय आयोग निकायले अनिवार्य रूपमा कार्यान्वयमा ल्याउने निर्णय भएको छ ।
प्रचलित कानून वमोजिम निर्णय गर्न पाउने अधिकारीले कुनै विषयमा निर्णय गर्दा तोकिएको समयमै निर्णय गर्ने, गराउनेदेखि सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४, भ्रष्टाचार निवारण ऐन, २०५९ र नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा हालै भएको संशोधनको परिपालना हुने गरी नेपाल सरकार, मन्त्रिपरिषदबाट निर्णय हुनुपर्ने भनी तोकिएका विषयहरू यकिन गरेर मात्र नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष निर्णयको लागि प्रस्ताव पेश गर्ने निर्णय भएको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णयहरू
काठमाडाैं । असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
उहाँकाअनुसार सरकारले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिव १ अर्ब ८ करोड ८० लाख नेपाली रूपियाँ अनुदान सहायता स्वीकार गरेको छ । त्यस्तै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिव २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्ता छन् सरकारका निर्णयहरु :
-पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
-दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिव १ अर्ब ८ करोड ८० लाख नेपाली रूपियाँ अनुदान सहायता स्वीकार गर्ने ।
-विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिव २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
-मत्स्यपालन अनुदान सम्बन्धी विश्व व्यापार संगठन सम्झौता अनुमोदनको लागि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।
-वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौंडा इजलासका माननीय न्यायाधीश डा. श्री शान्ता सेढाई सापकोटालाई तोक्ने ।
-सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री पाराश्वर ढुङ्गानालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।
-सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।
-२०८२ असार १६ गतेदेखि २१ गतेसम्म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्पेनको औपचारिक भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
-नेपाल सरकारको नाममा दर्ता रहेको १० रोपनी जग्गा १५ शैय्याको अस्पताल निर्माण गर्न आँबुखैरेनी गाउँपालिका, तनहुँलाई प्रयोग गर्न दिन स्वीकृति दिने ।
-जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनलाई २ बिघा, १३ कठ्ठा १५ धुर सार्वजनिक प्रकृतिको जग्गा सय शैय्याको आयुर्वेद अस्पताल निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिने ।
-२०८२ असार १३ गतेदेखि १५ गतेसम्म टर्कीमा आयोजना हुने ग्लोवल ट्रान्सपोर्ट कनेक्टिीभिटी फोरम २०२५ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
-२०८२ असार ३ गतेदेखि ४ गतेसम्म दुबईमा आयोजना हुने खेलकुदमा एन्टी–डोपिङ (एओआरआइएम) सम्बन्धी २० औँ एशिया÷ओशिनिया क्षेत्र अन्तर–सरकारी मन्त्रीस्तरीय बैठक बिषयक कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीलाई स्वीकृति प्रदान गर्ने ।
-२०८२ असार ९ र १० गते भारतको पुणेमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय परामर्श समूहको सोह्रौं बैठकमा नेपालका तर्फबाट सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
-मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए) लाई ४०० के. भी. डवलसर्किट विद्युत प्रशारणलाईन आयोजना निर्माणको लागि नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकामा रहेको राष्ट्रिय वनको ४३.६६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
-२०८२ असार २३ गतेदेखि २७ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुने वल्र्ड समिट अन द इन्फरमेसन सोसाइटी फोरम हाइ लेभल इभेन्ट तथा एआई फर गुड ग्लोवल समिट २०२५ कार्यक्रममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय पृथ्बी सुब्बा गुरुङलाई स्वीकृति प्रदान गर्ने ।
-२०८२ असार ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थर्ड मिनिस्ट्रियल कन्फ्रेन्स अन सिभिल रजिस्ट्रेशन एण्ड भिटल स्टाटिजक्सि इन एशिया एण्ड द प्यासिफिक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
-इन्टरनेशनल बिग क्याट एलाइन्सको सदस्यता प्राप्त गर्न स्वीकृति प्राप्त गर्ने ।
-नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा. खगेन्द्रप्रसाद सुवेदीलाई बढुवा गर्ने ।
-प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्री निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम मुकरर गर्ने ।
सरकारद्वारा ५१ अर्ब ६० करोड सहुलियतपूर्ण ऋण स्वीकार, विभिन्न परियाेजनामा खर्च गरिने
काठमाडाैं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।
असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
उहाँकाअनुसार सरकारले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रूपियाँ अनुदान सहायता स्वीकार गरेको छ ।
त्यस्तै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजनाका लागि उपलब्ध हुने करिव २९ अर्ब ७२ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
बैंकिङ प्रणालीमा तरलता बढ्याे, एकैदिन ९० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडाैं । राष्ट्र बैंकले आज (बुधबार) ९० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले ९० अर्ब निक्षेप खिच्न लागेको हो । ३७ दिनका लागि राष्ट्र बैंकले निक्षेप खिच्दैछ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कूल निक्षेप ७० खर्बमाथि पुगेको छ ।
निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन ७ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ। राष्ट्र बैंकले बोलकबलमार्फत पुँजी धेरै हुँदा र कम हुँदा मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
सुनचाँदी कारोबार नियमन गर्ने सरकारी निकाय नहुनु दु:खद् : अध्यक्ष महर्जन
काठमाडाैं । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सुनचाँदी कारोबारलाई नियमन गर्ने कुनैपनि सरकारी निकाय नभएको बताउनुभएको छ । बुधबार सुन तथा सुनका गरगहनामा लगाइएको कर तथा दस्तुर र यसले उपभोक्तालाई पार्ने प्रभाव विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष महर्जनले यस्तो बताउनुभएको हो ।
अध्यक्ष महर्जनले करिव नौ अर्ब रुपैयाँ वार्षिक राजश्व बुझाउने व्यवसाय नियम कानूनको दायराबाट बाहिर रहनु दुःखको कुरा भएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष महर्जनले सुनचाँचीको कारोबार सनातनदेखि चलिरहेको र अहिलेपनि सनातनी परम्परा र रैथाने व्यवसायको रुपमा चलिरहेको दाबी गर्नुभयो । वर्तमान अवस्थामा यो व्यवसायमा केही वेथितिहरु निस्कन थालेसँगै व्यवसाय नै धरासायी हुन थालेको उहाँको भनाइ थियो ।
उहाँले सुनचाँदी व्यवसायमा सरकारले धेरै चासो राखेपनि यसलाई नियमन गर्ने विषयमा कानून नबन्नुको कारण भने सरकारलाई नै जानकारी भएको स्पष्ट पार्नुभयो ।
एमाले कार्यकर्तामा उत्साहको कमी भएकाेप्रति अर्थमन्त्री पौडेलकाे चिन्ता
काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरु समाधानयोग्य रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहनुभएका उपाध्यक्ष पौडेलले पार्टीभित्रका समस्या समाधान गर्न सकिने बताउनुभएको हो ।
पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य पार्टी नेतृत्वसँग रहेको उहाँको दाबी छ । उहाँले पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनैपनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्नसक्ने क्षमता आफूहरूसँग रहेको दोहोर्याउनुभयो ।
अर्थमन्त्री पाैडेलले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको पनि बताउनुभयो ।
उहाँले पार्टी नेतृत्वको सवालमा ठूला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै पार्टीका आन्तरिक समस्याको समुचित मूल्याङ्कन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।
इजरायल–इरान युद्धको विरोधमा शान्ति समाजकाे प्रदर्शन (तस्बिरहरू)
काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले इजरायली दूतावास अगाडी प्रदर्शन गरेको छ । इजरायल र इरानबिच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै बुधबार समाजले विरोध प्रदर्शन गरेको हो । उनीहरूले इजरायली दूतावास अगाडी शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका हुन् ।
मानवअधिकार तथा शान्ति समाजले शुरु गरेको युद्धका विरुद्धको अभियान स्वरूप प्रदर्शन गरिएको हो । समाजका सभापति रेनुका पौडेलले इजरायली दुतावास अगाडी आधा घण्टा र इरानी वाणिज्य दुतावास पनि आधा घण्टा प्रदर्शन गरेको बताउनुभयो । उहाँले संसारको जुनसुकै कुनामा भएको युद्धबारे आफूहरू चुप नबस्ने बताउनुभयो । उहाँले इजरायल र इरानबीचको युद्ध तत्काल रोकिनुपर्ने आग्रहसहित प्रदर्शन गरिएको बताउनुभयो ।
समाजका संस्थापक सभापति कृष्ण पहाडीले इरानले मानवअधिकारलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले इरानले लोकतन्त्रलाई बहाली नगर्दा एक्लो हुनुपरेको बताउनुभयो । उहाँले इजरायलले पहिले यो युद्ध शुरु गरेको कारणले इजरायलले शान्तिको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युद्ध रोक्न संयुक्त राष्ट्रसंघसहितका शक्तिशाली राष्ट्रहरू निरीह देखिएको आरोप लगाउनुभयो । उहाँले कसैको पक्ष नलिई युद्धको विपक्ष र शान्तिको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभयो ।
पछिल्लो केही दिनयता मध्यपूर्वमा इजरायल र इरानबीचको युद्ध झनै चर्किएको छ । मानव अधिकारकर्मीहरूले युद्ध रोक, शान्ति कायम गर, युद्ध मानवताको अपमान हो लगायतका प्लेकार्ड समेत बोकेका थिए ।





पूृर्वमन्त्री शास्त्रीकाे निधनमा कांग्रेसले तीनदिन शाेक मनाउने
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको छ ।
कांग्रेसको आज (बुधबार) बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको हो । बैठकमा नेता शास्त्रीको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको उहाँले बताउनुभयो ।
विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएका स्व शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताउनुभएको थियो ।
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै
काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा उहाँहरूबीच छलफल हुने जनाइएको छ ।
व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयन गर्नु आवश्यक : अध्यक्ष दाहाल
काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको बताउनुभएको छ ।
बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वदेशको मौलिक प्रविधि र विश्व बजारबाट प्राप्त हुने विज्ञान र प्रविधिको अवसरलाई राष्ट्रको आवश्यकताका आधारमा ग्रहण, उपयोग र प्रवद्र्धन गर्नका लागि व्यवस्थित राष्ट्रिय नीति तय गरी कार्यान्वयनमा जानु जरुरी भइसकेको बताउनुभएको हो ।
अध्यक्ष दाहालले विज्ञान तथा प्रविधिमा आधारित उद्यमशिलता विकासका लागि राज्यले लगानी, नीति, संरचना र अवसरको समायोजन गर्नुपर्ने बताउनुभयो । नेपाली युवामा रहेको नविन सोच, ज्ञान, सीप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्न जरुरी रहेको भन्दै युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले युवाहरुको क्षमता नेपालमै प्रस्फुटन गराउने वातावरण निर्माण गराउनु राज्यको दायित्व भएको बताउनुभयो । समयसापेक्षा रुपमा जनताको आवश्यकता र समस्या समाधान गर्नसक्ने किसिमको विज्ञान, प्रविधिको विकास र प्रयोग हुन जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले सूचना र प्रविधिका नविन प्रविधि अवलम्वन गर्न कानूनी आधार तयार गर्दै कृत्रिम बौद्धिकताको विकास, प्रवर्द्धन र नियमनको व्यवस्था गर्न आग्रह गर्नुभयो । सूचना, प्रविधि क्षेत्रमा नीतिगत स्थायित्वसहित उच्च गतिको भरपर्दो र किफायती इन्टरनेट सेवा, डाटा सुरक्षा र
बौद्धिक सम्पत्ति संरक्षण प्रदान गर्दै डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरी सोको कार्यान्वयन र अनुगमनमा समेत जोड दिनुपर्ने बताउनुभयो । नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै वैज्ञानिक आविष्कारहरुलाई उद्यमशिलतामा परिणत गर्न जुट्नुपर्ने बताउनुभयो ।
अनुसन्धान र आविष्कारको क्षेत्रमा प्रगति गर्न शिक्षा क्षेत्रमा नीतिगत स्पष्टता, उद्योग र अनुसन्धान संस्थानहरुबीच समेत समन्वय र सहकार्यलाई बढाउन आवश्यक रहेको बताउनुभयो ।
क्युपेक नेपालद्वारा नि:शुल्क आँखा शिविरको आयोजना
काठमाडौं । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) काठमाडौं महानगर कमिटीको विषेश पहलमा आँखा शिविरको आयोजना गरिएको छ । शनिबार(जेठ ३१ गते) माछापोखरीस्थित आरती पार्टी प्यालेशमा सदिश फिल्म प्रोडक्सन, भिजन हिमालय फाउण्डेसन तथा तिलगंगा आँखा प्रतिष्ठानको शाखा कार्यालय श्वयम्भू आँखा केन्द्र डल्लूको सहकार्यमा आँखा शिविरको आयोजना गरिएको हो।
शिविरमा दुई सय तीन जनाले सेवा लिएका थिए । आँखा जाँच गरिएका मध्ये पाँच जनामा मोतियाबिन्दु पहिचान भएको क्युपेक नेपालले जानकारी दिएको छ ।
क्युपेकका अनुसार मोतियाबिन्दु पहिचान भएका पाँच जनाको सल्यक्रिया असार २२ गते तिलगंगा आँखा प्रतिष्ठानको शाखा कार्यालय स्वयम्भूमा निःशुल्क रुपमा हुनेछ ।
क्युपेक–नेपालले रक्तदान, दन्त शिविर, आँखा शिविरलगायत कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।

राष्ट्रिय नीतिलाई निर्मम ढङ्गले समीक्षा गराैँ : प्राडा विच्छा
काठमाडाैं । राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी.विच्छाले राष्ट्रिय नीतिलाई निर्मम ढंगले समीक्षा गर्ने बेला भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्राडा विच्छाले नीतिको सर्जरी गर्दा कुनै अङ्ग काट्न आवश्यक भएपनि काटेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले नेपालमा माइग्रेसन (आप्रवासन समस्या) र वैवाहिक सम्बन्धमा दरार आउने समस्या विकराल बनिरहेको बताउनुभयो । आप्रवासन समस्याका कारण आइरहेको वैवाहिक सम्बधको समस्याबारे गम्भीर भएर सरकारले सोच्नुपर्ने उल्लेख गर्नुभयो ।
प्राडा विच्छाले सबै नीतिहरुमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको अबको पुस्ता धरै अध्यन गरेको र सीपयुक्त हुने भएकाले उनीहरुमा सरकारको अबको लगानी हुनुपर्ने बताउनुभयो ।
हिमाल र पहाडी क्षेत्रका नागरिकलाई केन्द्रमा राखेर सडक लगायतका भौतिक पूर्वाधारहरु निर्माण गरिरहेको भएपनि उपयोग गर्ने जनशक्ति नहुँदा लगानी खेर गइरहेको प्राडा विच्छाकाे भनाइ छ । उहाँले जनसांख्यिक अवस्थालाई बुझेर योजना नबनाउने हो भने लगानीको कुनै अर्थ नरहेको जिकिर युवा जनशक्ति केन्द्रित लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
लोपोन्मुख जातिकाे इतिहास समेटिएकाे ‘सुरेलका रङ्गहरू’ पुस्तक सार्वजनिक
दोलखा । लोपोन्मुख सुरेल जातिको इतिहास, संस्कृति र जीवनशैली समेटिएको ‘सुरेलका रङ्गहरू’ नामक तस्बिर सङ्ग्रह पुस्तक सार्वजनिक गरिएको छ । गौरीशङ्कर गाउँपालिका–५ सुरीमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले उक्त पुस्तक विमोचन गर्नुभएको हो ।
गौरीशङ्कर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीका अनुसार गौरीशङ्कर–५ सुरीमा मात्र बसोबास गर्दै आएको लोपोन्मुख सुरेल जातिको भाषा, धर्म, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि गाउँपालिकाको सहयोगमा पुस्तक प्रकाशन गरिएको हो । उहाँले स्थानीय तहको सक्रियता र जिम्मेबारीले मात्र यस्तो मौलिक जातीय सम्पदाको संरक्षण सम्भव हुने बताउनुभयो ।
पुस्तकका सम्पादक तथा फोटो पत्रकार जीवन लामाका अनुसार ‘सुरेलका रङ्गहरू’ मा सन् २००८ देखि हालसम्मका सुरेल समुदायका तस्बिर समेटिएका छन् । पुस्तकमा सुरेलका भूकम्पपूर्वका परम्परागत घरहरू, मठ–मन्दिर, रहनसहन, वेषभूषा, चाडपर्व र सांस्कृतिक गतिविधि समेटिएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार सुरेल जातिको जनसङ्ख्या ३१८ रहेको छ । तीमध्ये सुरीमा ५०, खारेमा ३ तथा सुम्नामा ७ सुरेल परिवारको बसोबास रहेको छ । उनीहरूको जीविकोपार्जन चोयाबाट बनेका सामग्री र परम्परागत कृषि प्रणालीमा आधारित छ ।
पुस्तक विमोचन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, प्रवक्ता युगबहादुर बस्नेत, उपाध्यक्ष उमा शेर्पा मगर, प्रशासकीय अधिकृत रिजेश उपरकोटी, सुरेल जाति उत्थान समाजका अध्यक्ष प्रल्हाद सुरेल, विभिन्न वडाका अध्यक्षगायतको उपस्थिति रहेको थियो ।
उकालाे लाग्दै सुनकाे मूल्य, प्रतिताेला नाै सयले वृद्धि
काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबार बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा नौ सय र चाँदी ६५ रूपियाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार पाँच कायम भएको छ भने एक तोला चाँदी दुई हजार २२५ मा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।




