बाग्लुङ, ११ जेठ । आजदेखि बाग्लुङको चार स्थानीय तह सिल गरिएको छ ।
कोरोना सङ्क्रमणको जोखिम हुन नदिन बाग्लुङ जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो ।
एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ । निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ । खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ ।
बन्दाबन्दीलाई थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ । पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन् ।
शुक्रबार र शनिबार गरी बडिगाड गाउँपालिकाका ६० जना भारतबाट आएका छन् । उद्धार गरी ल्याइएका सबैलाई क्वारेन्टिनमा राखिएको छ ।